दिनभरि अक्षर र शब्द नै गन्छन्
त्यसमै ठसठसी कन्छन्
न सुत्छन् न खान्छन्
न सजिलै भनेको मान्छन्
आफूलाई खैं के ठान्छन् ?
मेरा श्रीमान् साहित्यकार हुँ भन्छन् !

गाँस टिप्न नपाई घरबाट हिँड्छन्
कहाँ जान्छन् ?
के खान्छन् ?
के गर्छन् ?
कुनै अत्तोपत्तो हुँदैन
हावापानीमात्रै खान्छन् कि अर्थोक पनि खान्छन् ?
मेरा बुढा आफूलाई साहित्यकार ठान्छन्

कहिल्यै सुको उमार्दैनन्
चुलो बाल्नुपर्छ भन्ने त थाहा होला
अन्न तरकारी चाहिन्छ भन्ने पनि थाहा होला
छोराछोरीको मुख छ, टाल्नुपर्छ भन्ने पनि थाहा होला
तर के गर्नु भनेको फिटिक्क टेर्दैनन्
टेढा आँखाले पनि हेर्दैनन्
आफ्नो सुर छोड्दैनन्
एक्लैएक्लै गनगनाइरहन्छन्
केके न भएझैँ भनभनाइरहन्छन्
ठुलै मन्त्र पढेझैँ मुखमुद्रा बनाइरहन्छन् गाह्रो छ हो मलाई गाह्रो छ
कविकी श्रीमती हुन कम्ती गाह्रो छ !

कविजीका कविता पनि सुन्दिनु पर्ने
नबुझे पनि वाह ! वाह !! भन्दिनु पर्ने
बुझेजस्तै गर्दिनु पर्ने
भावअनुरुप भावुक बनिदिनुपर्ने
चित्तै नबुझेको ठाउँमा पनि ठिक छ, क्याबात !
वा ! वा !! भन्दिनु पर्ने
गाह्रो छ हो, मलाई गाह्रो छ

घरमा चुलो बलोस् कि नबलोस्
व्यवहार राम्ररी चलोस् कि नचलोस्
छोराले पढाइलेखाइ छलोस् कि नछलोस्

एक कप चियामा खै कतिबेर टिक्छन् ?
न अर्थोकमा, न पैसामा बिक्छन्
साहित्यसेवा नै मूल कर्म, धर्म ठान्छन्
समग्रमा साहित्यकार बुढा ठिक छन् !
एउटै शब्दमा घण्टौँसम्म ठसठसी कन्छन्
आफूलाई साहित्यकार हुँ भन्छन्
कविजीको मनको घोडा चलिरहन्छ
अभावमा पनि दिव्य मुहार बलिरहन्छ !
मलाई गाह्रो छ
कविकी श्रीमती हुन कम्ती गाह्रो छ !

सिन्धुली
हाल: हेटौंडा