भित्र भित्र रुन्छ
भित्र भित्रै हाँस्छ
केही बोल्दैन
प्यारो मान्छे
आफ्नो मान्छे
भालुको कन्पटजस्तो
घाँडो मान्छे

जे परे पनि सकेसम्म आफैं टार्छ
मनमै अन्डा पार्छ मनमै कोरल्छ
दुःख पर्दा
एक्लै रुन्छ
कराउँछ
भुट्भुटिन्छ
आँत्तिन्छ
मात्तिन्छ
तर
भन्दैन
भन्दै भन्दैन
सकेसम्म भन्दैन
अरुलाई त मान्छे नै गन्दैन
घमन्डको पोको
घाँडो मान्छे

गोपाल काफ्

सोध्न खोज्यो
तर्किन्छ
झर्किन्छ
घरी यता घरी उता फर्किन्छ

जबर्जस्ती
सोध्न खोज्यो
अनुहार बिगार्छ
भित्र भित्रै रुन्छ
बाहिर जे भने पनि सुनिरहन्छ
मनमा के के गुनिरहन्छ
भालुको अगाडि पुरान झैं
घाँडो मान्छे

सकेसम्म छाडिन खोज्छ
विषयबाट टाढिन खोज्छ
अरुसँग भाँडिन खोज्छ

जब साह्रै गाह्रो पर्छ
आफूबाट आफैलाई साह्रो पर्छ
अनि डाँको छोडेर रुन्छ
अनि बल्ल पार लाइदे भन्छ
खुट्टा समात्छ
अप्ठ्‌यारो मान्छे
झन्झट मान्छे
झ्याउ मान्छे
अन्तरमुखी मान्छे
तपाईंको मान्छे
मेरो मान्छे
पहराको फर्सीजस्तो
घाँडो मान्छे

मरिन्छ
मर्नुपर्छ भन्ने
उसलाई थाहा छैन
अरुलाई सहयोग गर्नुपर्छ
भन्ने थाहा छैन
जन्ती मलामी चाहिन्छ
भन्ने थाहा छैन
अर्कै लोकबाट झरे झैं गर्छ
घर छिमेकबिनै चले झैं गर्छ
बोल्दा पैसा पर्ला झैं गर्छ
अब के के गर्ला झैं गर्छ
तर
माखो मार्दैन
सुको झार्दैन
गल्जो टार्दैन
अप्ठ्‌यारो मान्छे
घाँडो मान्छे

तपाईँको मान्छे
हाम्रो मान्छे
घाँडो मान्छे !

 

सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिकामा जन्मनु भएका गोपाल काफ्ले पेसाले त्रिभुवन विश्वविद्यालयका उप -प्राध्यापक हुनुहुन्छ। नेपाली विषयमा स्नातकोत्तर (एम . ए . एम. एड . ) गर्नुभएका उहाँ नेपाली भाषा र साहित्यप्रेमी हुनुहुन्छ। मूलत: शिक्षा र समाजका विविध क्षेत्रमा देखिएका विकृति विसङ्‌गति विरुद्ध कलम चलाउनुहुन्छ । उहाँ भाषा साहित्य सिर्जनाका माध्यमबाट समाज सुधार्ने तथा खबरदारीको अपेक्षा राख्नुहुन्छ ।