तपाईंकी श्रीमती कस्ती छिन् …?
मेरी त ठ्याक्कै तपाईंकै जस्ती छिन् ..!
यो खानुहुन्न प्रेसर बढ्छ
त्यो खानुहुन्न उमेर घट्छ
यो खाए बानी बिग्रन्छ
त्यो खाए हानी गर्छ
यता जाँदा फाइदा गर्दैन
उता जानु पर्दै पर्दैन…
किन गरेको होला यति धेरै स्याहार ?
मलाई त मेरीले कतै जानै दिन्नन् यार !
यो लगाएको भएन बुढा
पिटिक्कै सुहाएन बुढा
यो लगाउनू
त्यो नलगाउनू
“कपाल किन त्यसरी कोरेको ?
सर्ट बाहिर किन झारेको ?
उनले भनेभन्दा अलि फरक गर्दा …
भन्छिन् , कत्ति नक्कल पारेको !”
कति धेरै हो यो बढ्दो छेकबार .. ?
श्रीमतीले दायाँ-बायाँ गर्नै दिन्नन् यार !
यो खा त्यो नखा
यसले सन्चो गर्दैन
त्यो खानै पर्दैन
नखाएर मान्छे मर्दैन
उनकै आदेशमा चल्छ मेरो आहार
झिमिक्क आँखा छल्नै दिन्नन् यार
उनकै आदेशमा हातमुख जोर्छु
लुगा लगाउँछु अनि कपाल कोर्छु
तौलिएर खानापानी खुवाउँछिन्
घरी हसाउँछिन् घरी रुवाउँछिन्
यसरी नै नियमित चल्या छ मेरो आहार-विहार
उनले यताउति कतै चल्नै दिन्नन् यार !
खुट्टा चढाए, खुट्टा किन चढाएको
बोल्दा, मलाई सबै थाहा छ , कत्ति पढाएको ?
किन उता फर्केको ?
किन त्यसरी तर्केको ?
बोल्नै नपाई
किन यसरी झर्केको !
“राम्री देखे पनि नहेर्नू रे
राम्रीले भनेको नटेर्नू रे
राम्रीका अगाडि हामीले
लामो सास पनि नफेर्नू रे !”
यनकेन सम्हाल्या छु मेरो व्यापार
श्रीमतीले दायाँ-बायाँ गर्नै दिन्नन् यार !
बसे,मलाई नसोधी किन बसेको ?
उठ्यो भने किन उठेको ?
बिनाकाम किन हाँसेको ?
मन पर्दैन बढी बासेको !
“कहिले अरुको गहना देखेर पुक्लुक्क ढल्छिन्
कहिले आत्म प्रशंसामा धपक्क बल्छिन्
अपरम्पार छन् यिनका लीला यो कलियुगमा पनि
कहिले कर्कलाको डाठझैं गलक्क
गल्छिन् ! ”
रातदिन खाई-नखाई गर्छिन् मेरै सुसार
मेरी पत्नीले तलमाथि पर्नै दिन्नन् यार !
कहिलेकाही साथीभाइसँग रम्ने अनि जम्ने …. हुन्छ नि इच्छा
“हाम्रो रहर चै रहर नै हैन रे
एकरति पनि ढङ्ग छैन रे !
हुँदाहुँदा अब त अग्राएर
मलाई यस्तो बुढाले भएन रे ! ”
कभि खुसी कभि गम
कहिले बढी कहिले कम
यसैगरी चल्या’ छ मेरो व्यवहार
अर्धाङ्गिनीले अति नै गर्छिन् यार !
“उनीसँग मेरो न जित हुन्छ न हार
चाहिनेभन्दा बढ्ता गरेर प्यार
मलाई सुखचैन छ कि छैन,बुझ्नोस् आफैँ
उनले दायाँ-बायाँ गर्नै दिन्नन् यार !! ”
यति धेरै मेरो मित्रको
सुनेर श्रीमती- कहानी
घरी हाँसेँ, घरी रोएँ
म त भएँ हैरानी !
साथीले अझ भकानिंदै भन्यो
“हृदयको गथासो सुनाउन चाहिन्छ एउटा साथी सधैं तम्तयार ..
नत्र रमाइलो जिन्दगी पनि सजिलै बन्छ बेकार
बिनासित्ति बनिन्छौं हामी मनोरोगको सिकार
हलचल गर्न पनि मलाई त श्रीमतीले दिन्नन् यार !!”
म जोडदार माग गर्दछु :
लौ न यस्तालाई न्याय दे तिन सरकार
श्रीमतीले चट्पटाउनै दिन्नन् रे यार !!
सिन्धुली
हाल : हेटौंडा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१५ असार २०८३, सोमबार 










