चट्ट बनेर हिँड्
काँडाकाँडी गिँड्
बाधा आए भने
आँखा नहेरी भिँड्
महङ्गा लुगा लगा
बाहिरबाट मगा
मरेर के लानु छ
जिउँदैमा अघा
सम्पत्ति टन्न कमा
अरुको अगाडि जमा
पैसाको बोटमा पुग्ने
एउटा मूलबाटो समा
खा – पी मोज गर्
दिनदिनै भोज गर्
एक बारको जुनी
नयाँ-नयाँ खोज गर्
दिमाग घुमा
मनलाई झुमा
नयाँ टेस्ट गर्
जे गर्छस् बेस्ट गर्
भित्रको म त्यसो भन्छ
बाहिरको म यसो भन्छ:
इज्जतको ख्याल राख्
अर्काको पुरा नचाख्
तँ यस्तो – उस्तो भन्ने
भोलिलाई बाटो नराख्
इमान बचा
इच्छा पचा
भोगी दुनियाँमा
अब्बल जँचा
संस्कार र धर्म नछोड्
संस्कृति र कर्म नतोड्
प्रेरणा बन् अर्काको
फूल छोडेर काँडा नगोड्
दुई मको कुस्ती
दिई रहन्छन् सास्ती
दुबैका कुरा सुनेर म
लिई रहन्छु मस्ती ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला