मन्दिर गएँ, गुम्बा गएँ, केही भेटिनँ
मस्जिद गएँ, चर्च गएँ, केही देखिनँ
निराशा मात्र भेटेँ
बाहिरतिर त…

आशा मनमै रहेछ
घरमा आएँ
बा-आमा भेटेँ
विश्वास भेटेँ
विश्व भेटेँ

घरमै रहेछन्
भगवान्
ढुक्क भएँ
त्यसपछि
खोज्न हिडिनँ

मेरो घर नै मेरो मन्दिर रहेछ
मेरो घर नै मेरो मस्जिद रहेछ
मेरो घर नै मेरो चर्च रहेछ
मेरो घर नै मेरो गुम्बा रहेछ

बा भगवान् रहेछन्, अल्लाह अकबर रहेछन्, आदम र बुद्ध रहेछन्
आमा लक्ष्मी, सरस्वती, दुर्गा र काली रहिछन्, ईभ … रहिछन्

छोरा छोरी सुन्दर बगैंचाका माली रहेछन्
ध्रुव, बलराम र श्रवणकुमार रहेछन्
मेनका र मन्दोदरी …रहेछन्

हामी बुढाबुढी त मन्दिरका पुजारी रहेछौं
हामी त मन्दिरमा जीवन गुजारी रहेछौँ

आजकाल हाम्रो घरमा बिहान बेलुकै ॐ जय जगदीश हरे … गुन्जन्छ
हल्लाहु अकबर .. गुजन्छ
ॐ मणि पद्मे हुम् …गुन्जन्छ
अलमाइटी गड .. गुन्जन्छ

सबै धर्मधुन एकैचोटि गुन्जदा
उत्तरदक्षिण पूर्वपश्चिमका
आह्रिसे छिमेकीहरूले सुन्ने गर्छन् रे –
सयौ थुँगा फूलका हामी एउटै माला नेपाली… महाकाली

यो मिठो धुनले छिमेकीलाई नमिठो
चड्कनको स्वाद आउँछ रे
नमिठो डरको धड्‌कनको याद आउँछ रे
राजदूतहरू सुनाउँदै थे

आजकाल
मेरो देश मेरो घर भएको छ
मेरो घर मेरो देश भएको छ ।

सिन्धुली