प्रायः सधैँसधैँ भइरहन्छ उनीसँग उसको भेट
टाइट पाइन्ट, अग्ला हिल, थाइकट कपाल
मधुर मुस्कान, बढ्न नसकेको उचाइलाई जबर्जस्ती बढाउँदै
आफूलाई हिलमाथि चढाउँदै मुसुक्क मुस्कुराउँदै आफ्नो वक्षभाग अगाडि बढाउँदै
उसलाई धकेल्न आँटेको भावमा
उसको प्रभावमा
नजिकिन खोज्छिन्
प्रष्ट देखिन्छ
उनीमा प्यास छ
उनीमा आश छ
उनीमा भोकको झोंक छ
तड्पिरहेछन् तिनका आँखा; बोलीका भाकाहरू
भन्नै नमिल्ने
भन्नै नमिल्ने उनको समस्या
भन्नै नमिल्ने
उसको समस्या
उनको समस्या
उनको समस्या, उनको समस्या, उसको समस्या
यस्तैयस्तै कुरा दुवैलाई थाहा छ, दुवैको एउटै चाह छ
एउटै आवश्यकता छ
एउटै पेसा छ
एउटै बेथा छ
तिनको बेथा अरुलाई के थाहा छ ?
अनि ऊ आतुर छ उनलाई भेट्न
हेरेरै भए पनि तिर्सना मेट्न
उनी आतुर छिन्, उसलाई भेट्न
हेरेरै भए पनि तिर्सना मेट्न
कस्तो बिडम्बना !
उनको समस्याको समाधान ऊ हो
उसको समस्याको समाधान उनी नै हुन्
उसलाई पनि थाहा छ
उनलाई पनि थाहा छ
दुवैको एउटै चाह छ

थाहा छ उसलाई पनि भित्रैबाट तीव्र भोक छ
चाह छ उनलाई पनि भोकको तीव्र झोंक छ
खाना साथमै छ दुवैका भाँडाभरि प्रष्टै देखिन्छ
आहा ! तर सँगै खान दुवैलाई समाजमा तीव्र रोक छ

के गर्ने अल्झो समाज छ
तगारो संस्कार छ
गजबार संस्कृति छ
बाध्यता सभ्यता छ
ढोका बाहिर र भित्र बनाउँछ
मायाले बिस्तारै पित्र बनाउँछ
दुवै यसका सिकार छन्
दुवैले संस्कृति, परम्परा र समाजलाई धिक्कार्छन् ।

हेटौंडा