मेरो छोराको विशिष्ट श्रेणी आइसक्यो
उसले ए प्लस पनि पाइसक्यो !

चाहे परिणाम चार महिनापछि आओस्
चाहे परीक्षाफल त्योभन्दा ढिलो पाओस्
अनिवार्य ‘आदर सत्कार र सम्मान’
विषयमा ए प्लस प्रष्ट छ
अनिवार्य ‘सरसफाइ र आहारविहार ‘ विषयमा ए प्लस स्पष्ट छ
अनिवार्य ‘पाककला र वितरण शिक्षा ‘ विषयमा ए प्लस सुस्पष्ट छ
प्रथम ऐच्छिक विषय ‘नैतिकता, मिलनसारिता र लगनशीलता’ मा ए प्लस प्रत्यक्ष छ
द्वितीय ऐच्छिक विषय – ‘मृदुभाषी , हसमुख र मानवतावाद ‘ मा ए प्लस अगाडि छ
व्यक्तित्व निर्माण विषय – ‘धर्म संस्कार , संस्कृति र समभाव ‘ विषयमा ए प्लस दैनिक देखिन्छ !
अब भन्नुहोस् आफैं
मेरो छोरोले ए प्लस ल्यायो कि ल्याएन ?
अब्बल दर्जाको विशिष्ट श्रेणी
आयो कि आएन ?
चाहे कागजी खोस्टोमा सी आओस् कि सी प्लस आओस्
ई पाओस् कि ई प्लस पाओस् !
मेरो छोराको विशिष्ट श्रेणी आइसक्यो
उसले ए प्लस पनि पाइसक्यो !

“छोरो कागजमा सप्रियो कि
काममा ?
छोरो बिग्रेला है विशिष्ट श्रेणीको नाममा !
तुलना नगरौं अरुसँग निराशा सुन्नु पर्ला
नफसौं है देखासिखीको अँध्यारो जाममा !
व्यवहारशास्त्रमा
मेरो छोराको विशिष्ट श्रेणी आइसक्यो
उसले ए प्लस पनि पाइसक्यो
चाहे परिणाम चार महिनापछि आओस्
चाहे परीक्षा फल त्योभन्दा ढिलो पाओस् !

सिन्धुली ,
हाल: हेटौंडा