गोपाल काफ्ले

पार्टीको झोला बोकेर
दुईचार जनालाई ठोकेर
चाकरी गर्दै कसैलाई ढोगेर
जागिर खाएको
म झोले मास्टर

विद्यार्थी पढाउनभन्दा
सङ्घ सङ्गठन खोलेर लडाउन
एक आपसमा खुट्टा तानातान गर्न आफन्त बीचमा हानाहान् गर्न
सिकाउन सिपालु
म झोले मास्टर

पढाउने रहर भए पनि आफूले पढ्ने बेला पढिएन, ढङ्‌गको पढाइ निवेदन समेत लेख्न अर्कैलाई लाउँछु हप्तामा तीन दिनमात्र स्कुल धाउँछु
म झोले मास्टर !

पार्टी अफिस धाउनु
आपसमा चुक्ली लाउनु
काम नगरी स्याबासी पाउनु
पार्टी र नेताको गीत गाउनु मेरो धर्म
किनकी
म झोले मास्टर !

गाउँ फुटाउँछु
जुवाडे जुटाउँछु
इज्जत लुटाउँछु
कहिले कुटाइ खान्छु
कहिले कुटाउँछ
किनकी
म झोले मास्टर

पढाउनु भन्दा भट्टी रमाइलो
कक्षा कोठाभन्दा चौर घमाइलो
चोक, चौतारो र चियापसल रमाइलो भोज भतेर विवाह व्रतबन्ध रमाइलो

गुड टच ब्याड टच ह्रासमेन्ट लभका कुरा मिलाउन
मिलाएर फाइदा लिन सिपालु म
मिससँग मिसहरुसँग रमाइलो गर्न जान्ने म
सरस्वती मिसको जिम्मेवारी
हुँदा विद्यार्थीलाई महिनावारी
त्यसमा प्याड बाँडेर सघाउँछु
यस्तो काममा खुब रमाउँछु
म झोले मास्टर !

फलानोको भोज दामी
तिलानो साह्रै हरामी
आदिका कुरा स्कुलमै रमाइलो

अनलाइन कक्षा अर्काको भर
पढाए पनि हुने नपढाए नि हुने
छैन कसैको डर
किनकी म झोले मास्टर !

दैनिक पाठयोजना किताब हो, एकाइ-योजना किताब हो
बार्षिक कार्य योजना किताब हो, कक्षा कार्य किताबै हो
गृहकार्य किताब हो

किताब चाहिँ केन्द्रमै हुन्छ

प्रदर्शन विधि मुखै हो
छलफल विधि मुखै हो
प्रयोग विधि मुखै हो
खोज विधि मुखै हो
भ्रमण विधि मुखै हो
खेल विधि मुखै हो
मुख हुँदाहुँदै अरु विधिलाई किन दुःख ?
उदार कक्षोन्नति छँदै छ । उत्तीर्णको ठेक्का सरकार
अनुत्तीर्णको शङ्का नै छैन
किन लिने तनाव, खालि लिने तलव

मैले राम्ररी पढाइदिए
सरकारी स्कुल सुधारदिए
मेरो दाजु र मेरो हेडसरको साझे बोर्डिङ कसरी चल्छ ?
उताबाट आउने कमिसन कसरी फल्छ ?

शिक्षण विधि
शिक्षण प्रविधि
शिक्षण पद्धति
शिक्षण सामग्री
कक्षा व्यवस्थापन
शिक्षण समयको छैन तनाव
किनकी
त्यो सबै म नै हुँ
म झोले मास्टर

आयोग पास गरेर आउने
हिजोका फूल आजका चल्ला
हाम्रो अगाडि तिनले धाक लाउने
हामीले जे गर्दै आयौं त्यही गर
नत्र ! नत्र !! नत्र !!!
किनकी
म झोले मास्टर !
जसको सिता खाइन्छ उसकै गीता गाइन्छ
इमानदारीताको पाठ मसँग सिक्न आऊ । पार्टीको गीत गाउँदैनौ भने
मतिर यदि आउँदैनौ भने तिमी जाऊ
तिमी दुर्गम कै लायक छौ उतै जाऊ
म पहुँच राख्छु किनकी
म झोले मास्टर !

 

गोपाल काफ्ले (उपप्राध्यापक)
त्रिभुवन बहुमुखी क्याम्पस तानसेन, पाल्पा