मैले पढेको थिएँ हजुरबुवा
मेरा स्कुले किताबका पानाहरूमा
गोपालप्रसाद रिमालकी “आमाको सपना”
र, म अतिशय उजेला आशाहरूले चुलिएको थिएँ
र, म अतिशय उजेला विश्वासहरुले भरिएको थिएँ
“त्यो बिहानको सूर्यझैं उज्यालो छर्दै आउनेछ” भनेर
“त्यो जूनजस्तै पोखिदै सारा जडता बगाउँदै एकदिन आउने छ” भनेर
र, ठानेको थिएँ,
भूपीको “हामी” मा वर्णित
“बुद्धु नभएर वीर हुनै नसक्ने
आफूखुशी कहिल्यै मिल्न नसक्ने, कसैले मिलाइदिनु पर्ने
आफूखुशी कहिल्यै छुट्टिन नसक्ने, कसैले छुट्याइदिनु पर्ने
रंग रोगन खुइलिएका पुराना क्यारेमबोर्डका गोटीजस्ता,
दौडमा प्रथम हुने तर टीका निधारले लाइदिने,
दौडमा प्रथम हुने, तर माला घाटीले लाइदिने,
दौडमा प्रथम हुने, तर तक्मा छातीले लाइदिने
फगत पाइताला जस्ता” भन्ने मेरो परिचय बदलिनेछ र समृद्धि आउने छ
र, त मैले यो धर्तीमा रगत बगाएँ
र, त यो धर्तीमा मेरा आफन्तले पसिना बगाए
र, त बलिदानीको कीर्तिमान खडा भयो
मलाई भनियो हजुरबुवा…
एकपटक होइन, पटक—पटक भनियो
स्वाधीन बन्छौँ भनियो, समृद्ध बन्छौँ भनियो
कोतपर्वको रगतको आहालबाट जन्मेको
जंगबहादुरको जंगी शासन हटेपछि २००७ मा आउँछ भनियो
१७ पौषको कोपभाजन पछिको कालरात्री हटेपछि २०४६ आउँछ भनियो
राजको रैतिबाट नागरिक बनेपछि आउँछ भनियो
र, भनियो संविधानसभाको निर्वाचन भएपछि आउँछ भनियो
त्यो पनि भयो हजुरबुवा…! एकपटक होइन दुई—दुई पटक ।
संविधान बनेपछि आउँछ भनियो हजुरबुवा…! संघीयता आएपछि आउँछ भनियो
मैले पत्याएँ, पत्याउनुको विकल्प पनि त थिएन मसँग…
अब स्थिर सरकार बनेपछि आउँछ भन्थे
त्यो पनि बन्यो हजुरबुवा बहुमतको मात्रै हो र …? दुई तिहाइको
अब त बहानाबाजी पनि सकिएजस्तो छ, त्यसैले साँच्चिकै आउला नि हजुरबुवा…….?
मेरो दृष्टिभ्रम हो कि ? के हो हजुरबुवा ?
बुद्ध बेचेर घडेरी किन्ने होडबाजी चलेको देख्दैछु
सगरमाथा बेचेर घर बनाउँदैछन्
भृकुटी र सीता बेचेर गाडी किन्दैछन्
स्वाभिमान बेचेर पाँचतारे होटेल खोल्दैछन् हजुरबुवा..! मान्छेहरू
अनि, बलभद्र, अमरसिहं र भक्ति थापाका लाश उधिनेर
मम, छोयला, कचिला, किमा र भुटन बनाउने तयारी हुँदैछ
अनि हजुरबुवा….! मेरो समृद्धि साँच्चिकै आउँछ ..?
चुनावताका मैले भनेको थिएँ नि हजुरबुवा.. तपाईंलाई
उम्मेद्वार रामबहादुर हो कि ? श्यामबहादुर हो ?
तपाईंकै जातिको हो कि ? अर्कै जातिको हो ?
तपाईंकै गाउँको हो कि ? पल्लो गाउँको हो ?
छोडिदिनुहोला यी सबै तपशिलका कुरा हुन्, चुनावपछि गरौंला
अहिले त स्वयं देशले उम्मेद्वारी दिएको छ
र, देशलाई जिताउनु छ, जुन जीत तपाईंको पनि हुनेछ
मैले भनेको थिएँ हजुरबुवा..! त्यतिबेला
“सम्झिनुस् हजुरबुवा एकछिन
मुजैमुजा परेको निधार खुम्च्याएर सोच्नुस्
तपाईंले पटक—पटक भोट हाल्नुभयो
तपाईंले भोट हालेकाहरू कहाँ, कहाँ पुगे
तपाईं जहाँको त्यहीं उही झुपडीमा, एकसरो टालेको तन्दाले
पुष–माघको जाडोसँग पौंठेजोरी खेल्दैहुनुहुन्छ
चुहिएको छानाबाट खसेको शीत सेवन गरेर दमसँग लड्दै हुनुहुन्छ
टाउकोभरि ऋण बोकेर बा “देश” कुल्ली भएका छन्
नाति–नातिना होटलमा भाँडा माझ्दैछन्
व्यक्तिले जित्यो हजुरबुवा त्यतिबेला देशले हा–यो
र, तपाईं र तपाईंका सन्तानले यो दुर्दशा भोग्नु परेको छ ।”
पसिना नेपालीले बगाउँछ, कतारको मरुभूमि हरियो हुन्छ
ठेला हाम्रा हातमा उठ्छन्,“हल्दानी र कुरुद्वार”का बाटा फराकिला हुन्छन्
रगत नेपालीको बग्छ, हजुरबुवा..! विजयको माला भारत र बेलायतले लगाउँछन्
जोखिम नेपालीले उठाउँछ, हजुरबुवा..! कारखाना मलेशियामा चल्छन्
गोठालो नेपाली छ हजुरबुवा..! भेडा उँटको मुनाफा अरबीले पाउँछ
जातीय तथा धार्मिक द्वन्द्वको आगो
धरानबाट दन्किन सुरु भइसकेको छ
हरेक दिन जस्तो २२ सय युवायुवतीलाई
देशनिकाला गरिरहेका छौँ
तपाईंलाई केवलकार चढाएर
कैलाश पर्वत घुमाउने रहर थियो हजुरबुवा..!
तपाईंलाई रेल चढाएर
लुम्बिनी र देवघाट तीर्थयात्रा लैजाने इच्छा थियो
हावाबाट बिजुली निकालेर यो अँध्यारो कोठा झलमल पार्ने
यो चिसो कोठा हावाबाट निकालिएको बिजुलीको हिटर बालेर
तातो बनाउने सपना थियो हजुरबुवा..!
होटलका कान्छा र भाडाका सिपाही जन्माउने देशको नियति बदल्ने
नौजवान पठाएर सेतो बाकसमा लाश बुझ्नुपर्ने बाध्यता बदल्ने
दिल्लीमा पानी पर्दा काठमाडौंमा छाता ओढ्नुपर्ने देशको निरीहता बदल्ने
तपाईंको फोक्सो र मुटुको निःशुल्क उपचार गर्ने
अनि स्वाधीन, स्वाभिमानी र
समृद्ध देश देखाउने सपना के हुन्छ ? हजुरबुवा..!! अब ।।
अछाम



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 









