भेडा चराउँदै बित्यो

तमाम ‘समहरुको’ जिन्दगी

घाँस काट्दै हराए

थुप्रै ‘शेलीहरु’

खेत रोप्दै अस्ताए

तमाम ‘देवकोटाहरु’

खैर ! जेसुकै होस

छापाखानासँग तिमीले नाता लायौ

, तिमी ‘भानु’ भयौ

, म ‘आदिकवि’ भन्दैछु

…………………

माटोमै लेखिए थुप्रै ‘रामायण’ हरु

बाटोमै हराए थुप्रै ‘प्रश्नोत्तरी’ हरु

तिमी भन्दा धेरै पहिले

वताससँग गुञ्जिदै हराए

अलिखित इतिहास इतिहास भएर

……………………………………….

माटोमै विलाएर गए

छोयौ भने माटो मनले अहिले पनि कविताको आभास हुन्छ

हो त्यो तिनै कविताको प्राण हो

तर, छापिएनन् किनकि थाहा पाएन छापाखानाले

, तिमी आदिकवि भयौ

…………………………………………….

जे सुकै भनोस् तिम्रो ‘बधुशिक्षा’ ले

जे भए पनि मैले पढ्न त पाएको छु ।

 

धेरैले लेखेपनि जीवनका कविता

धेरैले लेखेपनि जगतका कविता

सबभन्दा पहिला छापाखानाले तिमीलाई चिन्यो

, तिमी आदिकवि भयौ ।

 

आवाज त्यतिखेर आउँछ,

कसैले सुन्छ

धर्ती काँप्ने गरेर चट्याङ् परोस् न

जंगलै थर्किने गरेर ढलोस् न रुख

मैले सुनिन भने

त्यो आवाजको के अर्थ हुन्छ ?

 

महाकाव्य नै किन नलेखिउनु पखेराहरुमा

मैले पढिन भने

त्यो कविता होइन ।

 

मेरा गुरुबाट

सिकेको मेरो ब्रम्हले त्यही भन्छ

मेरो सभ्यताले त्यही भन्छ

मैले बुझेको बाहेक

संसारमा न कुनै ज्ञान छ, विज्ञान

अनि मैले पढेको बाहेक, छापेको बाहेक कविता हुन्छ ?

 

कोर्न त कोरिए होलान अनुभूतिहरु

लेख्न त लेखिए होलान जीवनहरु

तर, ति छापिएनन् : कारण जेसुकै होस् ।

 

मैले नपढेपछि अरुका कविता

भानु तिमी नै मेरा आदिकवि भयौ

जेसुकै भनोस् दुनियाँले

तिमी नै मेरा पहिला कवि भयौ ।