सुरज साउद

खवर त पाएकै हो साइलाकाका
मेरै लागि अन्तिम घिडघिडो रहेको छ भनेर
एकमुठी श्वास
मेरै लागि रहेको छ भनेर
…………………………………..
तर के गरौ र ?
हाकीमले वहीखातामा गयल जनाइदिन्छु भनिदिए
र, भनिदिए साउजीले
अब, उधारो दिन सक्दिन भनेर
सोचें
मेरा लालावालाको मुखमा माड नलागेर
भोकभोकै मरे भने……!
हो त्यसैले
तपाँइका ठूल्दाइ अर्थात मेरा बाको
अन्तिम पटक मेरो अनुहार हेरेर स्वर्ग जाने
धोको पुरा भएन , साइला काका ।
………………………………………….
म के गरौ ?
साइलाकाका ! भन्नुस् न के गरौ ?
समयको बल्छिमा अल्झाएर
माछाको सट्टा मान्छे मार्न थालिएपछि

गरिवीको पातमा माछाको सट्टामा
मान्छेकै पतरसेका लगाउन थालेपछि ।
……………………………………………….
तपाइ त भन्नु हुन्थ्यो नि साइलाकाका !
सहनु पर्छ बाबु सहने मान्छे ठूलो हुन्छ भनेर
खै त हजुरबुवाको सहदासहदै बेहाल भयो
मेरा बाको पनि सहदा सहदै योहाल भयो
खै त ठूलो भएको ?
तपाइले भने जस्तै
सहने मान्छे ठूलो हुने भएको भए त
संसारकै सबैभन्दा ठूलो मान्छे
मेरो हजुर बा र बा हुनु पर्ने होइन र ?
…………………………………..
माफ गर्नुहोला साइलाकाका !
अव म चाही सहदैन
म उठ्छु उसको अन्यायका विरुद्ध
र उसको मिति पु¥याइदिन्छु
कि मेरो कुनै पनि सन्तानले
उसको अन्याय सहनु नपरोस्
किनकी मलाई ठूलो मान्छे हुनु छैन,साइलाकाका अव !

…२०७४ भाद्र ५ मंगलबार, ढल्पा कीर्तिपुर