मेरो गाउँको शिरमाथि छहरे खोला

असार मास बत्तिने सिगार्चे खोला

यी दुवैको संगम प्यारो घट्टे खोला

कुर्लिएको देखेँ मैले सम्हाल्ने को होला ?

बालपनका साथीसँग घुम्दै गरेको

ठूलीबेशी, अल्छी ढुङ्गा डुल्दै गरेको

जन्मेँहुर्कें त्यहीँ सिकेँ जिन्दगीको भोगाई

गाउँबेशी, खेतीबारी परिवारलाई सघाई

सीप सिकेँ, ज्ञान लिएँ त्यही प्यारो ठाउँ

अझै पनि सम्झनामा ताजा छ मेरो गाउँ

ज्ञानको पुञ्ज मेरो प्यारो स्कूल कन्ठेश्वर

तीर्थ व्रत धर्म गर्ने पूज्य शैलुङश्वर

उत्तरतिर शैलुङमुनि दगली त्यो भिर

पूर्वपट्टि ढुईगाउँ र दोरम्बा हो शिर

पश्चिमतिर सिगार्चे गाउँ सधैँ हाम्रो साथ

दक्षिण भने ठूलीबेसी घान झुल्ने फाँट

थामचौर, स्कुलडाँडा च्यानखोला प्यारो

शिवालय, माईथान त्यो रखे राख्ने डाँडो

ऐँसेलु र चोत्रो टिप्दै काफल गेडी खाको

दाउरा घाँस घरबेशी हिँड्दा माया लाको

सफल जीवन खोज्दै हिँड्यौँ हामी युवा सबै

प्यारो गाउँ शून्य भयो भन्थे आमा बाबै

दुई दिन हिँड्नुपर्ने शैलुङे त्यो डाँडा

भारी बोकी सामल लिन हिँड्थ्यौँ हामी सारा

पाखाटोल पाँच घर पाँच दाजुभाइ

सबै मिली बस्ने गर्थे सबै हाइहाइ

कोलडाँडा भिरकुना त्यो थामघर

तल्लो गाउँ डिउटोल अनि भैँसीआल

सिरानघरका हाम्रा काका जान्थे लाहुर

पाठक बस्ती सधैँ हाम्रो पुज्य बाहुन

फलेकका घरका छाना सबै टल्कने टिन

गए भन्छन् साथीभाइ हिजोका दुःखी दिन

हररर मोटर गाडी जान्छन् अब लिन

मेरो साथी भन्दै थियो पर्दैन अब हिँड्न

सबै युवा घर फर्के गाउँ बनाउने धुन

धान झुलाई, मकै फलाई निकाल्ने रे सुन

स्कुल बन्यो, कलेज खुल्यो धेरै छ रे सेवा

युवाहरु घर फर्के गाउँ विकासमा टेवा

आमाबाबा हाँसी खुसी सकियो रे रोपाईं

मंसिरमा बटुल्ने छन् यो असारको कमाई

हिजो राति सपनीमा टोकरपुर गाउँ

साथीभाइ भन्दैथिए फेरिएको छ ठाउँ

साथीभाइ भन्दैथिए फेरिएको छ ठाउँ ।

 कटुन्जे, भक्तपुर