जब तिमी यो धर्तिमा पाउ राख्छौ
तिम्रो आँखाले तिमी देखिदैनौ
तिम्रो कानले तिमीलाई सुन्दैन
अनि नाकले तिम्रो बास्ना लिँदैन
तिम्रो शरीरले पनि तिमीलाई अनुभूत गर्दैन
तिमी भोकै, नाङ्गै, निष्कलङ्क पदार्पण गरेका थियौ ।

थाहा छ तिमीलाई यी सत्यहरु ?
एकचोटि सोच त !
तिमीलाई, तिमी को हौ थाहा थिएन
किन जन्मियौ, त्यो पनि थाहा थिएन
न त तिम्रो नाम थियो, न जात
न त तिमी भित्रको त्यो राम्रो “म”
तिम्रो अस्तित्व, तिम्रो यो मपाईंत्व
तिमीले महसुस पनि गरेको थिएनौ
त्यही भएर त
तिमी हाँसिरहेका, खेलिरहेका, झुमिरेहका
मदमस्त तिम्रो उत्पत्तिको आनन्द लिइरहेका हुन्थ्यौ ।

तिमीलाई अर्को एक महासत्य थाहा छ ?
छैन भने सुन !
जसरी तिमीलाई नाङ्गै यो धर्तिले स्वागत गरेको थियो
तिमीले नाईं नाईं भन्दै छटपटाउँदा पनि
एक दिन नाङ्गै बिदा पनि गर्नेछ
आश्चर्य त, तिम्रा भनेकाहरुले
तिमीले सायद प्रेम गरेकाहरुले
हतार हतार
तिम्रो शरीरमा सजिएका ज्वाहारतहरु लुछ्नेछन्
सायद पहेलो पीताम्बर र सेतो च्यादरले
तिम्रो राम्रो “म” र मपाईंत्वलाई छोपेर
तिमीसँगै नाङ्गै जलाउने छन् ।

यसरी नाङ्गै जलिरहदा पनि जन्मदा जस्तै
न त तिम्रो आँखाले तिमीलाई देख्छ
न त तिम्रो कानले तिमीलाई सुन्छ
न त तिम्रा शरीरले तिमीमा झोसेको अगुल्टोको महसुस गर्छ
न त तिमीलाई तिम्रो राम्रो “म”ले
तिम्रो महल, कार, हिरा-मोती अर्बौंको सम्पत्तिले
तिमीले प्रेम गरेकाहरुले
तिमीलाई आगोको ज्वालाबाट हटाउने कोसिस गर्नेछन्
बरु आगोको ज्वाला बढाउने छन्
तिमीले थुपारेको पैसाको थुप्रोबाट
दाउरा किनेर थपिदिने छन्
घिउ, तेल, पराल थपेर तिम्रो अस्तित्व मेटाउन हतारिने छन्
यसरी तिमी नाङ्गै महाप्रस्थान गर्नेछौ ।

तर अचम्म छ, तिमी भित्रको राम्रो “म”
यी जानेर हो कि अञ्जान भएर हो ?
नैतिकता र नीतिलाई बन्धक बनाएर
विवेक र इमान्दारितालाई लिलाममा राखेर
सिद्धान्त र विचारलाई बलि दिएर
तिमीलाई नै जलाउन पर्खिरहेकाहरुको चिन्तामा बेहोस देखिन्छ
अन्तिम प्रस्थानको एक मुठो दाउराको जोहोमा
आम मानिसको खुसी खोसिरहेको छ
देश लुटिरहेकोछ, विवेक गुमाइरहेको छ ।

मेरो एउटै प्रश्न तिमीलाई
तिमीले तिमीसँग साथ जाने
जनम जनम तिमीलाई साथ दिने
त्यही नैतिकता, विवेक, इमान्दारिता
एक मुठो दाउरासँग
राम्रो “म” को लागी बेचिरहेका छौ
छोड तिम्रो राम्रो “म” को मपाईंत्व
जोगाऊ नैतिकता, विवेक, इमान्दारिता
अनि बन्नेछ समृद्ध नेपाल, खुशी नेपाली ।