शहरमा नौँटकीवालहरुको बोलावाला छ
सत्ताको जात्रा चलेको छ
समृद्धि र विकास जुम्ल्याहा जन्माउने रे
समाजवादी पाठो डोराएका छन्
थुप्रै मनुवाहरु पछिपछि लामा लस्कर छन्
पाठो अघिअघि नौटकीवाल झनै अघि देखिन्छन् ।
समाजवाद, साम्यवादको डम्फु बजेको छ
ठूला-ठूला जेलबासी नेलबासी मुठ्ठी उचालिरहेका
दशकौँ वनबासी तपस्वीहरु प्रवचन दिइरहेका
सयौँ मात्र होइन हजारौँ भक्तजनहरु
विकासका, समृद्धिका संसारिक प्रवचनहरुले
सुखका वाचारुपी भजनहरुले लठ्ठिएका, झुमिरहेका छन् ।
सद्दे मानवमा लाज देखेको छु मैले
जब मगज सड्किन्छ, दिमाग भड्किन्छ
तब मात्र मानव नाङ्गै लुगा फुकालेर
सडकमा लुगा लगाएर हिँड्नेलाई गिज्याउँछ
अन्ततः मनुवा बौलाउँछ
अनि त्यहाँ लाज, शर्म सबै हराउँछ ।
लाज छोपिएको पर्दा झरेको छ
बालुवाटारबाट खुमलटारेलाई कुरीकुरी रे
खुमलटारबाट बालुवाटारेलाई कुरीकुरी रे
कुरीकुरीको कटाक्षले शहरमा हाँसो मच्चिएको छ
कुरीकुरीकै होड र जोडमा
एकअर्काका जीवनभरका छलकपट उदांगिएको छ ।
पहिलो र दोस्रोको नापतौल हुँदैछ रे
उत्तर र दक्षिणको आशीर्वादमा
पहिलोले अहंकारी रुपमा औँलो तेर्सायो
तँ चोर, तँ भ्रष्ट, तँ मूर्ख, तँ राष्ट्रघाती
दोस्रो विधानको नाममा बुरुक्कै उफ्रँदै, म मात्रै ?
तँ पनि चोर, महाभ्रष्ट, मूर्ख, राष्ट्रघाती ।
प्रष्ट देखिन्थ्यो दुवैको अनुहार पापले पोतिएको
उनैका चार औँलाले उनैलाई गिज्याइरहेको छ
हजारौँ सपुतहरुको बलिदानलाई धोका दिएर
वीरतापूर्ण लडाईंबाट प्राप्त प्रजातन्त्र, संविधान
तेरो र मेरो जुँगाको मपाइँत्वमा
हत्या गरिएका प्रजातन्त्र, संविधान र आदर्शहरु
जलाउन उदन्ड भिडहरु
हत्याराको जयजयकार गर्दैछन् ।
कटुन्जे, भक्तपुर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।