आँगनको डिलमा बसेर आँखा टट्टाउन्जेल
पारि दगलीभिरबाट झरिहेकाहरुको लस्करमा
आफ्नो बाबा, दाजु टाढाबाट नै चिन्न
भाइबहिनीहरुसँग बाजी लगाउदा पो
दशैँ आएजस्तो लाग्थ्यो ।

बाबाले मझेरी छेउमा बिसाएको कुम्लो
फुकाउने प्रतीक्षामा छटपटिएर
आमालाई कोट्याउँदा
अनि नयाँ लुगा, जुत्ता देखाएर फुर्ती लगाउँदा पो
दशैँ आएजस्तो लाग्थ्यो ।

सुनसान बनेको गाउँटोल, वर्षमा एकदिन
परदेशीयाहरु परिवारमा एकीकृत हुँदा
न्यास्रो मेट्न हुने आत्मीय भलाकुसारीले
गाउँटोल नै मदहोस भएर सुसेलीरहेको आवाज गुन्जदा पो
दशैँ आएजस्तो लाग्थ्यो ।

घरघरमा मुनिको म्याँ म्याँ आवाज
ढिकी र ओखलको एकनासको झन्कार
पिपलबोटमा भुन्डिएको बाबियोको पिङमा भिडभाड
स्कुलडाँडामा रन्किएको मादलको आवाजले पो
दशैँ आएजस्तो लाग्थ्यो ।

फूलपातीमा जमरा पर्संदा
जमराघरमा एकीकृत आफन्तहरुको जमघट
अष्टमी र नवमीमा घरघरमा हुने मार
अनि परिवारसँग बसेर खाँदाको दही चिउराको स्वादले पो
दशैँ आएजस्तो लाग्थ्यो ।

लङ्गुरबुर्जामा थापेको एक रुपैयाँ हारेर
आमालाई अर्को रुपैयाँको लागि फकाउँदा
दाजु बुबाहरुको मदमस्त हाँसो र पौरखका गफ सुन्दै
दशैँको प्रसाद खाने निम्ता मान्दै घरघरै दशैँ खाँदा पो
दशैँ आएजस्तो लाग्थ्यो ।

टीका र जमरा सिउरेर
मान्यजनहरुले दिने आर्शीवाद थाप्दै
साथीभाइहरुसँग आर्शीवादसँगै पाएको दक्षिणा
मेरो धेरै भनेर धाक लगाउँदै पैसाले उकासिएको खल्ती देखाउँदा पो
दशैँ आएजस्तो लाग्थ्यो ।

खै यो साल पनि दशैँ आयो अनि गयो रे
न त माया र स्नेह साटियो, न त आशीर्वाद थापियो
घरभित्र कोरोनासँग लुकेर, आफन्तहरु टाढिएकोले होला
यो दशैँ कहिले आयो, कहिले गयो थाहा नै भएन
दशैँ आएजस्तो नै लागेन ।

साथी त्यो दशैँ पो दशैँ
साँच्चै साथी त्यो दशैँ पो त दशैँ !

नगरकोट, भक्तपुर