“जोक्करहरु” न हुन्
तिनलाई के लाज, के शर्म ?
तिनको काम नै हो जग हँसाउने
जति हँसाउन सक्यो उति वाहवाही
त्यति नै तिनका पछिपछि तिनका समर्थक
समर्थकहरुका छिल्लिएको हाँसो
ताल न सुरका बेमौसमी ताली ।
“जोक्करहरु” न हुन्
तिनलाई के लाज, के शर्म ?
तिनको काम नै हो बहुरुप धारण गर्ने
डबल अध्यक्ष रे अनि कार्यकारी र वरिष्ठ रे !
प्रधान पनि मन्त्री पनि आलोपालो रे !
तेरो मेरो यसलाई, उसलाई र त्यसलाई
त्यही भाइभारदार साला जेठान बुहारी अनि घरपेटीलाई
“जोक्करहरु” न हुन्
तिनलाई के लाज, के शर्म ?
तिनको काम नै हो दुनियाँलाई छल्ने
कहिले रेलको नाममा त कहिले तेलको
कहिले चीनको त कहिले भारतको
गरिबीले छिलिएका नेपालीहरुलाई
विकास र समृद्धिको मीठो सपना बाँढिरहने
“जोक्करहरु” न हुन्
तिनलाई के लाज, के शर्म ?
तिनको काम नै हो दर्शकलाई उल्लु बनाउने
जति छल्न सक्यो, जति ढाँट्न सक्यो
जति उट्पट्याङ कथा र कथौरी बुन्न सक्यो
जति एकले अर्कोलाई गिज्याउन सक्यो
दर्शकदीर्घालाई उल्लु बनाउन सक्यो उति वाहवाही !
“जोक्करहरु” न हुन्
तिनलाई के लाज, के शर्म ?
तिनको काम नै हो दुनियाँ हँसाउनु
मुख बङ्गाएर होस् कि जिउ हल्लाएर
खुट्टा उचालेर होस् कि कुर्सी तानेर
आरोप र प्रत्यारोपको फोहोरा छाडेर होस् कि
शरीरका लुगा फुकालेर अर्धनाङ्गिएर, हँसाउनु त पर्यो नै !
यो कथा हो ती लाजपचेका “जोक्करहरु” को
तिनलाई के लाज, के शर्म ?
बालुवाटार अनि खुमलटारका हुन् वा कोटेश्वरका
लाज त देख्नेलाई पो लागिरहेछ !
आज नाङ्गिएका बादशाहलाई नाङ्गो देख्ने
बालदृष्टिको खोजी भैरहेछ
जहाँ कुनै लोभ, लाभ तेरो मेरोको प्रभाव नहोस्
प्रभाव होस् त नेपाल र नेपालीको विकास र समृद्धिको ।
कटुन्जे, भक्तपुर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।