सत्य बोल्नेको मुख थुन्ने
जीवन बाँच्न रोजगार माग्दा
अरब र मलायको बाटो देखाउने
न्याय माग्न न्यायालय जाँदा
न्यायाधीश नै न्याय नपाएर घरैमा नजरबन्दी बन्नु पर्ने!
जाबो व्यक्तिगत स्वार्थको खातिर
नीति-विधि,सिद्धान्त पोलेर
विचलित अवसरवादी दारु-धतुरोको निम्ति
अस्वाभाविक स्वादिलो सितन बनाउने
-त्यसैले,
महामहिम भगवान् रुपी शासक हो…
सही ठाउँमा पुग्न हिँड्ने को खुट्टा काटिदेऊ
विजयको झण्डा फहराउने  हात भाँचिदेऊ
न्याय माग्न तिमी सम्म आइपुग्न
बाटो देखाउने आँखा फोडिदेऊ,
तिमिले गरेको बेइमानी कर्मको
खबर सुन्ने कानलाई नसुन्ने गरी थुनिदेऊ
चेतनशील मस्तिष्कमा क्रूरताको झिर रोपिदेऊ।
विवेकशील बिचारमा बुल्डोजर चलाइदेऊ।
मैनबत्ती जस्तै जिउँदो छोराछोरीलाई
तिम्रो आँखा अघिल्तिर जल्न देऊ ।
हुरु…हुर…. बल्न देऊ !
तिम्रै छ राज !
तिम्रै छ अधिकार !
तिम्रै छ हालीमुहाली !
तिमी र तिमी जस्ताको लागि मात्रै आको रहेछ।
छेपारे तन्त्र
गज्जबको गणतन्त्र, लोकतन्त्र
हिजो अस्ति…
राजा ,राणा, पञ्चले गर्दा
बोल्न पाएन, लेख्न पाएन
हिँड्न पाएन, स्वतन्त्रता पाएन भन्दै
चुपचाप मिली बसेका
सोझा-सिधा मानिसको
मनदेखि मस्तिष्कसम्म
क्रान्तिको कुरा…
बराबरीको कुरा…
अधिकारको कुरा…
समावेशीदेखि आरक्षणको कुरा…
जातैपिच्छे राज्य बाँड्ने तिम्रो घातक कुरा…
के के के के…
परिवर्तनको नाउँमा शब्दकोश रित्याएर
सस्तो-मस्तो लोकप्रिय नारा
बाँड्दै हिँड्यौँ
अनाहकमा शान्त बुद्धको देशमा
नरबलि दिँदै
रगतै-रगतको होली खेल्यौँ
कतिलाई मारेर गाड्यौँ
कतिलाई जिउँदै जलायौँ
कतिलाई हात-खुट्टा छिनाएर
जिउँदो लास बनायौँ
बिधुवा, टुहुरा कति कति
बा-गुमाएका, आमा-गुमाएका
नातागोता, सहगोत्री, भाइबन्धु गुमाएका
चिहान नपाएर बायु बनेका
कर्म, काण्डी श्राद्ध पिण्ड नपाएर हावामा उडिरहेका
अदृश्य चिर आत्माहरूलाई।
सिउँदोको सिन्दुर पुछेर
छातीभरि बारुद को छर्रा बोकेर
टिठ लाग्दो मृत्यु कुर्नेहरूलाई
के भन्छौ ? के दिन्छौ ?
वाह !
तिमीले अनि तिमि जस्तैले
हजारौँ जिन्दगीलाई बलि दिएर ल्याएको
नयाँ युगको नयाँ तन्त्र
बोल्दा मुख थुन्ने
अनि बोल्यो भन्दैमा जनतालाई
झ्यालखाना मा कोच्ने !
क्या गतिलो गज्जबको नयाँ तन्त्र !

काभ्रे,पाँचखाल -११