मरुभूमिको रातो अनि तातो बालुवामा
पसिना र आँशु बनाएर मसी
चरक्क चिरेको हृदयको पानामा
चर्केको घामको प्रताडना खेपेर लेखी कविता
अलिकति विछोडको
अलिकति मिलनको
अलिकति खुशीको
अलिकति दु:खको
समग्रमा आफ्नैबाट बेचिएर आएको प्रवासी जिन्दगीको
प्यास नमेटिने नुनिलो पानीको भण्डार
नीलो रङ आकाशको जस्तै
विशाल विराट नीलो सागर
झट्ट हेर्दा उस्तै देखिन्छ
मेरो देशको मेची र कालीको पानीजस्तै
मेरो देशको आकाश
पहाडसँग जोडिएको देख्थे
यता अरुको देशको परदेशी आकाश
पानीसँग जोडेको देख्छु
आकाश उस्तै छ
बग्ने बतास पनि उस्तै छ
मान्छेभित्र बग्ने रगत पनि सबैको उस्तै छ
हेर्ने आँखा, सुन्ने कान
सबै-सबै उस्तै-उस्तै छ
र पनि उनको देशमा आयातित सस्तो श्रमजीवी मान्छेसँग
पहाडझैं अग्लो विभेद
निक्कै ठूलो छ
मनभित्र गुम्सेको गुनासो पोख्ने
न भरपर्दो ठाउँ छ
न सुनेर सुनवाई गर्ने मान्छे भेटिन्छ
खण्डित भएको छ भाग्य
सौभाग्यको रेखा मेटिएको छ
दुवै हातको हथेलीबाट
गैंती र बेल्चाको सुमधुर स्पर्शले
सिफ्ट चेन्ज हुँदा पाउने छुट्टी
बडा दशैंको अष्टमीजस्तै
एक हुल दौँतरी सँगैको एक दिवसीय यात्रा
उही विराट समुद्रको छेउ
सागरको साथ किनारमा
पल्टेर बालुवामा कोरेको आर्को एक हरफ कविता जीवनको
बताससँगै बत्तिएर आएको
सागरको लहरले क्षणभरमै
नाम निशाना मेटिदिन्छ
खिन्न हुन्छ मन
फेरि
लेखिहेर्छु फेरि आफ्नै जीवनको कविता
अनिदो रातको सन्नाटामा
अदृश्य मनको भित्ताभरि
म रहरले भास्सिएको होइन परदेश
दैवी प्रलयको प्रकोप
घरभरि पहिरो बनेर पस्यो
पहिरोसँगै केही परिवारको सदस्य बग्यो
हिलोसँगै हिलो बनेर
मेरो गाउँ पहिरो हो कि पहिरो मेरो गाउँ
छुट्याउन सकिनँ
भूमिहीनको दाग लाग्यो, बनियो सुकुम्बासी
ऎलानी जग्गामा ठड्याएको
सानो टहरामा देखेका सपनाहरू
हजारौं माइल टाढा आइपुगेर
सपनाहरूको भारी बोक्ने भरिया
बनेको छु
समयसँग उधारो लिएका सपनाहरू
थाहा छैन
पूरा होला या नहोला
निरन्तर छ यात्रा जारी
शाश्वत मृत्युको गाउँ छेउ नपुगेसम्म ।
पाँचखाल, काभ्रेपलान्चोक
हालः लिमासोल, साइप्रस
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।