केही दिनअघि बाको मुख हेर्ने दिन थियो । अब सोह्र श्राद्ध सुरु भएको छ । बितिगएको पितृको नाममा श्राद्ध गरिने छ । मेरो बा हुनुहुन्न । सायद सोह्र श्राद्ध लागेकोले होला, बालाई सपनामा देखेको थिएँ । सपनामा देख्दै गरेको बालाई भेट्न पाएर सपनामा नै कति खुसी र हर्षित भएको थिएँ भन्नेकुरा खुसीको आँसुले भिजेको सिरानीले बिहान बताउँदै थियो मलाई । बाले हामीलाई छोडेर जानुभएको ३५ वर्ष भइसकेको छ । छोडेर जानुभएको समय र मेरो बाले बाँचेको जिन्दगी जोड्न पाएको भए ७० वर्षका हुने थिए अहिले मेरो बा ।

बासँगको धमिलो सम्झनाहरुलाई उहाँसँगै हुर्केका उहाँको पुस्ताको साथीहरुसँग हुने भेटले बाको यादहरु आँसु बनेर आँखाबाट बर्सिदिन्छ । ठ्याक्कै मेरो बा कस्तो हुनुहुन्थ्यो म एक्किन साथ भन्न सक्दिनँ । बाको एउटा पनि तस्बिर छैन हामीसँग । हामीबाट बाले सदाको लागि छोडेर जाँदा सानै थिएँ म ।

बासँगैको केही साथीहरु हुनुहुन्छ गाउँमा । अझै धेरै लामो जिन्दगी र दीर्घायुको लागि उहाँहरुलाई धेरै शुभेच्छा छ मेरो । उहाँहरूले भन्ने गर्नुहुन्छ कहिलेकाहीँ हुने भेटमा, ‘यस्को अनुहार त ठ्याक्कै काटिकुटी बाउ चाहिँको जस्तो ।’

म कल्पना गर्छु । मेरोजस्तै अनुहार अनि मेरो बाका साथीहरूजस्तै ७० वर्ष उमेर भएको पाक्को मान्छेको चित्र कोर्छु मनको सुन्दर क्यानभासमा । अनि कल्पिन्छु मेरा बाको बारेमा, ‘रे’ नै ‘रे’का धेरै कथाहरूको थुप्रो मात्रै लाग्छ ।

देशमा राणाको अन्त्य भएर प्रजातन्त्र जन्मेर हुर्किँदै गर्दाको सालतिर मेरो बा जन्मेका रे ! प्रजातन्त्र ,राजा, राणासँग केही साइनो छैन मेरो बाको जन्मसँग । संयोगले मात्रै हो । फेरि त्यति धेरै हैसियतले सु-सज्जित परिवारबाट के पाएर हुन्थ्यो र हामी । उहीँ हात- मुख जोर्न धौधौ थियो भन्नुहुन्थ्यो आमाले । मेरो बा उहाँको आमा-बाको जेठो छोरो । भाइ र बहिनीको जेठो दाइ । टोलभरिको समान उमेरका मध्यमा जेठो साथी थियो रे ! बाले औपचारिक शिक्षा कहिल्यै लिन पाउनु भएन रे । पाउनु पनि कसरी स्कुल नै थिएन रे त्यो हाम्रो ठाउँमा ।

सुशील लामा

साथी भाइको लहैलहैमा लागेर मेरो बाको बाले लाहुर जाने दुस्साहस गर्नु भएछ । त्यो बेलाको लाहुर जाने भनेको भारत । मेरो बाजेले लाहुर जान भनेर लगभग एक हल राम्रो उब्जनी हुने जमिन केही सय रुपैयाँमा पल्लो गाउँको एकजना व्यक्तिलाई धितो राखेर पुरै इष्टमित्रलाई बोलाएर भोज-भत्तेर गर्दै हिँड्नु भएको रहेछ ।

वि.सं. २०१७ नेपाली इतिहासमा एउटा चर्चित साल । त्यहीँ साल लागेका रहेछन् मेरो बाको बा लाहुर । त्यो बेला मेरो बा ७ वर्षको मात्रै भएको थिए । बाको बैरगमन पछि, परिवारमा निक्कै संकटहरु आउनु अस्वभाविक कुरा भए । त्यसैले थुप्रै संकटहरुलाई मध्यनजर गरेर एक जना टाढाको आफन्तको सहयोगले मेरो बा र बाको आमा हजुर आमा काठमाडौं आउनु भएछ । काठमाडौं आएपछि केही समयको अन्तरालमा हाम्रो उतैको प्रतिष्ठित संभ्रान्त वर्गका व्यक्तिको घरमा घरेलु कामदारको रूपमा हाजिर हुनु भएछ । हजुर आमा र मेरो बा दु:ख-सुख गरेर समयले ल्याएको हरेक पलहरुसँग सम्झौता गर्दै अघि बड्ने क्रममा बाले गाउँ फर्कने निधो गर्नु भएछ । आफ्नो भएको अलिअलि जग्गाजमिनको हेरचाह गर्नको लागि भए पनि जानु नै पर्ने थियो रे बालाई बाध्यता । बाउ-बाजेको बिरासत थेग्नु पर्‍यो । बाउ लाहुरमा म हुर्केको छोरो आमासँगै सहरमा रहने हो भने भविष्य कता पुगेर विसर्जन हुने हो भन्ने पिरलोले बा आफ्नै गाउँ फर्कनु भएछ । गाउँमा फर्कियो बस्ने कोसँग ? बा लाहुरमा लाहुरे बनेर नाप्दै होलान् जिन्दगीको दूरी । आमा सानो भाइ सानी बहिनीसँग काठमाडौं सहरमा दुखजेलो गरेर जिउँदै जिन्दगी । बा १०-११ वर्षको अल्लारे फुच्चे । आफ्नो पहिले बस्ने गरेको जीर्णघर नजिकैको आफ्नै नजिकको आफन्तले पिँढीमा चौपाया राख्ने गोठ बनाई सकेको । चोटाभरि सुकेको घाँस-पात राखेर घुर्‍यान घर बनाइसकेको थियो ।

मेरो बा सुरुको दिनहरूमा त्यहीँ आफन्तको घरमा बस्नु भयो रे । आफूले सक्ने जत्ति काम गर्दै एक पेट गाँस र बस्नको लागि बासको निम्ति । क्रमशः ती नजिकको आफन्तको व्यबहारमा परिवर्तन हुँदै जाँदा मेरो बा कसैले नदेखुन् भनेर अध्याँरो रातहरुमा रुनुहुन्थ्यो रे । जन्माएर सुनौलो भबिष्यको जिम्मा लिएको आफ्नै बाले त चटक्कै छोडेर छोराछोरीको मतलब राखेन भने टाढाको मान्छेले के खाएर ख्याल राख्थ्यो र ! मेरो बाको जिन्दगीका १०-१२ वर्ष गाउँकै टाढाको नजिकको आफन्तको घर-घर चहार्दै बिताउनु भएको थियो । एक पेट भातको लागि डुल्दा-डुल्दै कसैले हेपेर कसैले माया गरी टोपलेर पटकपटक नेपाली शब्दकोशको अलोकप्रीय शब्द भात्ते उपनाम लाई निरही बनेर स्वीकार्नुको विकल्प आखाँको डिल हुँदै झर्न खोजेको आँसुलाई थुकमा परिणत गरेर गुटुक्क निल्दै खिस्स हासेर टार्नुहुन्थ्यो रे भन्ने कुरा सुनाउनु हुन्थ्यो आमाले । बाले आमालाई सुनाएर होला आमाले मलाई सुनाउनु भएको ।

अझै हुनुहुन्छ काठमाडौंमा संभ्रान्त परिवारका अमुक वर्गको मान्छेहरु । उहाँहरुको लागि ५०-६० कि.मि टाढाको ठाउँ हाम्रै गाउँदेखि प्राङ्गारिक मलद्वारा उत्पादन भएको भएको कृषि जन्य वस्तु बोकेर दुई खुट्टे धुवानी सेवा दिनुपर्ने हुन्थ्यो रे । मिठो एक पेट भोजन र एक सरो न्यानो कपडाको लागि ।

दुःख र पीडाको खोपिल्टोहरुमा खस्दै निस्कदै चुनौतीपूर्ण सकसको कठोर छालहरुलाई पन्छ्याउदै । जिन्दगीको खेलमा हारेर पनि जितेको खेलाडिको अभिनय गर्दै बाँच्दै,हाँस्दै,रुदै समयसँग निरन्तर बगिरहेको थियो बाको जिन्दगीको यात्रा । कठै भन्ने बा-आमा साथमा नभएपछि परको मान्छेले एक दिन देला साथ अर्को दिन त देखाइहाल्छ नि असलीरुप । माया निख्रेर निरमाया बनिसकेको नजिकका टाढाका प्रीय-अप्रीय आफन्तहरुको सतिसालजस्तो कठोर व्यवहारबाट रगताम्य भएर ढल्न लागेको मन बोकेर हिँडिरहेका मेरो बाको जिन्दगीमा गाउँकै आफूभन्दा उमेरले जेठो दाइ साथीको साली मेरी आमासँग भेट हुन पुगेको कुराको दसि र प्रमाण हो मेरो जिन्दगी ।

संयोगले भनौं दैवको लेखा । अलपत्र मेरो बाको जिन्दगीमा आमाको आगमन लगभग अकल्पनीय संयोग । मेरी आमाको माइतीघर मेरो गाउँदेखि १०-१२ किलोमीटर टाढा पर्छ ! भनिन्छ नि लेखेको मेटेर मेट्न सकिँदैन भनेर । हो रहेछ जस्तै लाग्छ मेरो बा र आमाको प्रेम कथा सुन्दा । मेरो बा घरबारविहीन जस्तै रातको रात छल्न र एक पेट खानाको लागि यताउता भौतारिनु पर्ने । मेरो आमाको भने ठिकठाकै घरपरिवार ! मिलेको व्यवस्थित भएको । बा-आमा दिदीबहिनी सबै मिलेर बनेको सुन्दर परिवारको ।

आमाको दिदी पर्ने मेरो गाउँमा पहिल्यै आइपुगेको हुनाले नै आमा र बाको भेटघाट सम्भव भएको थियो । भेटघाट भयो । बाको बारेमा सबैकुरा थाहा भयो आमालाई । बालाई स्वीकार्नु भएछ । अर्थात् प्रेमको साथ उत्रेको अभाव र गरिबी नामको चुनौतीसँग लड्न तयार हुनु भएछ मेरो आमा ।

चिना हेरेर पञ्चेबाजा बजाएर रित पूरा गरेर बिहे गर्न सम्भव थिएन । सायद मेरो आमाको भाग्यमा लेखेको त्यस्तै भएर होला । फकाइ अनि पछि भगाए बिहे गरेर सुख-दुःख बाँडेर जिउने सपथ खाएर जिन्दगीको सुरुवात गर्नु भएछ । बिहे गरेर आउँदा कम्ता रोचक थिएन रे घटना । जन्ती बनेर गएका बाको साथीहरु आमाको लागि साथी आमाको दिदी । आमालाई बेहुली बनाएर ल्याए तर भित्र्याउने कहाँ ! परेको थियो रे फसाद । आमालाई सम्झाएर पहिला तिमी नजिकको आफन्त हाम्रो घरलाई गोठबनाउने कोमा भित्रिने अनि बिस्तारै व्यवस्थित भएर पछि आफ्नै घरमा सर्ने भन्दा मेरो आमाको कडा जवाफले सबै दङ्ग परेको थिए रे । मलाई जहाँ भनेर ल्याको त्यहीँ भित्र्याऊ, चाहे ढुङ्गाको ओडार होस् या रुखको छाहरी ! बस्नेघर गोठ बनिरहेको छ कसैको । सुत्ने चोटा मुसा र बिरालोको रंगशाला बनेको छ बिना फोकटको ।

आमाको कुरालाई आत्मासाथ गर्दै सबै मिलेर सरसफाइ गरी आफ्नै घरमा भित्रिनुभो आमा । खाली चोटा चिसो भुइँ चोटाको एउटा कुनामा सिलामा भेटेकोजस्तै दुई-चार डोको मकैको कुन्यौ , अर्को कुनामा सानो घ्याम्पोको आधाउधी भटमास आदि आदि साथमा खरको धुरीमा बिचल्ली भएको एक हुल मुसाहरु ।

बडो संघर्षको साथ आरम्भ गर्नुभएको थियो यात्रा जिन्दगीको बा र आमा मिलेर । आमाको आगमनपछिको दिनहरु क्रमशः राम्रो हुँदै गए । साथमा साथ मिलाएर बडिरहे अघि । बिहेको केही वर्षपछि म जन्मिएँ । मेरो जन्मले अझ उमङ्ग थपिदै गयो उहाँहरुको जिन्दगीमा । मज्जाले चलेको थिएन चलाको थियो जिन्दगीलाई । बिस्तारै सहज हुँदै गएको मेरो परिवारको खुसी सायद दैवलाई राजी थिएन जस्तो लाग्छ सम्झेर ल्याउँदा । बिहे भएको केही समयपछि म जन्मेँ । म जन्मेको केही समयपछि बालाई अदृश्य ठूलो रोग लाग्यो । के रोग लागेको थियो ? रहस्यको गर्भमा सिमित रह्यो सदाको लागि । त्यो रोगलाई त्यो बेला बेलैमा राम्रो डाक्टरले उपचार गर्न पाएको भए मेरो अनुमान बाँच्ने थिए सायद । तर त्यो बेला मेरो बाको उपचारको निम्ति सबैथोक धामी- झाक्री भैदियो । नचाहेर होइन नसक्ने भएर ख्याल ख्यालको बालापनको बालकको खेलजस्तै भयो मेरो बाको जिन्दगी । ठुला सहरको ठुला हस्पिटलको ठूलो डाक्टरको बदला रिट्ठे र बिजुवा धामीले जोगाउन सकेन बाको जीवनलाई । हुनु त उहाँको आयु नै त्यति होला ।

बा बिते, आमा बिधुवा हुनु भो । भर्खरको उमेरमा । बासँगै मर्छु भनेर गरेको कोसिस नजिकका आफन्तले असफल पारिदिएकाले बा गुमाए पनि मेरो जीवनले केही वर्ष आमाको साथ गुमाउनु परेन । बा बितेको १३ वर्षपछि आमाले पनि साथ छोडे । आज मसँग सिङ्गो म छु । अनि मेरो जिन्दगी ! मेरो प्रीय बा र आमा छैनन् । उहाँहरुको लागि हिजो केही गर्न सकिन । मबाट सम्भब थिएन ! आज सक्छु केही गर्न तर उहाँहरु हुनुहुन्न ।

मन दुखेर आउँछ । दुखेको मन आँसु रुप धारण गरेर श्रावण बनी बर्सिदिन्छ दुई नयनको बाटो हुँदै । बिर्सिन नसकेको तर अलि-अलि सम्झना भएको मेरो बाको कठोर संघर्षको कथा आँसुको मसी बनेर मेरो मनको बाटो हुँदै शब्दको रुप धारण गरेको छ ।

मृत्युपश्चात् लोकमा लोकलाई देखाउने लोकचार गर्नुको साट्टो जिउँदो हुँदा सेवा गरेको जाती हो जस्तो लाग्छ बा-आमाको । आफूबाट छुटेर टाढा पुगेपछि पछुतो मान्नुको साटो आफूसँगै हुँदा प्रेम गरौँ बा-आमाको ! श्रद्धासुमन बा !