मौनतालाई छिचोल्दै फेरि, शून्यतामा हराएको छु।
बाहिर मौन रहे पनि, भित्रभित्रै कति कराएको छु।

सपना देख्नु गल्ती, या विपना अँगाल्न नसक्नुको,
विपनालाई सपना, सम्झेरै पनि त म बर्बराएको छु।

खै कहाँ पुगी टक्क रोकिएला, जिन्दगीको यात्रा यो,
रोकिन नपाई यात्रा नै सकिन्छ कि, भन्दै डराएको छु ।

मेरो मनभित्र चलेको हावाहुरी, तिमीले के देख्थ्यौ र ?
भनूँ कसरी ? कति बिघ्न गरी, मन शान्त गराएको छु ।

लौ भगवान्, मेरो सपनाको जिम्मा तिमी नै लिइदेऊ है,
मेरो त के भर ? आज हो कि भोलि भन्दै, धर्मराएको छु।