यो जीवनको लत, तिमी मेरो बानी भैदिनु है माया
नबिझाऊन् परेलीले आँखाको नानी भैदिनु है माया

झगडा होला हामीबीच कहिलेकाहीं बुझिदिनु तिमी
म त सधैँ आगोजस्तै छु, तिमी पानी भैदिनु है माया

यो नियात्राको अन्त्य कहाँ पुगी सकिएला था’छैन
अधुरो जिन्दगीको तिमी पूर्ण कहानी भैदिनु है माया

भविष्यको चिन्ताले अनिदो रात भएर गुज्रँदा म
आनन्दको एक निद्रा मिल्ने सिरानी भैदिनु है माया

होस् तिम्रो मेरो प्रेमको एउटा सुन्दर संसारको राज्य
म राजा प्रेम नगरीको तिमी मेरी रानी भैदिनु है माया

भक्तपुर