सुन्नीले सोस्छ इराकमा
हमासले खोस्छ गाजामा
हाम्रै तातो रगत

खाडीले लग्छ कहिले
बाढीमा बग्छ कहिले
हाम्रै उर्वर पसिना

भारतले चिन्छ बरू
ब्रिटेनले लिन्छ बरू
हाम्रै निर्भय बहादुरी

युरोपमा भासिन्छ केही
जापानमा मासिन्छ केही
हाम्रै सीप र सामर्थ्य

रगत अन्तै चढाउन
पसिना अन्तै बगाउन
पाखुरी अन्तै बजार्न
दक्षता अन्तै लघार्न
मूल्यहीन हो हाम्रो जीवन ?

पासपोर्ट बनाउने उमेर नपुगेर
घरमै रोकिएको किशोर
कराउँछ जब आँगनमा निस्केर-
‘घुस नखाओ न ए !
देश जोगाओ न ए !’
ड्याङ्गै पड्किन्छ बन्दूक

स्वाट्टै छेडिन्छ टाउको
डङ्ग्रङ्गै ढल्छ भुइँमा
ह्वाल्लै पोखिन्छ रगत
जता फर्के नि काल
यो कस्तो जञ्जाल !
पोखिएरै सिद्धिन
बनेको हो हाम्रो रगत ?

के हामी
नफक्रँदै झर्नलाई जन्मेका हौँ ?
के हामी
जम्माजम्मी मर्नलाई जन्मेका हौँ ?