काभ्रेपलाञ्चोक, नेपालमा जन्मनुभएका प्रकाश सापकोटा लेखक तथा पत्रकार हुनुहुन्छ । विभिन्न विधामा कलम चलाउँदै आउनुभएको उहाँको ”आस्था ओढेको मन”उपन्यास पहिलो कृति हो । उहाँ ‘सफल आवाज डट कम’का युरोप संयोजक हुनुहुन्छ भने ‘अनेासास दर्पण’का सम्पादक हुनुहुन्छ । नेपाल दूतावास, डेनमार्क र गैर आवासीय नेपाली संघ डेनमार्कबाट साहित्य र पत्रकारितामा  पुर्याएकाे याेगदानका लागि विभिन्न समयमा  फरक फरक  संघसंस्थाबाट प्रशंसा र सम्मान  प्राप्त गर्नुभएकाे छ । 

प्रस्तुत छ,  कवि तथा सम्पादक प्रकाश सापकाेटासँग साहित्य र समसामयिक अन्य विषयहरूमा केन्द्रित रही साहित्यपोस्टका लागि साहित्यकार एवं अनेसासका वरिष्ठ उपाध्यक्ष तथा साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक सर्वज्ञ वाग्लेले गरेको संवादको सम्पादित अंश:

व्यस्तताका बीचबाट अध्ययन, लेखन र प्रकाशनलाई कसरी समय मिलाउनु हुन्छ ? 

हेर्नोस्, समय व्यवस्थापन महत्त्वपूर्ण हुँदो रहेछ । समय त आफ्नै गतिमा दौडिन्छ । त्यसको गतिलाई आफ्नो व्यस्तताको गतिसँग तालमेल गराउने सङ्घर्षपूर्ण अभ्यास गरिरहेको हुन्छु । प्रवासको बाध्यात्मक एकसरो काम त गर्नै पर्यो, गर्छु । फुर्सद निकालेर त होइन, तर निस्केको फुर्सदमा पढ्छु । अचेल प्रविधिले पनि पढ्न सजिलो बनाएको छ । पढ्ने सामग्री हरदम गोजीमै बोकेर हिँडिरहेकै हुन्छु। सप्ताहान्त र लामो छुट्टीका बेला खोजेरै किताबहरू पढ्छु । साहित्यिक पत्रिका र बेला बखत स्मारिका, विशेषाङ्कहरू सम्पादनको अवसर पाउँदा लिन्छु । सम्पादनका दौरान विविध रचनाहरू पढ्न पाइन्छ नि !

मौका पर्यो कि घुमघाममा निस्किने बानी मेरो । यसो लामो यात्रामा निस्कँदा गाडी हाँकिरहेका बेला साहित्यिक अडियो सामग्रीहरू सुन्छु । घुमफिरकै मेसोमा कति कुराहरू फुर्छन्, लेख्छु । फुर्ने खास स्थान र समय त हुँदैन, जहाँ जे फुर्छ त्यो मोबाइलमा टिपिहाल्छु । पछि एकान्तमा बसेर पूरा गर्छु । प्रकाशनका लागि कसैले माग्नुभयो भने सहर्ष पठाउँछु । आफैँ आबद्ध माध्यममा आफ्नै रचना प्रकाशन गर्न चाहिँ मन लाग्दैन मलाई ।

साहित्य,आत्मा र प्रकृतिलाई तपाईं कसरी हेर्नुहुन्छ ? जीवनको परिभाषा दिनु पर्यो भने कसरी दिनुहुन्छ ?

असल साहित्यको माध्यमबाट जीवनलाई अझ गहिरोसँग चिन्न र बुझ्न सकिन्छ । बेचैन जिन्दगीलाई अध्ययनले एकाग्रतामा लैजान्छ, आत्मशान्ति बढाउँछ भने साहित्यिक अभिव्यक्ति आत्मसन्तुष्टि प्रदायक बन्न सक्छ । फेरि प्रकृतिबिना जीवन र जीवनबिना अरू कुराको त कल्पनै नहुने भैगयो । तसर्थ यी अन्योन्याश्रित छन् जस्तो लाग्छ ।

जिउने क्रममा आइपरेका सबै परिस्थितिलाई आफूमा समाहित गर्दै कतिपय भेटिने त कतिपय नभेटिने गन्तव्यका खातिर हिँडाइको गतिशील पदचाप नै हो जीवन । जहाँ गएर त्यो पदचाप रोकिन्छ, त्यहीँ जीवन सकिन्छ ।

तपाईंलाई जाँगरिलो कवि, उपन्यासकार भनूँ या पत्रकार ?

जाँगरिलै भन्नुभए हुन्छ ! आफ्नो पायकमा साहित्यिक कार्यक्रम र गतिविधि हुँदा जाँगरिलो उपस्थिति जनाउँछु । जाँगरका साथ रचनाहरू ग्रहण गर्छु र प्रस्तुत गर्छु । रुचि र दखलको कारणले पहिलो कृतिका रूपमा उपन्यास लिएर आएको हुँ । केही दर्जन गीत-गजलहरू छापिएका र दर्जनकै हाराहारीमा रेकर्ड भएका छन् । कविता, मुक्तक, लघुकथा, बाछिटा पनि फाट्टफुट्ट लेख्छु । पत्रकारितामा पनि कतै न कतै जोडिइरहेकै छु । त्यसैले ‘कार’ नभनेर बरु स्वतन्त्र लेखक वा ‘सर्जक’ भन्दिनु भए पनि भो !

साहित्य लेखन, अध्ययन, चिन्तन र मनन सबैको सन्तुलनले नै मानिसलाई उचाइमा लान्छ भन्ने कुरामा कत्तिको विश्वास गर्नु हुन्छ ? 

उचाइ केलाई भन्ने, कतिलाई मान्ने ? ‘चर्चाको शिखर’ भनेजस्तो कुराका लागि हो भने कुरा बेग्लै हुन्छ । प्रविधिको यो जमानामा अचेल छिनछिनमा ‘भाइरल’ प्रस्तुतिहरू देख्न, सुन्न र पढ्न पाइन्छ । चर्चाकै शिखरमा पुग्ने भिन्नै सूत्र हुनसक्छ । उचाइ चढ्ने भन्दा पनि सार्थकतामा जम्ने कुराको भर लाग्छ मलाई चाहिँ । अध्ययनले ज्ञान खँदिलो बनाउँछ र लेखनलाई तिखार्छ । चिन्तन-मननले परिपक्वता र कमी कमजोरीको न्यूनीकरणमा मदत पुर्याउँछ । यिनीहरूको सन्तुलनले एउटा सर्जकलाई सार्थकताको बलियो जगमा चाहिँ उभ्याउँछ भन्छु म ।

तपाईंका कविता बेजोड छन्, राम्राे कविता लेख्न के गर्नु पर्छ ?

‘बेजोड’ शब्द भारी छ । त्यो मेरो थाप्लोले अलिक थेग्दैन । राम्रो लेख्न चाहिँ प्रयास गर्छु, र आफैँलाई राम्रो नलागे सम्म आफूले लेखेको अरूलाई देखाउन्न/सुनाउन्न ।

लेख्छु भनेर मात्र हुँदैन । लेख्छु भनेर लेख्न बस्दैमा आउँदैन पनि । लेख्न बस्नुअघि लेख्न खोजेको विषयमा चाहिँदो ज्ञान हुनुपर्छ । सतही ज्ञानले लेखाइलाई पनि सतही बनाउँछ । तसर्थ लेख्न चाहेको विषयमा गहिरो खोज र मन्थन गर्नुपर्छ । बिम्बात्मक शिल्प र मीठो भाषा शैलीले लेखनलाई सुन्दर बनाउँछ भन्ठान्छु ।

तपाईंले लेखन प्रेरणा को बाट पाउनु भयो ? 

गाउँमा जन्मेपछि लेख्छु भन्नेका लागि प्रकृति र पर्यावरण नै प्रेरणाका पहिलो श्रोत हुँदा रहेछन् । त्यसपछि साथी सङ्गाती, विद्यालयका अतिरिक्त क्रियाकलाप, प्रतियोगिताहरूमा पाएका स्थान हुँदै राष्ट्रिय स्तरमा चिनिएका लेखकहरूसँग ठोकिन पुगेपछि मेरो लेखनले निरन्तरता पायो । राष्ट्रिय स्तरका लेखकका आँखा पर्ने गरी लख्न सक्ने भएछु भन्ने जनाउ, अनि पहिलो पुस्तक प्रकाशनसम्मको स्थितिमा पुग्ने प्रेरणा चाहिँ आदरणीय कवि मञ्जुलबाट पाएँ । मेरी जीवनसङ्गिनी निरूताले पनि ‘राम्रो लेख्नुहुन्छ’ भनिदिन्छिन्, फुरुङ्ग हुन्छु र लेख्ने प्रेरणा पाइरहन्छु ।

खाली समय कसरी बिताउनु हुन्छ ?

भ्रमण गर्न औधी मन पराउँछु। विशेष गरी ऐतिहासिक महत्वका ठाउँ र अझ बढी प्राकृतिक सुन्दरताले मलाई बेस्सरी तान्छ । त्यसैले अलिक लामो फुर्सद पाएँ भने घुम्न निस्कन्छु । दिनदिनै मिल्ने सानातिना फुर्सदमा लेखपढ, सम्पादन र टेलिभिजनमा नेपाली रियालिटी सो, साहित्यिक तथा हास्यव्यङ्ग्यका कार्यक्रमहरू हेर्दै समय बिताउँछु ।

नेपालको साहित्यिक पत्रकारितालाई कसरी हेर्नु भएको छ ?

प्रविधिको विकास सँगसँगै नेपालको साहित्यिक पत्रकारिता फस्टाउँदो छ । नेपाली भाषा र साहित्यको प्रवर्द्धनमा यसको भूमिका राम्रो छ । साहित्यिक पत्रकारिताले देश-विदेशमा नेपाली साहित्यको अवस्था, स्तर र गतिविधिको जनमानसमा जानकारी गराउनुका साथै छरिएका साहित्य र साहित्यकारलाई साझा प्लेटफर्ममा एकत्रित गरेर मुट्ठीको तागत पैदा पनि गरिरहेको छ । तर, कतिपय साहित्यिक पत्रिकाहरूले स्तरको ख्याल गर्नुपर्ने देख्छु म । केवल भावनामा बहकिएका, प्रेम वासनामा लुटपुटिएका, वियोगमा गुनासा गरिएका जस्ता हल्काफुल्का अभिव्यक्तिलाई साहित्यिक भनेर प्रचार गरिदिँदा नेपाली साहित्यको स्तर खस्किन्छ जस्तो लाग्छ । नेपाली साहित्यिक पत्रकारिताले नेपाली परम्परा, कला, भाषा र साहित्यको उत्थानमा अहम् भूमिका खेल्न सक्छ र खेल्नु पर्छ ।

कस्तो साहित्यिक पुस्तक पढ्न मन पराउनु हुन्छ ? साहित्यकारले लेखेर बाँच्न के गर्नु पर्छ ?

साहित्यिक भन्ने नाउँमा क्लिष्ट र अक्करिला लेखाइमा मन जाँदैन । सरल, कलात्मक लेखाइ भएका यथार्थको नजिक रहेर समाजको ऐना देखाउने गरी लेखिएका साहित्यिक पुस्तकहरू पढ्न मन पराउँछु । गद्यमा कथा, उपन्यास पढ्न मन पर्छ । कविताका पुस्तकहरू पनि पाएसम्म पढ्छु ।

लेखक बाँच्ने नै लेखेर हो । राम्रो लेखक त सदैव बाँचिरहन्छ । भलै जीवनकालमा ऊ मरेर बाँचोस् ! मरेपछि पनि बाँचिरहने वर्गमा लेखकहरू पर्दछन् । तसर्थ, जीवनकालमा हण्डर खाएर पनि साहित्यकारले कर्म छोड्नु हुँदैन । लेखेरै जीविका चलाउन सक्ने माहौलका लागि चाहिँ साहित्यकार एक्लोले गर्नसक्ने भन्दा बाहिर पनि धेरै कुराहरू हुन्छन्, ती सबैको पहल जरुरी छ ।

साहित्यको मापदण्ड के हो ?

मापदण्ड नै निर्धारण गर्न त गाह्रो होला । तर, साहित्यका रूपमा स्थापित सामग्रीले कमसेकम समाजलाई सकारात्मक रूपमा केही दिन सकोस् । प्रस्तुतिको मर्म कालान्तरसम्म मर्न नपाओस् । त्यत्तिको भए साहित्यिक सिर्जनाको सार्थकता रहन्छ, होइन र ?

एउटा साहित्यकारको नाताले तपाईं नेपालको राजनीतिक जगतलाई कसरी नियालिरहनु भएको छ ?

मैले नियाल्नै छाडिदिएँ । जति नियाल्यो त्यति छिद्रहरू देखिने भए । तर, देश बन्न राजनीतिक स्थिरता र राजनेताहरूको मतिमा सुधारको आवश्यकता देख्छु । यो भन्दा बढी केही नभनौँ होला !

अहिलेको साहित्यमा विचार, युगचेतना, विश्वपरिवेश कसरी अभिव्यक्त भएको पाउनु  हुन्छ ?

नेपाली साहित्यको स्तर परिपक्व र अब्बल हुँदै आएको महसुस हुन्छ । धेरै लेखकहरू बिचारका हिसाबले पनि खारिएर आउनुभएको छ । नेपाली साहित्य नेपाली समाज भित्रका द्वन्द्व, विसङ्गति मात्रैबाट भन्दा माथि उठिरहेको छ । नेपाली लेखकहरूले युग चेतना र विश्व परिवेशलाई पनि साहित्यमा समेट्न थाल्नुभएको पाउँछु । नेपाली साहित्यकारहरू विश्वभर छरिएर रहनु र साहित्यिक संस्था र तिनका गतिविधिले पनि अन्तर्राष्ट्रिय फैलावट बनाउनुले नेपाली साहित्यको स्थान विश्व साहित्यमा कहीँ न कहीँ अङ्कित हुने दिशातिर बढिरहेको मलाई भान हुन्छ ।

पुरस्कार सम्मान र समालोचनाको अवस्था कस्तो छ नेपालमा ?

पुरस्कार, सम्मानले लेखकमा हौसला र थप जिम्मेवारी बोध गराउने हुनाले महत्त्व त छ । तर नेपालमा चाहे कला क्षेत्रमा होस् या साहित्यमा, समालोचना र सम्मान पुरस्कारको निष्पक्षतामा प्रश्न उठ्ने गरेको छ । भनसुन्, किनबेच र नाता-कृपावादमा बाँडिने पुरस्कार सम्मानले साहित्यमा योगदान पुर्याएको मान्न सकिन्न, बरु खिसिट्युरी गरेको ठहर्छ भन्ने मेरो मान्यता छ । त्यस्ता बाहेक निस्वार्थ, निष्पक्ष, निश्चल योग्यताको कडीमा अडिएर दिइने पुरस्कार सम्मान सीमित भएरै होला बेलाबखत विवाद र असन्तोषका आवाजहरू सुनिन्छन् । त्यस्तो किञ्चित हुनु हुँदैन ।

अहिले सम्म तपाईंको प्रकाशित र अप्रकाशित पुस्तकका बारेमा जानकारी दिनुहोस् न !

‘आस्था ओढेको मन’ उपन्यास (वि.सं. २०५९), ‘मनका आँखाहरू’ फोटो सहितका मुक्तकसङ्ग्रह २०६० प्रकाशित भइसकेका छन् । काभ्रेको पनौतीमा हरेक बाह्र वर्षमा लाग्ने मकर मेलाको जानकारी दिने उद्देश्यले तयार पारिएको ‘पनौतीको मकर मेला’ तेस्रो कृतिका रूपमा २०६६ सालमा छापियो ।  पत्रपत्रिका र अनलाइनहरूमा प्रकाशित भएका लेखहरूलाई सँगालेर एउटा पुस्तक तयार गर्न मन छ । यस बिचमा दुइटा फरक कथावस्तुमा उपन्यासका पाण्डुलिपि तयार थिए, आफैँलाई चित्त नबुझेर संशोधन गर्छु भन्दाभन्दै त्यत्तिकै रह्यो । केही वर्षको अन्तरालपछि अब अर्को एउटा उपन्यास नै लिएर पाठक माझ जाने योजनामा छु ।

डायस्पोरिक साहित्यका बारेमा तपाईंको धारणा के छ ?

डायस्पोराको नेपाली साहित्यमा सम्भावनाको सागर देख्छु । साहित्यिक पुस्तकहरू मगाएर, खोजेर भए पनि पढ्ने संस्कारको विकास भएको पाएको छु । पठन संस्कृतिको विकासले नै लेख्न धारिलो बनाउने हो । अझ, देशबाहिर हुर्किएका बालबालिकालाई नेपाली पढ्न र लेख्न सिकाउने अभिभावकहरूको विवेकपूर्ण लगावले डायस्पोरामा नेपाली साहित्य नयाँ पुस्तातिर पनि सर्दै जानेछ भन्नेमा आशा जगाउँछ । यो खुसी र गर्वको कुरा हो ।

भैरव अर्यालपछि नेपालको हास्यव्यङ्ग्य लेखनलाई कसरी हेर्नु भएको छ ?

नेपाली हास्यव्यङ्ग्य लेखनमा धेरै वर्षसम्म भैरव अर्यालकै नाम एकछत्र रह्यो । आक्कल-झुक्कल नयाँ हास्यव्यङ्ग्यकार नदेखिएका होइनन् । कोही झल्याकझुलुक देखिँदै हराए । नहराएकाहरूको पनि उचाइले भैरव अर्याललाई भेट्टाएन । त्यो बेलाको सिर्जना सङ्ख्यामा कम तर गुणात्मकतामा ज्यादा अब्बल थियो । पछि सङ्ख्याले जिते पनि गुणले उहाँका सिर्जनालाई भेट्टाउन नसकेर त्यस्तो भएको पनि हो कि ! त्यसो भन्दैमा नेपाली हास्यव्यङ्ग्य विधाले फड्को मारेन भन्ने चाहिँ होइन । समयक्रम सँगै हास्यव्यङ्ग्य लेखन भन्दा प्रहसनको माध्यमबाट प्रकट भयो र त्यसका शुभचिन्तक बढे । भिडियो, अडियो प्रविधिको विकाससँगै हास्यव्यङ्ग्य पढ्ने भन्दा पनि हेरेर, सुनेर मनोरञ्जन लिने हो भन्ने कुराले धेरै महत्त्व पाएर हास्यव्यङ्ग्यका लेखकहरू चाहिँ छायामा परेका हुन् कि जस्तो पनि लाग्छ । तथापि नेपाली हास्यव्यङ्ग्य विधामा भैरव अर्याल त अभिन्न छन् नै, पछि अरूबाट पनि योगदान भएका छन्।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजलाई कसरी हेर्नु भएको छ ?

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज विश्वभर छरिएर रहेका नेपाली साहित्यका अनुयायी र अनुरागी दुवै थरिका लागि एउटा साझा थलोको रूपमा पाएको छु । यसले विश्वभर आफ्नो सञ्जाल फैलाइरहेको पनि नजिकबाट देखेको छु । तर देशभित्र र बाहिरका थुप्रै अब्बल लेखकहरूले यो संस्थाप्रति दिनुपर्ने जति चासो नदिएको देख्दा संस्थाभित्र सच्याउन पर्ने केही कुराहरू भएर नै होला जस्तो लाग्छ । यसमा खासगरी केन्द्रीय समिति सजग र चनाखो हुनुपर्छ ।

अन्त्यमा पाठकलाई के भन्न चाहनु हुन्छ ?

सुरुमा तपाईंलाई यो अवसरका लागि धन्यवाद भन्न चाहन्छु ।

लेखकका लागि पाठकका तटस्थ प्रतिक्रिया नै सबैभन्दा उत्तम सम्मान र पुरस्कार हुन् । लेखकप्रति अनुग्रही र पूर्वाग्रही नभई पाठकले दिएको प्रतिक्रियाले लेखकलाई सही स्थानमा राख्दछ । मेरो हकमा पनि त्यही गरिदिनुहोस् । यहाँ मेरा धारणाहरू पढिदिनुहुने पाठकहरूलाई मेरो मनैदेखिको साधुवाद छ । मलाई saprakota@gmail.com मार्फत सुझाव दिनुहोला । नमस्कार !