
प्रकाश सापकोटा
आमा !
घाँसको भारीले
मुन्टो टेढो हुनेगरी
क्याच्चै नथिचोस्
खतै खत भएका औँलाहरू
हँसियाबाट जोगिऊन्
नाङ्गो खुट्टामा
ठेस् नलागोस् ।
प्रिया !
हस्याङ्फस्याङ् गर्दै
ट्वाक्कै समयमा पुगेको
जागिर स्थलमा
एक गिलास पानी पिउने
फुर्सद मिलोस्,
हाकिमका हप्कीदप्की,
सहकर्मीका निन्दा, धम्की
केही सहनु नपरोस् ।
प्यारा चेलीबेटी !
तिमीहरूले कसैको केही नबिगारिदिँदा
तिमीहरूको कसैले केही नबिगारिदियोस्,
नारी भएकै कारण नारी हुनुको
हिनताबोध, पीडाबोध नहोस्
तिमीहरूको फूल-मुस्कान
कसैको भोग-असिनाले नचुटोस् ।
मैले
सम्बोधन गरेका र नगरेका
ती आधा आकाशलाई
ती तमाम् धरतीलाई
नारी दिवसको शुभकामना !



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
