बा-
सन्तानलाई एक फाँको खुशी खुवाउँछन्
आफ्ना सपना बेचेर
बाँकी सपनाहरूका
गुन्द्री बिछ्याउछन्
सन्तानका जिन्दगीका चिसा छिंडीहरूमा
धुजा-धुजा पारिदिन्छन्
आफ्ना सयल र सुविस्ताहरू
सन्तानकै मार्काका छिद्रहरू टाल्न
सन्तान-
खुशीका फाँकोहरुले मोटाउँछन्
न्यानो छिंडीमा रमाउँछन्
न शोक न सुर्ता, न भोक न भकारी
हलक्क हुर्किन्छन्
फुरुक्क फुर्किन्छन्
बा –
खुसाए सन्तानकै लागि खुसाउँछन्
रिसाए सन्तानकै लागि रिसाउँछन्
आफू उब्जाउँछन् र सन्तानलाई चराउँछन्
आकाश खसेर आफूलाई थिचोस् बरु
उस्का पाइला चिप्लिएलान् भनी डराउँछन्
प्रदत्त अवसरको यान चढेर
सन्तान कता हराउँछन्, हराउँछन्
छाती अचानो बनाएर
बा- सन्तानको गुणगान गाउँछन्
कत्ति सपनाले तर्साउँछन्
बा- अविरल माया दर्साउँछन्
आफू काँडैकाँडामा टेकेर
सन्तानलाई एक फाँको खुशी खुवाउँछन्
आफ्ना सपना बेचेर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला