
घरमा हुँदा
घरमै थियो घर
घरबाट निस्कँदा
अघि-अघि निस्केर
बाटो छेक्न खोज्दै थियो
घरको मन
निस्केपछि
घर पस्यो थपक्क
र, बस्यो थचक्क
यो मनभित्र
र पो त…
घर बाहिर हुँदा पनि
मलाई दशैँ, तिहार चाहिन्छ
मलाई छठ, ल्होसार चाहिन्छ
झ्याउरे, सोरठी चाहिन्छ मलाई
देउडा, अनि झुमर चाहिन्छ
मादल, खैँजडी, पञ्चेबाजा …
खाकीको दौरासुरूवाल,
नेपाली मखमली च्यादर
अनि भादगाउँले, ढाका टोपी चाहिन्छ
र पो त…
घर बाहिर हुँदा पनि
मलाई दालभात चाहिन्छ
गुन्द्रुक-मस्यौरा चाहिन्छ
मम:, योमरी, समेबजी चाहिन्छ
गाजरको हलुवा चाहिन्छ मलाई
आमाको अचार र चुकौनी चाहिन्छ
रायोको साग, फर्सीको मुण्टा…
पीरो डल्ले खुर्सानी,
कोदाको रोटी र फापरको ढिँडो
अनि ताइचीनको चिउरा चाहिन्छ
घरबाहिर हुँदा मलाई
झन धेरै घर चाहिन्छ
मलाई … … …
मेरै धरती-आकाश चाहिन्छ
मेरै चन्द्र-सूर्य चाहिन्छ
किनकि-
घरबाहिर हुँदा पनि
घर सँगै हुन्छु म
जसरी हुन्छ आँगन !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
