आफन्त धेरै छन
हाँस्छन्, हँसाउँछन
म पनि मज्जाले रमाउँछु
हाँस्छु,अनुहारमा मुस्कान देखाउँछु
आफन्तको भीडबाट एक्लै हुँदा
सोच्छु,धरधरि रुन्छु
कसैलाई दोष दिन्नँ
आफ्नै जिन्दगीमा रमाउँछु।।

परबाट आउँदै गरेका आफन्त देख्छु
हत्तपत्त बाथरूम पस्छु
छलछली मुख धुन्छु
आँखाका आँसु पखाल्छु
आफन्तको अगाडि चिटिक्क पर्छु
आफन्तको बिदाईपछि
बाथरुमको ऐनासँग आँखा रसाउँछु
दोष कसैलाई दिन्न
आफ्नो कर्तव्यमा लागि रहन्छु।।

भान्सामा भात पाक्दा आफन्त आए भने
स्वागत गर्छु पाकेको सबै खुवाउँछु
उनीहरूको हाँसोसँग आफ्नो हाँसो साट्छु
उनीहरू हिँडेपछि खाली भाँडा हेर्छु
साँझ भोको बस्दिनँ भन्दै कर्म गर्न जान्छु।।

म लड्न परे एक्लै लड्छु भोको पेटसँग
तातो घामको गर्मीसँग
मलाई आफन्तको धेरै चिन्ता छ
उनीहरूको तिखा शब्दले मेरो छाती नचिरोस्
यति त म ख्याल गर्छु
रुनलाई त म सँग सिङ्गो संसार छ।।