सक्छु मैले हृदयले सगरमाथा छुन,
भन मैले के गर्नु पर्‍यो नेपाली हुन।

सम्झेको छु झलझली जहाँ भए पनि,
साउदी, कतार, मलेसिया दुबई गए पनि।
आफैँ लुट्न सकिएन आफ्नै देशमा बसी,
भाग्य लेख्न बगाउँदै छु पसिनाको मसी।

गुनासो त धेरै थियो, यत्ति कुरा सुन,
भन मैले के गर्नु पर्‍यो नेपाली हुन।

मेरा पुर्खा गएकै हुन् भारत, भुटान, बर्मा,
जहाँ गए पनि आफ्नो गरेकै छन् कर्म।
जोगाएर राखेका छन् आफ्नो भाषा, भेष,
बाँचेको छ युगौँदेखि भाषाभित्र देश।

हेर साँझ गगनमा एउटै हुन्छ जून,
भन मैले के गर्नु पर्‍यो नेपाली हुन।