हिजो बिहानैदेखि हजुरबा

बिरामी परे

हुन त

उनको बिमार पुरानै हो –

तर अघि-अघि भन्दा

छुट्टै रोगका लक्षण देखिए ।

 

अचम्म !

हजुरबाले मान्छेको काया झिकेर

असुर काया ओढे ।

उनी महिषासुर र,

कंसको स्वर

निकालेर चिच्याए ।

त्यो आवाजमा

यमराजको हाँसो

गुन्जिन थाल्यो

एका-एक उनले

हिंस्रक रूप धारण गरे ।

 

अनि, घरकै आँगनमा

खेलिरहेका, बोलिरहेका,

हाँसिरहेका, रमाइरहेका,

हावामा पुतलीझैँ नाचिरहेका

नाति/नातिनीहरूलाई

दैत्य-दारा निकालेर

झम्टिन पुगे ।

 

मसान आवरणका

ती हजुरबालाई

रोक्न खोज्दा खोज्दै

डोरीले खाँमोमा

बाँध्ने प्रयास गर्दा गर्दै

अहँ ! सकिएन ।

फुल्दै गरेका

इन्द्रेणी फूलरूपी

नानी/बाबुहरू

भागाभाग गरे

अन्तरकुन्तर खोजेर

बच्न खोजे,

 

अफसोस !

के सक्थे र ?

नरभक्षी हजुरबाले

एक-एक गर्दै

नाति/नातिनीहरू मारे र,

जिब्रो लपलपाउँदै

तिनैको रगत-मासु खाए ।

 

त्यसैले, आज घर शोकाकुल छ ।

हामी गहिरो शोकमा छौँ ।

त्यो नराधम रक्तपिपासुलाई

चौतारीमा चौखुर्‍याउँदै

आक्रोशको कुहिरीमन्डलमा

हामी आजदेखि

बरखी बार्दै छौँ ।

२०८२ साल भदौ २४ गते मंगलबार