चुरा फुटेरै सकिन्छ
पोते पनि त चुँडिहाल्छ
सिन्दूर बगेरै जान्छ
गाजल सुकेरै बिलाउँछ
यस्ता निर्जीव बस्तुसँग
तिमी किन आफ्नो सौभाग्य खोज्छौ
थाहा छैन,
मायाका यस्ता सस्ता परिभाषा
किन रोज्छौ
मनले परिभाषित गरेको माया
फुट्ने चुरा भन्दा कैयौँ गुना बलिया छैनन् र
पखालिने सिन्दूर भन्दा विश्वास धेरै बलियो हैन र ?
त्यसैले त
शास्त्रसँग पनि शास्त्रार्थ गर्न मन लाग्छ
सधैँ रातो पहिरनमा मात्र देखिने मेरी आमा,
तीजमा पानीको घुट्को नखाई पतिको दीर्घायु रोज्ने सासू आमा
कलिलै उमेरमा श्वेत वस्त्र धारण गरी मायाको लागी किन तड्पिन्थे होलान्,
यस्ता अनेकौँ प्रश्नले घेरिएर गर्भमै जेलिएका छन् ,
त्यसैले त स्वाभिमानको शृङ्गारले सजिन चाहन्छु म ,
मायाको छुट्टै परिभाषा रच्न चाहन्छु म
तिम्रा हरेक पलहरूको सारथी बन्न चाहन्छु म
म जस्तो छु त्यस्तै देखिन चाहन्छु
किनकि,
मलाई तिम्रो हृदयमा स्थान चाहिएको छ
दुनियाँलाई देखाउने सो -के – स मा होइन !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।