नेपाली साहित्यमा काव्यविधा अन्तर्गतको अत्यन्त सूक्ष्म सृजना मानिन्छ, ‘मुक्तक’ । मुक्तकलाई सबैभन्दा पहिला ‘अग्नीपुराण’ले परिभाषित गरेको ‘मुक्तक के हो र कसरी लेखिन्छ ?’ लेखमा डा. देवी नेपालले उल्लेख गरेका छन् । विश्व तथा अरबी हुँदै भारतीय साहित्यमा को कसले कसरी मुक्तक लेखे ? त्यो अलग्गै खोजको विषय हो । नेपाली मुक्तक इतिहासमा शक्तिवल्लभ अर्ज्याललाई प्रथम मुक्तककार भनिएको कुरा पनि डा. नेपालको सोही लेखमा छ । यहाँ, मुक्तकको परिभाषा वा नालीबेली उतार्ने जमर्को गरिएको होइन । मेरा अगाडि निकै दिनदेखि मलाई हेरिरहेको कल्पना काफ्लेकृत ‘अशान्त धड्कन’ मुक्तक–संग्रह छ । यसैलाई नियाल्दै मैले त्यत्ति कुरा भनेको हुँ ।

आज साहित्यमा आख्यान तथा गैरआख्यान विधामा कलम तिखार्नेको बाढी नै चलेको छ । यही कारण कवितालाई छोडेर मुक्तकलाई उतिसारो उम्दा विधा मानिंदैन । काव्यजगतका ‘गजल, मुक्तक, हाइकु र ताङ्का लेखेर साहित्यकार भइँदैन’ भन्ने एउटा समालोचकीय धार छ । यिनै विधामा कलम चलाउनेहरू भने एउटा आख्यान वा गैरआख्यानले दिने अर्थ, शक्ति वा सृजनाको उचाइ गजल वा मुक्तकले दिने दाबी गर्छन् ।

यिनै तर्क–वितर्कबीच पछिल्लो समय काव्यिक जगतमा मुक्तकभन्दा पनि सूक्ष्म बिरुवा उम्रिरहेका छन् । यिनलाई खुद्रा पसल मान्ने गरिएको छ । यस्ता खुद्रा पसलले ‘देशको काव्यजगतको धरोहरमा गजुर ठड्याउँदैन’ भन्नेहरू बग्रेल्ती भेटिन्छन् । लाग्छ– यस्ता तर्क–वितर्क, भनाभन सृजनाको आदि कालदेखि चल्दै आए । धर्ती-आकाश रहँदासम्म रहिरहलान् । समयक्रममा जे जस्ता विषय वा सृजना–विधामा विमर्श हुँदै आए पनि तिनले साहित्यिक रूखको एउटा हाँगोलाई जोगाइरहेका छन् भन्ने मेरो बुझाइ छ । साहित्यिक सभा–सम्मेलन र मञ्चहरूमा कविता, मुक्तक र गजलले ‘उधुम’ मच्चाइरहेको पक्ष पनि बिर्सिन मिल्दैन । यतिवेला, साहित्यिक वृत्तमा यही लघुविधा अन्तर्गतको ‘अशान्त धड्कन’ले चर्चा कमाइरहेको छ ।

– – – –

हृदयको स्पन्दन

‘अशान्त धड्कन’ सार्वजनिक कार्यक्रममा प्रा.डा. माधवप्रसाद पोखरेल गुरुले भन्नुभएको थियो, “धड्कन अशान्त नै हुन्छ र हुनुपर्छ । शान्त भयो भने त मान्छेको जीवन सकियो नि !”

यो मुक्तक–कृतिलाई ओल्टाइपल्टाइ गरिरहँदा म पनि स्मृति–प्रेमतिर फर्किएर अशान्त बन्दै गएँ– मैले पनि जीवनको कुनै खण्डमा मुक्तक लेखें होला । कुर्कुरे बैंसले कुत्कुत्याएको बेला स्कूले झोलाभित्र कति कापीका पानामा ती छरिएर, गुम्सिएर, थिचिएर र चेपिएर बसे । आफूलाई मन परेकी बाल–युवतीलाई ताकेर हानेका सृजनाका मट्याङ्ग्रा कति काम लागे-लागेनन् । त्यसको लेखाजोखा गर्ने समय गइसक्यो । देउरालीमा सुसेली हाल्ने जोवनका पीपलपातहरू कति झर्दै र पलाउँदै गए । आज तिनको थोरैतिनो अवशेष पनि बाँकी छ-छैन भन्ने आफैंले मेसो पाउँदिन ।

स्कूलले छाडेपछि र उमेरले उकालो चढ्दै गएपछि मेरो मुक्तक प्रतिको प्रेम छुटेछ । त्यसयताका धेरै वर्ष त्यसले मेरो हृदयको भुइँमा अंकुराउने आँटसम्म गरेन । उमेर टाकुरमा पुगेर फाँटको रमिता हेर्दैछ– ती फाँटमा अनेक सृजनशील बिरुवा छन् । ती अरू अरूलाई नै मैले मन पराएँ । जसै ‘अशान्त धड्कन’ मेरो अगाडि उभियो, शुरूमा मैले त्यसलाई खासै महत्त्व दिएको होइन । समालोचकीय फलैंचामा बसेर कृतिलाई ‘उम्दा’ र ‘कमजोर’ भन्नेहरू जस्तै मैले पनि मुक्तकलाई गहन सृजनाविधा मान्न छोडेको रहेछु तर अगाडि ठिङ्ग उभिएपछि नछामी बस्न सकिनँ ।

प्रथमतः मुक्तक–संग्रहको आवरणमा छरिएका बादलका टुक्राजस्ता आकृतिले मनलाई बिस्तारै तान्न थाले । म निकैबेर तिनै आकृतिमा घोरिंदै गएँ । तिनमा डुब्दै गएँ र आँखाले स्पर्श गर्दै गएँ । म तिनै बादलका टुक्राजस्ता भाव–लहरमा लहरिंदै कृतिभित्र प्रवेश गरें । अन्ततः बादलको देशमा बतासको बुई चढेर हराउँदै गएछु–

विवश पोखरेलको भूमिका ‘साझा भोगाइको प्रतिबिम्ब : अशान्त धड्कन’भित्र छिर्दै गर्दा लाग्यो– साँच्चै, मुक्तकले पनि हृदयको सारङ्गी बजाउँदो रहेछ र त्यहाँबाट एउटा आह्लादित धुन निस्किंदो रहेछ । अनि, चेतनाको मार्गमा वायुपंखी घोडाझैं बेतोडसँग उड्दो रहेछ । त्यो गुर्दौली फूलको बास्नाझैं मगमगाउँदो रहेछ । पोखरेलकै भूमिकाभित्र पसेर एउटा थुङ्गोले छरेको सुवास मेरो हृदयभित्र समेत प्रवेश गर्‍यो :

हरेक फूलको सुन्दर थुङ्गो हुँदैन

आमाको मन कहिल्यै ढुङ्गो हुँदैन

स्वार्थी, बेइमान र जाली मान्छेहरूको

कहिल्यै बोली र बचनको टुङ्गो हुँदैन

सृजनाका चार लाइनले यति शक्ति बोकेका हुँदा रहेछन् । म अहिले अनुभूत गर्दैछु । सानो छिनुले विशाल चट्टानलाई फुटाउने तागत राख्छ भनेजस्तै मुक्तकले साहित्यमा गह्रुँगो भार बोकेर हिँड्दो रहेछ । फराकिलो परिवेशलाई थोरै शब्दले अर्थपूर्ण बयान गर्न सक्ने । अनि, सृजनाको एउटा धारलाई अवच्छिन्न प्रवाह गराउने । मुक्तक मेशिनगन भित्रका साना–साना गोली हुन् । तिनले असीमित क्षेत्रमा आफ्ना साम्राज्य कायम गर्न सक्ने रहेछन् ।

प्रेम–विरह, मिलन–बिछोड र हाँसो–रोदन मात्रै होइन, समाजका विकृति, असमानता, राज्यद्रोह, देशप्रेम जस्ता फराकिला क्षेत्रलाई समेत सम्बोधन गरेर यी चार लाइनले गहकिलो अर्थ बोक्दा रहेछन् । विवश पोखरेलकै भूमिकाको चौतारीमा उभिएर यो मुक्तकले सृजनाको त्यही फराकिलो आयतन बोकेको छ :

मेरो माटो मेरो गौरव अप्ठ्यारोमा पार्न दिन्नँ

राता–राता जङ्गे पिलर एक इन्च पनि सार्न दिन्नँ

सगरमाथा शिरको टोपी साक्षी राख्दै कसम खान्छु

यत्ति बुझ्नू, जिउँदै म रहेसम्म मेरो धर्ती मार्न दिन्नँ

यी चोटिला हरफले मन हल्लाएपछि मैले कल्पना काफ्लेका मुक्तकभित्र अथाह शक्ति रहेछ भन्ने बुझें । यत्ति भएपछि, पोखरेलको भूमिकाभित्र धेरै अलमलिन परेन । फ्याट्टै त्यो खोल्सी तरेर म मुक्तककारको भनाइको डिलमा पुगें । त्यहाँ पनि धेरैबेर अडिइरहने मन भएन । सरसर्ती आँखा डुलाएर म फराकिलो तलाउमा डुबुल्की मार्न पुगें ।

– – – –

भाव–सरोवर र व्यंग्य

मुक्तकहरूको पाठले म झन्झन् अशान्त बन्दै गएँ । म छामिरहेको छु, ‘अशान्त धड्कन’लाई । यसमा घरदेखि शहरसम्म डुलेका प्रेमका नौरङ्गी पुतली छन् । यौवनको मुरली बजाएर नाचेका अनेकानेक नृत्य हेर्न पाइन्छ, हृदयका आँखाले । कति त बहुअर्थी छन्, तिनले समाजको पिंढीमा बसेर जवानीको खेला नियालेका छन् । यौवनको भोक तृप्त गर्ने कुतसित चाहनामाथि औंला ठड्याइएको छ । त्यहाँ, थाहै नपाई उड्दै गरेका र बत्तीमा डढेका पुतलीहरू भेटिन्छन् ।

यौवन, प्रेम, भोक र सुन्दरता यी जवानीका विशेषता हुन् । यी खजाना नभए पनि जीवनको के अर्थ ? भए पनि सम्हालेर हिंड्नु काँडाघारीको यात्राजस्तो । यही भाव-सरोवरमा तरङ्गित भएर सिर्जिएको मुक्तक–सँगालो हो, ‘अशान्त धड्कन’ । कतै आफ्नो भएर पनि आफ्नो हुन नसकेको मान्छे प्रतिको गुनासो छ भने कहीं लालित्यपूर्ण प्रेमको आग्रह झल्किएको पाइन्छ । सामाजिक स्वार्थको झाडीभित्र प्रेमको सौन्दर्य कसरी संरक्षण गर्ने भन्ने भावले एउटा स्वतन्त्रताको वकालत गरेको छ :

स्वार्थी दुनियाँ आफ्नै हितको मात्र प्रचारक छ

अखबारले लेख्दैन मेरो कथा हृदयविदारक छ

तिमीलाई दुई सर्कोमा तान्नु हुँदैन थियो गल्ती भो

बुझ्दैछु, सिगरेट स्वास्थ्यका लागि हानिकारक छ

यो मुक्तकमा प्रेम र वियोगको छनक पाइन्छ, जसले बहुअर्थ बोकेका छन् । तेस्रो हरफ ‘तिमीलाई दुई सर्कोमा तान्नु हुँदैन थियो गल्ती भो’ले अन्तिम हरफसँग गाँसिएर चुरोटले स्वास्थ्यमा पार्ने असरको सोझो अर्थ दिएको छ । अर्को, दुई दिने प्रेमिल सम्बन्धले जीवनलाई दुर्घटनातर्फ धकेल्छ भन्ने हो । अधिकांश मुक्तकमा ‘आँसु’ र ‘वेदना’का खिल निकै दोहोरिएर आएका छन् । यसले सङ्केत गर्छ– जीवनका आरोह-अवरोहमा उभिएका काँडेबारलाई भत्काएर, ह्याकुलाले धकेलेरै जीवनको राजमार्गमा कृतिकारले आफ्नो अविराम सृजनशील यात्रा कायमै राखेकी छन् ।

अर्कोतर्फ, समाजमा जोरी खोज्दै हिंड्ने मैमत्तहरू समयान्तरमा आफैं विलीन भएर जाने प्रवृत्ति उजागर गरिएको छ । मानवीय प्रवृत्ति र समाजप्रति तीखो कटाक्ष छ । त्यस्ता पुतलीजन्य प्रवृत्तिहरू निरन्तर बलिरहने बत्तीलाई हाँक दिन्छन् । समयान्तरमा ती आफैं डढेर सकिन्छन् तर लक्ष्य भेट्न हिंडिरहनुपर्छ भन्ने सन्देशमूलक मुक्तकले जो–कोहीमा ऊर्जा सञ्चार हुन्छ । समाजमा जमोट परेर खिया लागेको प्रवृत्तिलाई यो मुक्तकले यसरी झटारो हानेको छ :

मीठो बोल्दै आउँछन् र एकछिन रोकिएर जान्छन्

स्वार्थ पूरा नभएपछि बिनाकारण झोक्किएर जान्छन्

यस्तै हो कलियुगको जमानामा चित्त बुझाउनुपर्छ

पुतलीहरू आउँछन् र बत्तीमा ठोक्किएर जान्छन्

‘अशान्त धड्कन’भित्र परिवार, छिमेक, समाज र वर्गबीच गरिएका कित्ताकाट छन् । राज्यसत्तामा बसेर तर मारिरहेको उपल्लो चोटिको नाइकेको मनोमनीलाई उछितो काढिएको छ । भ्रष्टाचार, असमान्ता, व्यभिचार, शोषण र दमन समयको लिकमा हिँडिरहेका छन् । सत्ताले तिनलाई उपयोग गरेर अराजकता फैलाइरहेको छ । कृतिभित्र तिनै विरुद्धका आवाज बुलन्द रूपमा मुखरित छन् । परिस्थितिले घेर्दै ल्याएपछि मान्छे नचाहेरै विद्रोही बन्न पुग्छ । कति ठाउँमा कृतिकारको विद्रोह सृजनामार्फत प्रतिकारमा उभिएको छ ।

एउटा असन्तुलित र पथभ्रष्ट राज्यले स्वाभिमानी वर्गलाई सधैं सोझो र अबला ठानिरहेको हुन्छ । तथापि, भित्रभित्रै विद्रोहको झिल्को सल्किरहेको हुन्छ । तब, प्रतिकारको गुलेली व्यभिचारी सत्ताप्रति हुत्तिन्छ । निर्लज्ज सत्तालाई हिर्काएको अर्को सशक्त मुक्तकीय गुलेलीको नमुना हो, यो :

यात्रामा कतै उकालो भेटिन्छ कतै ओरालो भेटिन्छ

प्राप्तिको बादल पनि कतै सेतो कतै कालो भेटिन्छ

हेर्नुस् त अहिले मासुको बिलो जस्तो भएको छ सत्ता

कुनै भागमा ज्वाइँ कुनैमा भिनाजुको सालो भेटिन्छ

यसरी ‘अशान्त धड्कन’ले कसैलाई झटारो हान्न बाँकी राखेको छैन– ती राजनीतिक नेता, मन्त्री, कर्मचारीतन्त्र नै किन नहुन् । समाजका अगुवा वा सेतो खोल ओढेर कालो धन्दा गर्ने समाजसेवीहरू बचेका छैनन् । कवि, कलाकार, साहित्यकार, पत्रकार वा लेखक कोही पनि मुक्तकीय क्षेप्यास्त्रबाट जोगिएका छैनन् ।

खासमा समाजको उपरिसंरचना भित्रकै अनेक थरी फूलथुङ्गा हुन्, यी मुक्तकहरू । जसलाई पुर्‍याईपुर्‍याई सुगन्ध लिए हुन्छ । तिनको पाठपछि जीवन–गतिलाई लयबद्ध गर्न सकिन्छ । कतै तिरस्कार र घृणा उमार्न काम लाग्छ, त कहीँ विद्रोहको सिर्जनशील झिल्को बाल्न झिँजाझिँजी बन्न सक्छन् ।

– – – –

सुझबुझ र सन्दर्भ

‘अशान्त धड्कन’भित्र समयले बोलेका आवाज छन् । कोठेबारीका कान्लादेखि शहरको घारीका झिलिमिली छन् । त्यहाँ जीवनका ऊहापोह छन् । प्रविधिसँगै नारिएर हिंड्दा भेटिएका कष्टकर अनुभव पनि छन् । शैशव कालदेखि साइबरीय जगत् छ । कतै तत्तत् समयका प्रेम–वियोग, जोस र जवानीको खहरे उर्लेको भेटिन्छ । यी हरफहरूले पनि त्यसकै सङ्केत गरेका छन् :

लेखूँ भन्छु केही शब्द फुर्दै फुर्दैन

जवानीलाई पर्ख भन्छु कुर्दै कुर्दैन

सपनामै भए पनि छेक्न तिम्रो बाटो

साइत हेर्‍याहेर्‍यै गर्छु जुर्दै जुर्दैन

यस्तै हुर्कौलो जवानीको लहरो समाउँदै हाँसो–रोदन, दुःख–कष्ट, विकृति–विसङ्गतिजन्य अनेक प्रसङ्ग जोडिएको छ । यी सृजनाहरू समय–सन्दर्भ अनुकूल मिलाएर संयोजना एवम् व्यवस्थापन गरेको भए अझ गरिमा बढ्न सक्थ्यो । विभिन्न कालमा सिर्जित मुक्तकहरू समयक्रम, विषयक्रम र परिवेशक्रम मिलाउन सकेको भए अलग्गै स्वाद पस्किन्थे कि !

केही मुक्तकमा भाषा र हिज्जेको सन्तुलन खलबलिएको छ । अन्त्यानुप्रास नमिलेजस्तो देखिन्छ । यद्यपि, फूलबारीमा फुलेका फूलहरू सबै एकनाशका हुँदैनन् । उत्तिकै आकर्षक, मोहक र सुन्दर फुल्दैनन् । त्यो प्राकृतिक लय पनि होइन । अर्को संस्करणमा अमिल्दा लय र हिज्जेगत सन्तुलन मिलेर आउलान् ।

– – – –

शब्दावली र सचेतता

‘अशान्त धड्कन’ भित्रका मुक्तकहरू सुन्दर, शक्तिशाली, भाव एवम् अर्थप्रधान छन् । यिनलाई स्वतन्त्र रूपमा फूलेका वनफूल भन्दा हुन्छ । यद्यपि, केही मुक्तकभित्र प्रयुक्त अंग्रेजी शब्दावलीले दाँतमा ढुङ्गो लागे जस्तो अनुभूत हुन्छ । हुर्किंदै, बढ्दै, झाँगिदै र परिष्कृत हुँदै गएको नेपाली भाषाकै शब्दावलीलाई तत्तत् स्थानअनुकूल राखेको भए के बिग्रिन्थ्यो ? यसमा मुक्तककारको ध्यान वा सचेतना कमजोर भएको हो कि !

‘ऊर्जा सिञ्चित’ भन्दा ‘ऊर्जा सञ्चार’ उचित हो कि ! स्क्यान, अफिसर, भ्यान्टिलेसन, सेफ्टिपिन, हलो, हाई, माइ डियर, म्युजिकल चियर जस्ता अंग्रेजी शब्दावलीका कारण सम्बन्धित मुक्तक पढ्दा भाषाप्रेमी पाठकले खल्लो महसूस गर्न सक्छ । अर्को संस्करणमा यी पक्षमा मुक्तककारको पक्कै ध्यान जानेछ ।

अन्त्यमा, साहित्य जगतमा उदाएको यो कृति हरेक पाठक र मुक्तकप्रेमीको हृदयमा बस्न सकोस् ।