
ईश्वर कहाँ छैन ?
ईश्वर कुनै उज्यालो प्रकाश बनेर
आकाशबाट धर्तीमा अवतरण गर्ने वस्तु होइन,
यो त हरेक दिन, हरेक पल, हरेक क्षण
हाम्रो जीवनमा फरक–फरक ढंगबाट प्रस्तुत हुने रूप हो ।
ईश्वर भेट्न् सकिन्छ !
आमाको वात्सल्य ममतामा,
पिताको कर्तव्यपरायण बोझमा,
मित्रको आत्मीय हाँसोमा,
शिक्षकको उज्यालो शिक्षामा,
ईश्वर कहाँ छैन ?
बिरामीको मौन पीडामा,
वृद्धको जीवन–अनुभवको शब्दमा,
श्रमिकको पसिनाको थोपा–थोपामा,
किसानको माटो–प्रेमी हातमा ।
ईश्वर महसूस गर्न सकिन्छ !
शिशुको पवित्र मुस्कानमा,
बिरामीको पीडामा,
वृद्धको अनुभवको शब्दमा,
श्रमिकको पसिनामा,
किसानको माटो प्रेममा ।
ईश्वर प्रकट हुन्छन्,
कहिले आँशुको निस्वार्थ धारा भएर,
कहिले संघर्षको आगो भएर,
कहिले सत्यको आवाज भएर,
कहिले न्यायको ढोल भएर,
ईश्वर के हो ?
ईश्वर त हामीले नाङ्गो आँखाले देख्न सक्ने वस्तु होइन,
ऊ हाम्रो अन्तर आत्मामा झुकेर हेर्दा
हरेक व्यक्ति र हरेक कर्ममा प्रकट हुने अनुभूति हो ।
ईश्वरको अनुभव कहाँ कहाँ हुन्छ ?
घाउमा मलम लगाइरहेका हातहरूमा
भोको पेटमा खाना खुवाउने मनहरूमा
अन्धकारमा दियो बाल्ने उदारतामा,
न्यायका लागि आवाज उठाउने साहसमा ।
ईश्वर कहाँ बस्छन् ?
ईश्वर सहयोगी हृदयमा बस्छन्,
जो प्रेम र करुणा भरिएका छन्,
जो निस्वार्थ भावले अरूको जीवन उज्यालो बनाउँछन्,
हाम्रो आत्मा र कर्ममै जीवित छन् ।
ईश्वरलाई कहाँ खोज्ने ?
अपरिचितलाई दिएको सानो सद्भावमा,
अन्जानलाई गरेको सहयोगको न्यानो स्पर्शमा,
सत्य, प्रेम र करुणाको बाटोमा
ईश्वर त यत्रतत्र सर्वत्र भेटिन्छन् ।
ईश्वरले कहाँ बास गर्छन् ?
संगीतको मधुर स्वरमा
कविको कलमको सत्यमा
सन्तको मौन ध्यानमा
गुरुको ज्ञानको दीपमा
ईश्वर कहाँ छ ?
शिशुको पवित्र मुस्कानमा
आँशुको धारामा बग्ने करुणामा,
हाँसोको उज्यालोमा फूट्ने निर्मलतामा,
मौन हृदयको गहिराइमा गुञ्जिने सत्यमा ।
ईश्वर कहाँ भेटिन्छन् ?
सामाजिक सेवा र अरुको भलाईमा
हरेक प्रेम र दयामा,
ईश्वर हरेक धड्कनमा,
हरेक हाँसो र आँशुमा,
हरेक संघर्ष र सपनामा ।
ईश्वर भेट्न के चाहिन्छ ?
ईश्वर त यत्रतत्र सर्वत् विद्यमान छन,
ईश्वरलाई देख्न ज्ञानको चक्षू चाहिन्छ
करुणाले भरिएको हृदय चाहिन्छ ।
ईश्वर, भगवान्, पमेश्वर, प्रभु, अल्लाह जे भने नि एउटै हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

