‘सबल समाजको आधार सार्वजनिक पुस्तकालयको विकास र बिस्तार’ भन्ने नाराका साथ आज भाद्र १५ गते नेपालका बिभिन्न पुस्तकालय, शैक्षिक संस्था र पुस्तकालयसँग सम्बद्ध संघ–संस्थाहरूले अनलाइन मार्फत र कतिपय ठाउमा भौतिक रुपमा उपस्थिति भएर देशभरी बिभिन्न कार्यक्रम गर्दै चौधौ पुस्तकालय दिवस मनाइदैछ ।

पुस्तकालय दिवसको उदय

नेपालमा कहिले देखि पुस्तकालय दिवस मनाउन सुरु गरियो ? र किन भाद्र १५ गते नै पुस्तकालय दिवस मनाउने दिन तोकियो भन्ने प्रश्न उब्जन सक्छ ।

नेपालको इतिहासमा पुस्तकालय सम्बन्धि घटना क्रमहरुलाइ खोतल्दै जादा ३ वटा महत्वपूर्ण घटनाहरु माथि सबैको ध्यान केन्द्रित हुन गयो ।

पहिलो :

बिक्रम सम्बत १८६९ मा तत्कालिन राजा गिर्वाणयुद्ध वीर बिक्रम शाहले पृथ्वी नारायण शाहले राज्य एकीकरण गर्दा युद्धमा जितेर ल्याएका सामाग्रीहरुलाई सुचीक्रित गरेर राख्नको लागि एक जना कर्मचारी खटाएका थिय । मिती १८६९ साल भाद्र १५ गते लाल मोहर जारी गरी पण्डित केदारनाथ झालाई पुस्तक चिताही तहबिल र अर्को एक जनालाई टहलुवा पदमा कर्मचारी नियुक्ती गरेको दिन।

खिम लामिछाने काजी

दोश्रो :

राजकीय स्तरमा सुरक्षित पुस्तकालयलाई राणा प्रधानमन्त्री देवशमशेरले सर्वप्रथम विसं १९५८ मा उनको राज्यभिषेकको अवसर पारी गोरखापत्रको वर्ष १ अंक २ मा सूचना प्रकाशित गरी जेठ ३ गतेका दिनबाट सर्वसाधारणका लागि खुल्ला गरिएको घोषणा गरेका थिए । उक्त पुस्तकालयको नामाकरण समय अनुसार परिबर्तित भएर कहिले दरबार लाइब्रेरी, कहिले घण्टाघर लाइब्रेरी, त कहिले वीर पुस्तकालय हुदै सरकारी किताबखाना नामकरण गरिएको थियो । हाल उक्त पुस्तकालयको नाम नेपाल राष्ट्रिय अभिलेखालयमा परिणत भएको थियो । उक्त पुस्तकालयलाई नेपालकै प्रथम पुस्तकालय मानिन्छ ।

तेश्रो :           

बिश्व जगतले मानी आएको अन्तराष्ट्रिय साक्षरात दिवस सेप्टेम्बर ८ का दिन, जसलाई नेपालमा शिक्षा दिवसको रुपमा पनि मनाउदै आईरहेका छौ ।

यी तिन महत्वपूर्ण दिन मध्ये किन कुन चाहि दिनलाइ आधार मानि  पुस्तकालय दिवसको दिन तोक्ने भनी देश भरका पुस्तकालय कर्मी, शिक्षाविदहरु र बिज्ञहरु बीच २०६४ देखि ३०६५ बीच छलफल र बहसहरु भए । अन्त्यमा भाद्र १५ गतेलाइ पुस्तकालय दिवस मनाउने भनी सबैको सहमति भयो । आम नागरिकहरूमा पुस्तकालयको महत्व र आवश्यकता बारे जानकारी गराउने, अध्ययन संस्कृतिको विकास गर्ने, सूचनामा आधारित समाज निर्माण गर्ने र पुस्तकालयको विकासमा सहयोग पु¥याउने जस्ता विविध उद्देश्यका साथ वि.सं. २०६५ देखि भदौ १५ लाई प्रथम ‘पुस्तकालय दिवस’ को रूपमा मनाउन सुरू गरियो । जसको नारा “सबैको लागि पुस्तकालय” भन्ने रहेको थियो ।

नेपालमा संस्थागत रूपमा पुस्तकालय स्थापना भएको २०९ वर्ष पूरा भएको छ र पुस्तकालय दिवस चौधौ वर्षमा प्रवेश गर्दैछ ।

पुस्तकालयकर्मीहरूको लामो सङ्र्घर्ष पश्चात नेपालमा पुस्तकालय सेवा प्रारम्भ भएको दुई सताब्दी पछि आएर सरकारीस्तरबाट ‘पुस्तकालय तथा सूचना सेवा राष्ट्रिय नीति–२०६४’ र ‘पुस्तकालय तथा सूचना व्यवस्थापन निर्दे्शिका–२०६९’ जारी भएको छ । हाल निर्दे्शिकामा उल्लेखित कार्यहरू लागू भने हुन सकिरहेको छैन । स्थानिय तह अन्तर्गत एक नगरपालिका, गाउपालिका एक पुस्तकालय हुने भनिए पनि पुस्तकालयको निर्माणलाई प्रथामिकतामा पारीएको देखिदैन ।

पुस्तकालयको विकासका लागि विभिन्न समयमा प्रयासहरु:

देशभर निजी तथा सामुदायिक, विभिन्न विश्वविद्यालय तथा अन्य संघसंस्थाका गरी करिब ४० हजार पुस्तकालय रहेको अनुमान छ । पठ्य,  संस्कृतिको विकासका लागि पुस्तकालयको महत्वपूर्ण भूमिका हुने भएकाले नेपालमा नीजि तथा सरकारीस्तरबाट पुस्तकालयको विकासका लागि विभिन्न समयमा प्रयास भएका छन् । जस्तैः

  • “पुस्तक चिताई तहविल” को स्थापना (विसं. १८६९ भाद्र १५, गीर्वाणयुद्ध विक्रम शाह)
  • गाउँ–गाउँमा पुस्तकालयबाट लाभ लिन सक्ने मानिसहरु हुनासाथ प्रत्येक गाउँमा एउटा पुस्तकालय राख्ने काम थाल्नु पर्ने छ । विद्यालयलाई सामुदायिक पुस्तकालयको रुपमा विकास गर्न उपयुक्त हुनेछ । (राष्ट्रिय शिक्षा योजना आयोग २०११ को प्रतिवेदन)
  • प्रत्येक शिक्षालयमा एउटा राम्रो पुस्तकालय, दर्ता र स्वीकृति तथा वर्गीकरण (सर्वाङ्गीण राष्ट्रिय शिक्षा समिति, २०१८)
  • प्रत्येक माध्यमिक विद्यालयहरुमा अनिवार्य रुपमा पुस्तकालय राख्ने, प्राथमिक र निम्न माध्यमिक विद्यालयमा पनि पुस्तकको केहि सङ्कलन गर्नुपर्ने (राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८/२०३२)
  • विद्यालयमा वालपुस्तकालय, केन्द्रिय तहमा राष्ट्रिय पुस्तकालय, विश्वविद्यालयमा पुस्तकालय तथा सूचना विज्ञान विभागको ब्यबस्था (राष्ट्रिय शिक्षाआयोग २०४९)
  • ग्रामिण पुस्तकालय, पुस्तकालयको विस्तार र पुस्तक लेखनको वृद्धि (उच्चस्तरिय राष्ट्रिय शिक्षा आयोग, २०५५)
  • विद्यालयमा पुस्तकालयको उचित प्रबन्ध, पुस्तकालय माध्यमिक विद्यालय श्रेणीकरणको एउटा आधार हो । (शिक्षा सम्वन्धी उच्चस्तरिय कार्यसमिति, २०५८)
  • प्रत्येक गाविस, नगरपालिका र जिविसले आ–आफ्नो क्षेत्रमा पुस्तकालय सञ्चालन गर्नुपर्ने (स्थानिय स्वयत्त शासन ऐन २०५५)
  • पुस्तकालय तथा सूचना सेवा राष्ट्रिय नीति –२०६४ (२८ आषाढ, २०६४)
  • पुस्तकालय तथा सूचना व्यवस्थापन निर्दे्शिका –२०६९ (२०६९/११/०४, माननीय शिक्षा मन्त्री)
  • पुस्तकालय तथा सुचना ब्यब्स्थापन निर्दे्शिका – २०६९ जारी (२०६९)
  • पुस्तकालय गुरु योजना – २०७३ (२०७३)
  • नेपालको संबिधान –२०७३ को भाग – ४ मा पुस्तकालय ब्यब्स्थापन सम्बन्धी उल्लेख गरिएको (नेपालको संबिधान –२०७३)
  • स्थानिय तहमा, स्थानिय श्रोत र साधनबाट सबै तह, तप्का, बर्ग, जातीको पहुच हुने गरी पुस्तकालयको ब्यबस्थापन गरिने (२०७४)

बर्तमान अवस्थामा प्रदेश सरकारले कार्य बिधि बनाएर कतिपय सार्बजनिक पुस्तकालयलाइ अनुदान पनि दिएको  पाहिन्छ । कर्णाली प्रदेशले १ करोड बराबरको बजेट बिनियोजन गरी प्रदेश पुस्तकालय स्थापना गर्ने काम सुरु गरिसको थियो तर कोरोना माहामारीले हाल स्थगित रहेको छ । त्यसैगरी गण्डकी प्रदेशमा पनि प्रदेशको केन्द्रीय पुस्तकालय स्थापनाकोलागी शिक्षाविद, पुस्तकालय कर्मी तथा सामाजसेवीहरु लागि परीरहनु भएको छ । देशका अन्य प्रदेशहरुमा पनि सार्वजिनक पुस्तकालयहरुलाइ केहि बजेट अनुदान दिने काम भइरहेको छ । यद्यपी वडा वडा अथार्थ स्थानीय तहमा भने पुस्तकालय स्थापना गर्ने कुरा राजनैतिक पार्टीको घोषणा पत्रमा मात्र सिमित हुन पुगेको छ ।

हाल पुस्तकालयको ब्यबस्थापन गर्ने जिम्मा प्रदेश सरकारले सामाजिक मन्त्रालय भित्र राखिएको छ । हरेक नगर तथा गाउपालिका र हरेक वडा कार्यलयहरुमा पुस्तकालयको स्थापना गरिने भनेर कागती रुपमा निर्णयहरु पनि भएका छन । तर आफ्नो क्षेत्र भित्र संचालनमा रहेका सार्बजनिक पुस्तकालयहरुलाइ उचित सम्भार र समरक्षण हुन नसक्दा एतिहासिक तथा पुरातात्विक महत्व बोकेका पुस्तक तथा सामाग्रीहरु नस्ट हुँदै गइ रहेको पनि पाहिन्छ ।

केन्द्रीय स्तर देखि स्थानीय स्तर सम्म हरेक बर्ष भद्र १५ गरे पुस्तकालय दिवसको लागि नारा अथार्थ आदर्श बाक्य के राख्ने भन्ने कुराको व्यापक छलफल तथा बहस हुन्छ  ।  देशभरीका पुस्तकालय तथा पठन सस्कृति संग सम्बन्धित व्यक्ति तथा संस्थासंग उपयुक्त नाराको लागी आह्वान गरिन्छ, सर्बसम्मत रुपमा एउटा नारालाइ छनौट गरिन्छ ।

सुरु देखी हाल सम्म पुस्तकालय दिवसका नाराहरु निन्नानुसार रहेका छन

पहिलो (२०६५) – सबैको लागि पुस्तकालय

दोश्रो (२०६६)  – पुस्तकालयको बिकास, नया नेपालको निकास

तेश्रो (२०६७)  – सुचना ज्ञान र शिपका लागि पुस्तकालय

चौथो (२०६८)  – समृद्ध नेपाल निर्माणमा लागि पुस्तकालय

पाचौ (२०६९)  – पुस्तकालय जाऔ पढने बानी बसालौ

छैटौ (२०७०)  – एक गाउ एक पुस्तकालय, एक विद्यालय एक पुस्तकालय

सातौ (२०७१)  – पुस्तकालयको बिस्तार, सभ्य समाजको आधार

आठौ (२०७२)  – पुस्तकलाइ माया गरौ, पुस्तकालयको बिकास गरौ

नवौ (२०७३)   – जीवनपर्यन्त शिक्षाका लागि पुस्तकालय

दशौ (२०७४)   –जीवनपर्यन्त शिक्षाका लागि एक स्थानिय तहः एक नमुना पुस्तकालय

एघारौ (२०७५) – “समृद्ध पुस्तकालयः सुदृढ समाज”

बाह्रौ (२०७६) – “पठन सस्कृतिको पूर्वाधार: पुस्तकालयको बिकास र बिस्तार”

तेह्रौ (२०७७) – “समाज रूपान्तरणका लागि पुस्तकालय”

चौधौ (२०७८) – ‘सबल समाजको आधार सार्वजनिक पुस्तकालयको विकास र बिस्तार’

पुस्तकालय दिवस मनाउनका लागि शिक्षा विभाग मार्फत् ७७ वटै जिल्ला शिक्षा कार्यालय, गृहमन्त्रालय अर्न्तगतका सबै निकाय तथा संघीय मामीला तथा स्थानीय विकास मन्त्रालय मार्फत् ७४४ वटै स्थानीय निकायमा अनुरोध गर्ने । जिल्ला तथा स्थानीय तहमा स्थानीय आवश्यकता, संस्थाको कार्यप्रकृति अनुसारका विविध कार्यक्रमहरू सञ्चालन गर्न पनि अनुरोध गर्ने निर्णय भएअनुसार जिल्लास्तरमा स्थानीय विकास अधिकारी संयोजक, जिल्ला शिक्षा अधिकारी सदस्यसचिव र आवश्यकताअनुसार अन्य सदस्य रहने गरी एक जिल्लास्तरीय पुस्तकालय दिवस मूल समारोह समितिको गठन गर्ने । स्थानीय तहमा सम्बन्धित तहका प्रमुखको अध्यक्षतामा पुस्तकालय दिवस समारोह समिति गठन गरी पुस्तकालय संग सम्बद्ध स्थानीय स्तरमा सक्रिय रहेका गैरसरकारी संस्थाहरूको समेत सहभागितामा निवन्ध लेखन, हाजिरीजवाफ प्रतियोगिता, प्रवचन जस्ता विविध कार्यक्रम गरी मुलुकभर पठन संस्कृतिको विकासमा टेवा पुर्याउन अपरिहार्य भएकोले त्यहाँबाट संबन्धित जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति जिल्ला शिक्षा कार्यालयमा परिपत्र गरी दिनु भन्ने व्यहोरा सहितको पत्र नेपालका सम्र्पुण पुस्तकालयहरु र शैक्षीक सस्थाहरुमा पुस्तकालय दिवस मनाउनको लागी पठाउने गरिन्छ । तर हालको कोरोनाको माहामारीको कारण भौतिक रुपमा उपस्थिति भएर पुस्तकालय दिवस मनाउन सक्ने अवस्था छैन । तथापि भर्चुयल रुपमा अनलाइनको माध्याम बाट भने बिभिन्न कार्यक्रमहरु गरिने छ ।

पुस्तकालय दिवसको उदेश्य :

ज्ञान र सूचनामा आधारित शिक्षित, सभ्य, सु–संस्कृत एवम् समृद्ध समाज निर्माण गर्नको लागी गाउ, सहर र हरेक विद्यालयमा पुस्तकालयको ब्यबस्था हुनुपर्दछ । देशलाइ सब्रिद्धि तर्फ अग्रसर गराउन चाहिने सक्षम नागरिक उत्पादनको लागि पुस्तकालयको भूमिका महत्वपूर्ण हुने भएकाले हरेक तह र तप्का, वर्ग, जात, भाषा, भाषी, उमेर समुहका ब्यक्तिहरुलाइ पुस्तकालयको पहुच हुनु पर्छ भन्ने पबित्र उदेश्य बोकेर पुस्तकालय दिवस मनाउने गरिन्छ । पढ्ने सस्कृतिको बिकास गर्न र दक्ष जन शक्ति उत्पादन गर्न पुस्तकालयले मद्दन गर्ने भएकाले, पुस्तकालय जानलाइ, पुस्तकालय तर्फ आकर्षण बढाउन हेतुले हरेक बर्ष पुस्तकालय दिवस मनाउने गरिन्छ । साथै पुस्तकालय बिकास सबन्धि भए गरेका कार्यहरु लेखाजोखा गर्न, पुस्तकालय स्थापन गर्न सरकार वा सम्बन्धित समुहलाइ दवाद सिर्जना गर्न, र पुस्तकालय स्थापना गर्न सहयोग गर्ने पनि पुस्तकालय दिवसले मद्दत गर्दछ ।

 पुस्तकालय दिवसको औचित्य :

पुस्तकालय समाज परिवर्तनको सम्बाहक हो । पुस्तकालय ज्ञानको ऐना हो यसको संरक्षण गर्नु समाजका जिम्बेवार सवै नागरीकको कर्तब्य हो । कर्तब्यको बोध गराउन पुस्तकालय दिवसको कहिँ न कहिले हात रहेको हुन्छ । अहिले सबैको हातमा मोबाइल हुन्छ, त्यहि मोबाइलको कारणले पुस्तकालय धाउने पुस्तक प्रेमीहरु अहिले इन्तरनेटको गेममा भुलेको छ । आजका युवालाइ पुस्तकालय तर्फ आकर्षित गर्न सकिएन भएन गुणस्तरिय शिक्षा प्रणालीको बिकास हुन सक्दैन ।

पुस्तकालय ज्ञानको सागर हो। पुस्तकालयको महत्त्व पढाइको हरेक छेत्रमा हुन्छ। पुस्तकालयले देश निर्माण र विकासमा योगदान दिएको छ।

पुस्तकाललाई शैक्षिक अध्ययनको प्रयोगशालाको रुपमा लिन सक्छौं । जहाँ उपलब्ध हुने भौतिक तथा डीजीटल स्वरूपमा उपलब्ध पत्र–पत्रिका, श्रव्य–दृश्य आदि सूचनाका आदि ज्ञानको भण्डार मार्फत आफ्नो ज्ञान र सीपको क्षेत्रलाई बढाउन तथा खोज अनुसन्धान गर्न सकिन्छ ।

सबै विद्यार्थी तथा प्रयोगकर्ताहरुसँग पुस्तक तथा पत्रपत्रिकामा लगानी गर्ने आर्थिक श्रोत सिमित हुन्छ । जस्तै, सबै पत्रपत्रिकाको ग्राहक बन्न गाह्रो हुन्छ  तर पुस्तकालयमा जाने हो भने ती सबै पत्र–पत्रिकाहरु निशुल्क पढ्न पाइन्छ । पुस्तकालयले प्रयोगकर्ताहरु व्यय भार कम गर्न मद्दत गर्दछ । त्यसैले हरेक टोल र समाजमा पुस्तकालय निर्माण गर्नुपर्ने हुन्छ । पुस्तकालय निर्माणको लागी पुस्तकालय दिवसले प्रोत्साहित गरिरहेको हुन्छ ।

बालबालिकादेखि युवा, बृद्ध अनि शारीरिक रूपमा अशक्त, दृष्टिविहीन तथा श्रवणविहीन आदि सबै प्रकारका पाठकहरूका लागी मैत्रीपूर्ण पुस्तकालयको ब्यबस्था हुनुपर्दछ । विविध पाठ्य, श्रव्य, श्रव्य–दृश्य र विद्युतीय सूचना सामग्रीहरूले सुसज्जित आधुनिक पुस्तकालय आजको आवश्यकता हो । ऐन, नियममार्फत् एक गाउँ एक पुस्तकालय, एक विद्यालय एक पुस्तकालय र हरेक टोलमा एक पुस्तकालयको ब्यबस्था हुनुपर्दछ ।  हरेक विद्यालयमा सुविधायुक्त पुस्तकालयको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके मात्र पुस्तकालय दिवस सार्थक भएको मानिनेछ ।

जय पुस्तकालय !