फिक्सन डिजाइनरको रूपमा परिचित लेखक कुमार नगरकोटीको नवीनतम कृति जोगियाना पढेपछि यसबारे केही लेख्ने जमर्को चल्यो । जोगियाना पढ्न सुरु गरेदेखि पुस्तकले तानिरह्यो । तर मलाई यो पुस्तक फारु गरी गरी पढ्न मन लाग्यो, जस्तो कि मिठो चिज बिस्तारै पुर्याई पुर्याई खाने गरिन्छ । कताकतिको झिजो बाहेक ४९३ पेजको जोगियाना पुस्तकले मलाई निकै मज्जा दियो ।

जोगियाना उनको संस्मरणात्मक कृति हो । उनको बाल्यकालीन अवस्थादेखि हाल सम्मको जीवनमा घटेका केही प्रसङ्गहरूलाई  समावेश गरेका छन् । कतिपय कुरा संस्मरण हो कि कथा हो भन्ने छुट्याउन नसक्दा स्वयम लेखक नगरकोटीजीलाई फोन गरी आफ्नो कौतुहलताहरू सोधेको पनि थिएँ । स‌ंस्मरणमा केही कथाहरू, केही पुस्तक, नाटक, सिनेमाहरू बारेमा समेत लेखेका छन् । मन परेका पुस्तक, नाटक, सिनेमाहरू पाठकलाई हेर्न, पढ्न सुझाएका पनि छन् ।

नगरकोटी शब्दहरूलाई फूलबुट्टा भरेर सुन्दर शब्द माला बनाउन माहिर छन् । त्यसो त उनले आफ्नै पाराले नयाँ नयाँ शब्दहरू पनि सिर्जना गरेका छन् ।

उनले आविष्कार गरेका शब्दहरूलाई नगरकोटियन शब्दकोश नाम गरी कुनै दिन पुस्तक नै प्रकाशित नहोला भन्न सकिन्न । जस्तै: कफियाना, मदिराना, मिस्टिका, कफिघाट, सेक्सिलो, काउकुतिलो, दुर्लभिका, अनविचारेबलआदि । उनको शब्द चयन शैली र वाक्य संयोजन कलाले जो कोही पाठकले मुग्ध बनाउँछ । मलाई लाग्छ उनी एक शब्द सम्पन्न लेखक हुन । शब्दहरूलाई तौलेर सोचेर प्रसङ्ग मिलाएर प्रयोग माहिर छन् ।

जोगियाना

जोगियाना

यस्तै लेखक नगरकोटीले जोगियानामा पनि थुप्रै नयाँ प्रयोगहरू गरेको पाइन्छ । संस्मरणमा आफ्ना व्यक्तिगत अनुभव, अनुभूति, दिनचर्या, चिन्तन मनन आदि त हुनु नै भए, त्यसको अलावा केही अति सामान्य देखि असाधारण असामान्य व्यक्तिहरूको स्मृति, विस्मृति तथा उनीहरू सँग बिताएको रोचन-ओ-घोचक प्रसङ्गहरूलाई समावेश गरेका छन् ।

१९ वटा स‌ंस्मरणहरूमा देश विदेश गरी थुप्रै व्यक्ति व्यक्तित्व, लेखक, नाटककार, फिल्म निर्देशक, नायक, नायिका, गीतकार, सङ्गीतकार, चित्रकार, उद्योग व्यापारी, पाठक लगायत थुप्रै व्यक्ति विशेषहरूको बारेमा चर्चा-औ-परिचर्चा गरेका छन् । उनको लेखक शैली र शब्द चयनले पाठकलाई तानी रहन्छ । यद्यपि कुनै कुनै ठाउँमा भने लेखक संस्मरण लेख्दा लेख्दै कथा र कविता लेखिरहेको भेटिन्छ ।

विश्वका एक व्यक्तिले अर्को प्रख्यात व्यक्तिलाई लेखेका पत्रहरू पढ्दा पाठकलाई गज्जब-ओ-गज्जब लाग्छ । त्यसै गरी अंग्रेजी, हिन्दी तथा अन्य भाषाका पुस्तक, सिनेमा, नाटक, कविता, कथा, गीत–सङ्गीतका  बारेमा उल्लेख गरेर पाठकहरूलाई तत विषयको बारेमा सामान्य जानकारी दिइरहन्छन् । लेखनका अनुभूतिहरूदेखि मल्टिमिडिया, म्युजिक भिडियो, नाटक लेखन र अभिनय आदिको बारेमा खुलस्त परेका छन् ।

लेखक अलि बाठा पनि छन्, कतै कहीँ पढ्दा पढ्दै जर्को लाग्दा, अल्छी लाग्दा वा दिक्क लाग्दा आङ तन्काएर, पुस्तक थन्काएर, फेसबुकको पन्ना पल्टाउन भन्छन्, ताकी कसैले तात्तातो मुद्दा उठाएर कोही भाइरल पो भइसक्यो कि, जमाना भागदौडको जो छ । यसै सन्दर्भमा रसुवा तिरका माइलाजीले बिजुलीको ट्रान्समिटर तथा तारमा झुण्डिएर भाइरल भइरहेको दृष्टान्त समेत दिएका छन् ।

लेखक नगरकोटी प्रायजसो कालो वस्त्र पहिरिएर हिंडेको देख्न पाइन्थ्यो तर जब उनले कोरियन लेखक हान के काङ “द व्हाइट बुक” पढे त्यसको प्रभावमा उनले कालोको सट्टा सेतो पहिरन लगाउन थाले । उनले “खर्पन” नामको भिडियोमा समेत बलजफती गरेर २५% सुटिङ सेतो वस्त्र धारण गरेरै गरेछन् । सायद त्यसैको प्रभावले हो कि जोगियाना पुस्तकको कभर सेतो कलेवरमा प्रकाशित गरिएको छ, जबकि उनका अन्य कृति प्राय सबैमा कालो रङको प्रयोग गर्ने गरिएको पाइन्छ । जस्तै घाटमाण्डु, मिस्टिका, कल्पग्रन्थ, दोचा, अक्षरगन्ज, ज्ञ आदि ।

उनी ग्राबियल गार्सिया मार्खेजका निकै ठुला फ्यान हुन् भन्ने कुरा बुजिन्छ । मार्खेजले सय वर्षको एकान्त लेखेका थिए, नगरकोटीले सात दिनको एकान्त सात फरक ठाउँमा बसेर लेखेका छन्, जसलाई उनले नगरकोटी फेस्टिभल भनेका छन् ।  मार्खेजको हुलाक टिकट शीर्षक अन्तर्गत ‘मोजार्ट अफ पेन’ भनेर चिनिने डेबिड स्ट्रेटफेल्ड अमेरिकी पत्रकारले मार्खेजसँग लिएको अन्तर्वार्ताहरूको रोचक प्रसङ्गहरूलाई आफ्नो संस्मरणमा समावेश गरेका छन् ।

उनले १७ अङ्क सँग मार्खेजको प्रसङ्ग जोडेका छन् । एक पटक मार्खेजको अल्ट्रा एक्सपेरिमेन्टल उपन्यास ‘हाउस अफ लिभ्स’ बढो मिहेनत पछि एउटा पसलमा भेटेछन् । उक्त पुस्तकको मूल्य १६ सय रहेछ, तर नगरकोटीले पुस्तकलाई १७ सयमा खरिद गर्नु भएछ, किनकि १७ मङ्सिर नगरकोटी आफैको जन्मदिन रहेछ, १७ वैशाखमा लेखकको बुबाको मृत्‍यु भएको र १७ मै मार्खेजको पनि मृत्‍यु भएको रहेछ। त्येसैले १६ सयको पुस्तकलाई १७ सय तिरेका रहेछन् भन्ने कुरा जोगियानामा लेखकले बताएका छन् ।

त्यसै गरी उनका अनविचारेबल साथी बालसखा अक्षयले समेत नगरकोटीको “अक्षरगन्ज” कृति विमोचनमा १७ मिनेट भाषण गरेर हिंडिहाल्छन् । यद्यपि १७ अङ्क प्रतिको त्यत्तिको लगाव हुने लेखक भने जोगियाना संस्मरणमा १७ वटा संस्मरण नराखेर १९ वटा राखेका छन् । यस्तो किन गरेको लेखक महोदय भनेर मैले भेटेर पक्कै सोधनी गर्ने नै छु ।

लेखकको स्कुले जीवनको यथार्थ पढ्दा पाठकलाई भावुक बनाउँछ । उनी प्रति दया, माया, करुणा एकै पटक जागृत भइजान्छ ।  जीवनमा गायक बन्ने सपना बुनेका लेखक फिक्सन डिजाइनर भएछन् । बिक्रम गुरुङ नाम गरेका स्कुल टिचर जो सरुभक्तका मित्र रहेछन् । जसले ‘भुलु भुलु लाग्यो मलाई’, जस्ता कालजयी गीत लेखेका थिए । ‘गीतार, ब्लु एप्रोन र देवदूत’ पढ्दा आफ्ना शिक्षकहरूलाई उनी देवदूत भनेर सम्बोधन गर्दछन् ।

नगरकोटीका साथीहरू पनि अजिब-ओ-गरिब छन् । कसैले अनौठो पाराले जन्मदिन मनाइदिन्छन्, कसैले शिरपोस (टोपी) किन्न र्ह्रीशीकेश पुर्याइ दिन्छन्, कसैले हेलिकप्टरमा सगरमाथा तिर मर्निङ वाक गर्न लैजान्छन् । उनका हितैषीहरू गिरिश गिरी, भुपेन्द्र खड्का, स्वामी ध्यान सरोवर, अक्षय, साहित्यकार मोमिला, रुकुम चौरजहारीका मितज्यु सुकदेव शर्मासँगको मितेनी साहिनो आदिसँगको प्रसङ्ग निकै रोचक छ ।

नगरकोटीको आख्यानहरू पढ्दा भावुक भन्दा धेरै हाँसो लाग्ने, पढ्दा पढ्दै भित्रबाट हाँसो फुस्किने कन्टेन्टहरू हुन्छन् । घाटमाण्डु होस् वा कल्पग्रन्थ हाँस्न पाइने सामाग्रीहरू थुप्रै भेटिन्छन् । सायद उनले पाठक हासोस् भन्ने हेतुले नै उक्त शीर्षक तथा सामाग्रीहरू आफ्ना पुस्तकहरूमा समावेश गरेको हुनुपर्छ । जोगियाना संस्मरणमा उल्लेख गरिएको गुमनाम नामहरूको यादमा हाँसो उठ्दो राजेश हमालको फोक्सो पसल, ट्याक्सी चालक कुमार नगरकोटी, जसले लेखक कुमार नगरकोटीलाई बालकुमारी घरबाट उठाएर पशुपति घाट पुर्याउँछ । केदारभक्त माथेमा नाम गरेका व्यक्तिले दान दिएर आफ्नो नाम मन्दिरको शिलापत्रमा कुदाउन हिंडिरहेका हुन्छन् ।

नाटक सिर्जना गर्दाका क्षणहरू बारे, नाटकका पात्रहरू बारे, पात्रहरूसँगको भलाकुसारी रोचक ढङ्गबाट प्रस्तुत गरेका छन् । खासमा नगरकोटीको खासिएत प्रस्तुति मै छ, लेखनको  ।

उनी भन्छन् – मान्छेहरू दुई प्रकारका हुन्छन् । युनिक र यौनिक। युनिक मान्छे दुर्लभ हुन्छन् र यौनिक मान्छे सबै सुलभ ।

कल्पना र स्मृति मनुष्यका अमूल्य सम्पदा हुन । कल्पनाले मान्छेको बाटो देखाउँछ भने स्मृतिले मान्छेलाई नष्ट हुनबाट जोगाउँछ । सिनेमाको कुरा गर्दै लेखकले ‘द डिभाइन बेल एण्ड द बटरफ्लाई’ सिनेमालाई कल्पना र स्मृतिको धागोमा उनिएको एउटा सुन्दर नओइलाउने फूल भनेका छन् ।

उनले विभिन्न देशका गरी २१ विभिन्न सिनेमाहरूको छोटकरीमा समीक्षा समेत गरेका छन् । ‘द क्याप्टेन’ सिनेमाको बारेमा उनी लेख्छन्, “प्रेम र युद्धको नाममा तपाईं कसरी मानवताको हत्या गर्न सक्नुहुन्छ ? युद्ध र प्रेममा सबै कुरा जायज हुन्छ भनेर पहिलो पटक यो वाक्यलाई प्रयोग गर्ने व्यक्तिको जिब्रो पेन्चिसले थुत्न चाहन्छन् ।”

त्यसै गरी लेखक नगरकोटीले २५ वटा विभिन्न भाषामा लेखिएका पुस्तकहरूको बारेमा चर्चा-ओ-परिचर्चा गरेका छन् । ‘डर्मिटरी ड्रिम्स: एक स्वप्न संस्करणमा सपना देखेर सपनाहरूको आधारमा पुस्तक लेखेको उल्लेख गरेका छन् । उनका कृति फोसिल, घाटमाण्डु, कल्पग्रन्थ आदिमा समावेश भएका केही कथाहरू सपनामा देखेको कथालाई नै उतारेका थिए । सपनाको आधारमा विश्वमा चर्चित भएका पुस्तक, सिनेमा, चित्रकला, गीत-सङ्गीत, गणित सूत्र तथा वैज्ञानिक आविष्कारहरू बारे उल्लेख गरेका छन् । लेखक स्वयमले राती देखिएका सपनाहरू बिहान उठेर डायरीमा टिप्ने गरेको बताएका छन् ।

साउनको महिनाभरी देखेका सपनाहरूलाई उनले जोगियानामा समावेश गरेका छन् । उनको सपनाहरू पढियो ती सपनाहरू साँचो थिए वा जुठो उनै लेखक जानुन् ।  स्कुल पढ्दा भने स्कुलको नियम अनुसार दिनमा सुत्नै पर्ने र देखिएको सपना कक्षामा आएर भन्नै पर्ने नियम रहेको हुँदा उनले सपना देख्ने र देखेको सपना टिप्ने यो उनको बानी पनि हुन सक्छ ।

उनले सिनेमा, सङ्गीत र साहित्यलाई आफ्नो कुलत मानेका छन् । साहित्यमा लागे पनि कुपुन्डोलको शास्त्रीय सङ्गीत विद्यालयमा नियमित भोकल अभ्यास गर्ने गरेको, गीत पनि रेकर्ड गराएको कुरा उल्लेख गरेका छन् ।

टोपीहरूको बारेमा कुरा गर्दा उनलाई उपहारमा दिइएका ८ वटा टोपीहरूको प्रसङ्गलाई जोडेका छन्, हरेक प्रसङ्ग निकै रोचक छन् । त्यसै क्रममा उनले शिरपोस (टोपी) किन्न साथीहरू घिमिरे युवाराज र स्वामी ध्यान सरोबरसँग ॠषिकेश गएको त्यहाँ डकुमेन्ट्री फिल्म मेकर मिलन पौडेलसँग भेट भएको र उनीहरूले गरेका अविस्मरणीय क्षणहरूलाई उल्लेख गरेका छन् । अन्तमा मिलन पौडेलको मृत्युको समाचारले पाठकलाई केही बेर भावुक बनाउँछ ।

देशका कम्युनिस्ट नेताहरूलाई उनले ‘द डेथ अफ स्टालिन’ सिनेमा हेर्न सुझाएका छन् । यो सिनेमाले लेखकलाई देशमा देखा परेको कम्युनिस्ट पोलिटिक्सको परिदृश्यलाई कसरी हेर्ने भन्ने कुरा सिकाएको रहेछ ।

जोगियानामा लेखकले हामीले दैनिक देखे भोगेका तर नजरअन्दाज नगरेका कुराहरूलाई रोचक ढङ्गले प्रस्तुत गरेका छन् । जस्तै: धेरै जसो सार्वजनिक यातायातका सवारी साधनको पछाडि “आमा बुवाको आशिर्बाद” लेखिएको हुन्छ । उनले एक पटक यात्रामा हुँदा ५१ वटा सम्म आमाबाबाको आशीर्वाद लेखिएको गाडीहरू गनेर बसेछन् ।

पुस्तकमा नगरकोटीले आफ्नो मात्रै नभएर आफूसँग सम्बन्धित अन्य व्यक्तित्वहरूको बारेमा समेत हल्का चर्चा गरेका छन् । त्यसै क्रममा उच्च शिक्षा हासिल गर्दा विदेश जाने लक्ष्य बोकेका, साङ्केतिक समूहमा आबद्ध रहेका निरज भारी, अजित बरालसँग मिलेर फाइन प्रिन्ट प्रकाशन गृह खोलेर बसेर नेपाल लिटरेचर फेस्टिभललाई देश विदेशमा अन्तर्राष्ट्रिय साहित्य संसारमा चिनाउन काम गरेका छन् । अझ पोखरालाई अन्तर्राष्ट्रिय साहित्य गन्तव्य बनाउन लागि परेका छन् ।

कुनै कुनै कुराहरू पुस्तकमा समावेश नगर्दा नि हुने हो जस्तो पनि लाग्छ । जस्तै: ७६ जना महाभारतका पात्रहरूलाई बलिउडका कलाकारहरूको कास्टिङ गरेका छन्, यो उनले फिल्म समीक्षक यज्ञससँग मिलेर गरेको भनेका छन् । अमिताभ बच्चनलाई भिस्मपितामह, द्रौपदीलाई दिपीका पादुकोण मानेका छन् । तर कुनै कुनै पात्रहरू मिले जस्तो लाग्दैन । त्यसै गरी पोखरेली साहित्यकार गनेस पौडेलसँग मिलेर प्राइभेट क्यालेन्डर बनाएका छन् । मलाई लाग्छ उक्त क्यालेन्डरको उनीहरू आफूले पालना गरेनन् होला ।

समीक्षकहरूको बारेमा उनी लेख्छन्, “स‌ंसारको सबैभन्दा दुखी दिमाग समीक्षकहरूको हुने गर्दछ ।”  हुन पनि हो प्रायजसो समीक्षकहरू पुस्तकको कमी कमजोरीहरूलाई मात्र हाई लाइट हरेका हुन्छन् । जसरी अ ब्याड न्यु इज अ गुड न्युज अर्थात् नराम्रो घटनाहरूलाई मात्र ठुलो समाचार बनाउँछन् । समीक्षकहरूले पुस्तकको अत्यधिक आलोचना गरेको पाइन्छ ।

तर मेरो व्यक्तिगत विचारमा पुस्तकमा यदि तिथि मिति, समय, सन्दर्भ, घटनाको स्थान आदि कुराहरू यथार्थ भन्दा फरक छन् भने जरुर आलोचना गर्नै पर्ने हुन्छ तर लेखको विचारमा, लेखकीय शैलीमा आलोचना वा खण्डन गर्न मिल्दैन । किनकि एउटै बस्तु तथा घटनामा पनि हरेकको आ-आफ्नै हेर्ने दृष्टिकोण र विश्लेषण फरक फरक हुन्छ ।

लेखकको र समीक्षकको विचार मिलेन भन्दैमा आलोचना गर्नु चाहिँ हुँदैन । हुन त लेखक नगरकोटी स्वयमले साहित्यिक समीक्षक राजकुमार बानियाँलाई साहित्यको चौकीदार मानेका छन् । यस अर्थमा समीक्षकहरूले साहित्यलाई अझ बढी सुन्दर बनाउनमा सहयोग गरिरहेका हुन्छन् ।

एउटा लेखकको आफ्नो कृति उसको सन्तान जस्तै हो, उसको विचार मा दम नहुन सक्छ, उसले लेखेको कथा, उपन्यासले पाठकको मन नछुन सक्छ, तर यो भन्दैमा उसको आलोचना गरी हाल्नुपर्छ भन्ने होइन । हौसला, प्रेरणा, मोटीभेट, पोजेटिभ थिन्क भन्ने कुरा पनि हुन्छन्, जसलाई हामी बारम्बार पढ्ने सुन्ने त गर्छौ तर समीक्षक र आलोचकले पनि यो कुरालाई व्यवहारमा उतारिदिनु पर्‍यो भन्ने मेरो कुरा हो, जहाँसम्म लेखकको कुरा पनि यही नै हो भन्ने मेरो बुझाइ हो । यति भन्दा भन्दै पनि यो पुस्तकमा देखिएका केही कमी कमजोरीहरूलाई यहाँ उल्लेख गरिएन भने यो समीक्षाले पूर्णता नपाउन सक्छ ।

केही प्रिन्ट गल्तीहरू त छँदै छन् त्यसको अलावा पाठकलाई पेज न ९० मा लोर्का कविता लेख्छु भनेर पेज न ६९ मा लेख्छन् तर उक्त कविता पेज न ८० मा छापिन्छ । समग्रमा पुस्तकले पाठकको ध्यान राम्रो सँग आकर्षण गर्न सक्षम रहेछ ।