साहित्यपोस्टको संयोजन तथा लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीको सौजन्यमा स्थापित “साहित्यपोस्ट उत्तम काव्य पुरस्कार– २०७८”का लागि ९ काव्यकृतिको छनौट भइसइसकेको छ । यसै सन्दर्भमा सर्वोत्कृष्ट एक काव्यकृतिको घोषणा गर्नुअघि उत्कृष्ट ९ कृतिका स्रष्टाहरूसँग पुरस्कारकै पेरिफेरिमा रहेर संवाद गरिएको छ । यस संवादको मुख्य उदेश्य भनेको “साहित्यपोस्ट उत्तम काव्य पुरस्कार”लाई लिएर उहाँहरूको विचार जान्नु र कृतिको बारेमा पाठकलाई लेखकबाटै थाहा दिनु हो ।

यहाँ उत्कृष्ट नाैमा छनोट भएको कवितासङ्ग्रह ‘आमाको काखमा दुखेको देश‘का स्रष्टा डा. वीरेन्द्र केसीसँगको संवाद प्रस्तुत गरिएको छ ।

तपाईँको पहिलो कृति “साहित्यपोस्ट उत्तम कृति पुरस्कार”का लागि शीर्ष नौ पुस्तकमा पर्न सफल पर्यो । कस्तो अनुभूति गरिरहनुभएको छ ?

मैले अथक् प्रयास गरेर जन्माएको मेरो पहिलो कृति हो “आमाको काखमा दुखेको देश” । यो कृति “साहित्यपोस्ट उत्तम कृति पुरस्कार” का लागि छनौट भएका शीर्ष नौ पुस्तकमा पर्न सफल हुनु भनेको मेरो मिहेनत र लगनप्रतिको सम्मान हो । त्योभन्दा बढी यो कृतिलाई त्यो स्तरको सम्झनु आफैंमा निर्णायकज्यूहरुको विशाल हृदयको परिचय हो । यसका लागि म उहाँहरुलाई उच्च सम्मानका साथ धन्यवाद ज्ञापन गर्न चाहन्छु । साहित्यमा टेक्दै गरेको पाइलालाई कसरी हौसला प्रदान गर्ने र अझ फूल्न र फक्रन मदत गर्ने भन्ने सुझबुझका साथ गरिएको यो निर्णय निर्णायक समितिको परिपक्वताको परिचायक पनि हो । यसले मेरो मनमा खुशी र जिम्मेवारीको मिश्रित बोध गराएको छ ।

“साहित्यपोस्ट उत्तम काव्य पुरस्कार”का लागि नौ कृति छनोट भएका छन् । अर्थात् तपाईँका प्रतिस्पर्धीका रुपमा बलिया कृतिहरु छन् । तपाईँले पुरस्कार जित्नु वा नजित्नुले तपाईँको साहित्यिक यात्रामा के अर्थ राख्छ ?

विद्वावान र अनुभवी निर्णायकज्यूहरूको निर्णयप्रति मेरो पूर्ण समर्थन रहने छ । मेरो कृतिभन्दा अन्य कृतिहरु बलिया छन् भने ती कृतिहरुले नै पुरस्कारको सही हकदायक हुनु पर्दछ । पुरस्कारले जीवनमा ठूलो महत्त्व राख्ने भए तापनि मेरो लेखन कुनै पुरस्कार प्राप्तिको लागि भन्दा नेपाली भाषा साहित्यमा सक्दो योगदान पुर्याउने हेतुले निर्दिष्ट भएको हुँदा यो पुरस्कार पाए पनि वा नपाए पनि मेरो लेखन निरन्तर बढी रहने कुरा म हजुरहरु समक्ष राख्न चाहान्छु ।

“आमाको काखमा दुखेको देश” नै किन लेख्नुभयो ?

यो कृतिमा “आमा” भनेर सबैभन्दा बढी माया गर्ने मान्छे भन्न खोजिएको हो । आज हाम्रो देशमा देशलाई सबैभन्दा बढी माया हामीले गर्छौं भन्नेहरुले शासन गरिरहेका छन् । तर यो वा त्यो रुपमा देश प्रताडित भएको सर्वत्र छर्लङ्ग छ । विकृति र विसङ्गतिका पहाडहरु आकासिदै छन् । दिनमै चेली बलात्कृत हुने कुरा भनौं वा नेताहरुका झुटा आश्वासनका पोका, देश झन् झन् पछाडि धकेलिँदै गइरहेको यतार्थता भनौं वा चुलिँदो भष्टाचार, सबै प्रष्ट देखिन्छ । छिमेकीले सिमा मिच्दै छ, हामी हाम्रो भुगोल भाग लगाउन मस्त छौं । यी सबै कुराहरु समेटेर एउटा कवितासङ्ग्रह निकाल्न जरुरी लाग्यो जसभित्र आजको समाजको चित्र देखियोस् ।

साहित्य लेखनकै कुरा गर्दा मलाई लोकसाहित्यका अध्येता तुलसी दिवसलाई सम्झन मन लाग्यो । यो सङ्ग्रह तयार पार्ने क्रममा एकपटक उहाँसँग मेरो कुरा भएको थियो । आजका कविहरुले लोकछन्दलाई प्राथमिकता नदिएको हुँदा लोकछन्द लोप हुने स्थितिमा रहेको कुरा सुनाउनुभएको थियो । आजका कविहरुले लेखनमा लोकछन्दलाई प्राथमिकता नदिएको यथार्थता हामीमाझ लुकेको छैन । त्यो तितो सत्य पनि यो सङ्ग्रहमा अट्नु पर्छ भन्ने लाग्यो । त्यस्तै हाम्रा लोकछन्दहरु बचाउन हाम्रा कलमहरुले सक्दो भूमिका खेल्नुपर्छ भन्ने बोध पनि भएकोले यस सङ्ग्रहमा लोकछन्दका कविताहरु पनि समावेश गरेको हुँ ।

युवाहरु विदेसिँदा देश आमाबाबाको भरमा चलेको अर्को सत्य पनि छ । आमा बाबाकै रेखदेखमा रहँदा पनि देश रोइरहेको छ । यो सत्यलाई पनि समेटेर “आमाको काखमा दुखेको देश” निकाल्ने निधो गरिएको हो ।

परदेशमा रहँदा देश धेरै दुख्छ हो ?

देशको सिमाबाट टाढा पुगेपछि देश दुखेको अनुभूति गर्नेहरुको ठूलो जमात छ । म पनि त्यही जमातभित्र पर्दछु । त्यसको अलावा प्रवासको व्यस्त समयमा पनि कलम चलाइरहनुको अर्को मुख्य कारण भनेको विभिन्न कारणले देश छोडेर गए पनि देशलाई नभुलौं, देशलाई सम्झिराखौं, देशभित्र रहेका आफन्तहरुलाई सम्झिराखौं, देशभित्र देखिने तमाम विकृति र विसंगतिका विरुद्ध कलम चलाउदै सु—संस्कृत समाज निर्माणमा सक्दो भूमिका खेलौं भनी सन्देश दिनु हो । मैले यसरी कलम चलाएको देखेर मेरा केही साथीहरु पनि साहित्य लेखनमा लाग्नुभएको छ । यसले मलाई अझ सक्रिय भएर कलम चलाउन उर्जा मिलेको छ ।

“आमाको काखमा दुखेको देश” यो पुरस्कार पाएको खण्डमा प्राप्त आर्थिक राशिले के गर्नुहुन्छ होला ?

मेरो पहिलो कृति “आमाको काखमा दुखेको देश” र दोश्रो कृति “किवीको देशमा डाँफेको गुञ्जन”को बिक्रीबाट आउने लेखस्व साहित्यपोस्टले पुरस्कारका लागि स्थापना गर्न लागेको कोशलाई प्रदान गरिने छ । त्यस्तै यो पुरस्कार तथा यी कृतिहरुबाट जोडिएर आउने अन्य कुनै पनि किसिमका आय उक्त कोशलाई नै प्रदान गरिने छ । यसको मूल अभिप्राय भनेको साहित्यपोस्टले नेपाली साहित्यको जगेर्ना गर्ने महान् अभियानमा चालेको पवित्र यात्रामा आफ्नो मिहेनत मिसाएर ऐक्यबद्धता जनाउनु हो । यसबाट साहित्यपोस्टको स्थायित्वका लागि थोरै भए पनि टेवा पुग्ने छ भने विश्वास लिएको छु । यदि यसरी प्राप्त हुने पुरस्कारको रकम सो कोशमा जम्मा गर्न नपाइने प्रावधान छ भने यो रकम अर्को वर्ष प्रदान गरिने उत्तम काव्य पुरस्कारको लागि प्रदान गरिने छ । अर्थात् यो पुरस्कारबाट प्राप्त रकम पुरस्कारकै लागि खर्च गरिने छ ।

अन्त्यमा, भविष्यको साहित्यिक यात्राका योजनाहरु के के छन् ?

निकट भविष्यमा प्रकाशन गर्ने योजनासहित मुक्तकसङ्ग्रहको तयारी गर्दै छु । त्यसपछि हाइकुसङ्ग्रह प्रकाशन गर्ने योजना छ । यसरी जीवनभर नेपाली साहित्यका विभिन्न विधामा कलम चलाइरहने योजना छ ।