डा. वीरेन्द्र केसी

बितेर गयो तिहार पनि भाइ फर्की आएन
न भन्नु दिदी पोहोर झैँ टीका लगाउन पाएन
अर्को साल तर तिहारमा दिदी अवस्य फिर्नेछु
हजुरको हातको मखमली माला गलामा भिर्नेछु

हे बैनी तिमीले हरविघ्न दाइका ओखरमा फुटाई
मिसाई माया बनाई टीका कलश सजाई
लगाइदिऊँ भन्दा निधारमा टीका दाइ साथ नहुँदा
बुझायौ क्यारी कोमल मन दाइलाई सम्झदा

सपना मनका फुलाउन भनी प्रवास म आको
भएछ वर्षौं तिजमा पनि म लिन नआको
धेरै बेर छैन बिहानी हुन उज्यालो पोखिन
कल्पेर अहो हर्षिन्छ मन चाँडै आ त्यो दिन

दिदी र भाइको तिहारमा भैलो साथैमा गाउँला
दिदीको हातको सेल रोटी मिठो बाँडेर खाउँला
माइतीको घर मुटुझैँ प्यारो स्वर्ग ती आँखामा
नाचौली तिजमा बाबाको आँगन आमाको साथमा ।