डेब्यु काव्यकृतिका लागि दिइने ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ २०८० का लागि उत्कृष्ट ११ काव्यकृतिहरूको सूचीमा गगन याेक्पाङ्देनको कवितासङ्ग्रह ‘केवाफुङ्को गीत’ पर्न सफल भएको छ ।

द पोएट आइड’को पहिलो संस्करणमा सहभागिता जनाउँदै चर्चामा आएका कवि गगन योक्पाङ्देनको कवितासङ्ग्रह हो ‘केवाफुङ्को गीत’ । योक्पाङ्देनले सुन्दर भाषा–शैली तथा प्रभावशाली प्रस्तुतिका माध्यमबाट पोएट आइडलबाटै आफ्नो छुट्टै पहिचान बनाइसकेका छन् । त्यही पहिचानलाई अघि बढाउँदै सरल भाषामा आध्यात्मिक र दार्शनिक पक्षलाई जोड दिँदै उनको यो कवितासङ्ग्रह प्रकाशनमा आएको छ ।

पुस्तकलाई माया पब्लिकेसनले प्रकाशनमा ल्याएको हो । सङ्ग्रहमा ३८ थान कविताहरु सङ्ग्रहित छन् ।

छानिएका डेब्यु काव्यकृतिहरूमा सुषमा आचार्य ‘अंशु’काे कवितासङ्ग्रह ‘अक्षरको आयतन’, देवव्रतको कवितासङ्ग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’, मिथोचको कवितासङ्ग्रह ‘आगोको पिदार’, बाबुराम भुसालको कवितासङ्ग्रह ‘अभ्यास काव्ययात्रा’, गगन याेक्पाङ्देनको कवितासङ्ग्रह ‘केवाफुङ्को गीत’, अमर आकाशको कवितासङ्ग्रह ‘टुङ्गना’, सुशीला खड्का हसिनाको कवितासङ्ग्रह ‘पहिरोभित्रको घाम’, जानुका गुरागाईँको गजलसङ्ग्रह ‘परिवेशको सुसेली’, सुरेश राईको कवितासङ्ग्रह ‘सम्झनाको फोटोकपी’, विजय लुइटेलको कवितासङ्ग्रह ‘समयका खुकुला चप्पल’ र प्रकाश रम्घालीको कवितासङ्ग्रह ‘साँझकाे सङ्गत’ रहेका छन् ।

यो सूची नयाँ लेखकहरूका २०८० सालमा प्रकाशन भएका मध्ये हामीलाई प्राप्त २८ काव्यसङ्ग्रहबाट छानिएको छ । कृतिहरू साहित्यपोस्टसँग आबद्ध पत्रकार, साहित्यकार, सम्पादक र शुभेच्छुकहरूले दिएको नम्बरको आधारमा प्रारम्भिक निर्णायकहरूको टिमले छानेको हो ।

यो पुरस्कारको राशि ५० हजार रूपैँया रहेको छ ।

‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को प्रायोजन लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीले गर्नुभएको छ । शिक्षा र स्वास्थमा व्यवसायिक प्रगति गर्नुभएका कवि भौकाजीका दर्जनौं गीतहरु लोकप्रिय छन् ।

“यो पुरस्कारको उदेश्य नै नयाँ लेखकलाई पुरस्कृत गर्ने हो । यो सोच नै मलाई सर्वाधिक मन परेको विषय हो । नयाँ लेखकहरुको कृतिबारेमा यसरी बारम्बार चर्चा परिचर्चा हुनु र पुरस्कृत हुनुले लेखकमा थप उर्जा र जिम्मेवारी पनि बढाउँछ ।”, भौकाजी भन्नुहुन्छ, “नयाँ नयाँ खोज र नेपालीपनको उत्कृष्ट रचनाले नेपाली साहित्यको भण्डार भरियोस्, नवोदित लेखकहरूसँग यही अपेक्षाका साथ यो पुरस्कार प्रायोजन गरेको हुँ ।”

यो प्रारम्भिक सूची हो । यही सूचीका आधारमा दोस्रो चरणमा पुरस्कारका लागि छोटो सूची सार्वजनिक गरिने छ । र, तेस्रो चरणमा छोटो सूचीमा पर्न सफल काव्यकृतिमध्ये उत्कृष्ट एकलाई ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ प्रदान गरिने छ ।