पाल्पाको खस्यौलीमा जन्मनुभएका साहित्यकार भागवत खनाल अवकाशप्राप्त निजामती कर्मचारी हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर खनालले अवध विश्वविद्यालय भारतबाट समाजशास्त्रमा समेत स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ । त्यस्तै, त्रिविबाटै कानूनमा समेत स्नातकसम्मको अध्ययन गर्नुभएको छ । उहाँको पहिलो कृति कथासङ्ग्रह ‘बाबा मेरो पिआर आयो’ साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार २०८०’ को उत्कृष्ट तीनमा समावेश थियो भने हालै निबन्धसङ्ग्रह ‘आत्मबोध’ प्रकाशित छ ।
प्रस्तुत छ, साहित्यकार खनालसँग साहित्यपोस्टका लागि तैं तैं धितालले गर्नुभएको संवादको सम्पादित अंशः
….
तपाईंका कृतिहरू पढ्दा माझिएका साहित्यकारभन्दा कम देखिनुहुन्न । अध्ययन पनि प्रशस्त गर्नुभएको देखिन्छ । तर साहित्यिक क्षेत्रमा आउन यति ढिलो किन भयो ?
यस क्षेत्रमा ढिलो आएको होइन । किताब प्रकाशन नगर्दासम्म कृतिकारमा गणना गर्ने चलन छैन यहाँ । म त सानै उमेरदेखि नै साहित्यमय थिएँ । यो आगमनलाई सापेक्षतामा लिनुपर्छ । पहिले पहिले पढेर र अवलोकन गरेर समय बिताएँ । फेरि लेखेर समय बिताएँ । पुस्तक प्रकाशन नगरेको मात्र हो । प्रशस्तै रचनाहरू आमा, दिदीबहिनी र भाउजूहरूलाई सुनाएको छु । पत्रपत्रिका र अनलाइन माध्यममा सयौं लेख रचना प्रकाशित भएका छन् ।
तपाईंले एक वर्षअघि मात्रै कथासंग्रह ‘बाबा मेरो पीआर आयो‘ बजारमा ल्याउनुभयो । त्यो चर्चित पनि रह्यो । साहित्यपोस्टको उत्कृष्ट तीनमा पनि पर्यो । एक वर्ष नपुग्दै फेरि निबन्धसंग्रह ‘आत्मबोध‘ आयो । त्यस्तो हतार किन ?
यसलाई हतार पनि भन्न सकिन्छ । यो आतुरीबारे मलाई नै थाहा छैन । तथापि यसलाई पनि सापेक्षतामा हेर्न सकिन्छ जस्तो लाग्छ ।
हुन त तपाईंले प्राविधिक विषयमा लेखिरहनुभएकै हो । साहित्यिक लेखन र प्राविधिक लेखन बीच केकस्तो अन्तर हुँदो रहेछ ?
प्राविधिक लेखन भनेको के होला ? समसामयिक विषय पनि त वाङ्मयकै अङ्ग हो नि होइन र ?
तपाईंको निबन्धसंग्रहमा पूर्वीय दर्शनको निकै गहिरो प्रभाव देखिन्छ । त्यसको कारण के होला ?
म नेपाली हुँ । मलाई मेरो राष्ट्र प्यारो छ । त्यसैले म मेरो देशबारे लेख्छु । म एक हिन्दू हुँ । मलाई मेरो हिन्दू संस्कृति प्यारो लाग्छ । म मेरो संस्कृतिको प्रभावमा लेख्छु । म धार्मिक हुँ, तर अन्धविश्वासी होइन ।
म पूर्वको छोरो हुँ । मेरो धमनीमा पूर्वको रगत बग्छ । पूर्वीय दर्शन मेरो हृदयमा निवास गर्छ । म पाश्चात्य दर्शनको पनि जिज्ञासु हुँ । तथापि मेरो हृदयको प्रत्येक स्पन्दनले पूर्व बोल्छ ।
तपाईंले पश्चिमी साहित्य पनि निकै अध्ययन गर्नुभएको बुझिन्छ । पश्चिमेली साहित्य र पूर्वीय साहित्यमा कस्तो फरक अनुभव गर्नुभयो ?
बुनियादी अन्तर छ । पूर्वको आफ्नै धार्मिक, सामाजिक, सांस्कृतिक र दार्शनिक पक्ष छ । पूर्वीय साहित्यमा विशेष गरेर मानवीय कर्तव्य, आत्मा, परमात्मा र मोक्षमा जोड दिइएको छ । पाश्चात्य साहित्यको मर्ममा व्यक्ति हुन्छ । त्यहाँ आपसी समानता र व्यक्तिगत स्वतन्त्रतालाई महत्त्व दिने गरेको पाइन्छ । पूर्वीय साहित्य आदर्शमा आधारित छ । नैतिक उपदेश र त्यागका कुरा छन् । नीति र सदाचारका कुरा छन् । पाश्चात्य साहित्यले व्यक्तिगत मानसिक द्वन्द्व एवं मानवीय सबलता र दुर्बलताको सजीव चित्रण गर्दछ । पाश्चात्य साहित्य व्यावहारिक र यथार्थमा आधारित छ । पूर्वीय साहित्य गूढ र रहस्यात्मक छ । पाश्चात्य साहित्यमा प्राय: प्रस्टता र यथार्थता हुन्छ । समग्रमा पूर्वीय साहित्य आदर्शोन्मुख समुदायवाद र पाश्चात्य साहित्य व्यक्तिगत स्वतन्त्रताको रक्षामा आधारित छ भन्न सकिन्छ ।
तपाईंको कथासंग्रहले धेरै प्रशंसा पाएको थियो । अबको योजना उपन्यासमा हो ?
हेर्दै जाऔं । मलाई त अझै पेटभरि निबन्ध लेख्ने इच्छा छ । निबन्धमा आफ्नो समग्र व्यक्तित्वलाई उजागर गर्न पाइन्छ । निबन्ध लेख्दा स्वतन्त्र भएर उड्न पनि पाइन्छ । परन्तु विडम्बना के छ भने निबन्ध पढ्ने पाठकको अभाव छ यहाँ ।
मनुष्यको जेहनमा कथा मन पराउने तन्तु बसेको हुन्छ रे । सभ्यताको शुरुवात पनि कथा कहानी कहेरै भएको मानिन्छ । हाम्रो समग्र पौराणिक साहित्य कहानीले भरिएको छ । कथा पढ्दा रमाइलो पनि लाग्छ ।
म अहिले के गरौं गरौंको ऊहापोहमा छु । अब बयासी र त्रियासी सालमा नयाँ पुस्तक प्रकाशन गर्ने योजना छैन । चौरासी सालमा कुन विधाको किताब प्रकाशन गर्ने भन्ने सम्बन्धमा अबको छ महीनापश्चात अठोट गर्नेछु ।
‘आत्मबोध‘मा मान्छेले गर्ने भूल र कमजोरीलाई उघार्ने काम गर्नुभएको छ । यो तपाईंको आफ्नै भोगाइ हो कि पूर्वीय तथा पश्चिमेली साहित्यको प्रभाव हो ?
भोगाइ, सांस्कृतिक प्रभाव र अध्ययन तीनै कुराको भूमिका छ होला ।
पाठकले आत्मबोधलाई कतिको माया गरिरहेका छन् ?
सामान्य, किन्तु उत्साहजनक प्रतिक्रिया पाएको छु । निबन्धका पाठक अलिकता अन्तर्मुखी हुन्छन् जस्तो लाग्छ मलाई । प्रबुद्ध पाठकहरू उस्तो मुखरित हुन नचाहने खालका हुन्छन् । पाठकहरूसँगको भेटमा निकै सकारात्मक प्रतिक्रिया पाएको छु । कहिल्यै नदेखेका मानिसले पनि “म तपाईंको नियमित पाठक हुँ” भनेको सुन्न पाउँदा खुशी लाग्छ । समग्रमा मेरो पाठकीय फैलावट र बजारसम्मको पहुँच साँघुरो छ । जति माया पाएको छु, पर्याप्त छ ।
अन्त्यमा, पाठकलाई के भन्न चाहनुहुन्छ ?
म सीमान्तको लेखक हुँ । मैले मेरो साहित्यिक योगदान अनुरूपकै पाठकीय अभिमत पाएको छु । साहित्यको महासागरमा मेरो प्रवेश एउटा सानो लोटा बोकेर भएको छ । मेरो सानो लोटामा जति मात्राको जल अटाउँछ, त्यत्ति नै मेरो औकात हो । जे जति दिएको छु, त्यही अनुपातमा नै प्रशंसा र आलोचना पनि पाएको छु । समग्रमा सन्तुष्ट छु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२७ कार्तिक २०८२, बिहीबार 










