एका देशको घटना हो । एक दिन बस्तीका सारा मानिस जम्मा भएर बैठक गरे । के कारणले गर्दा जीवन दुःखदायी छ ? वृहत् छलफल भयो । निचोड के निस्क्यो भने समस्त दुःखहरूको कारण ईर्ष्या, आसक्ति र आपसी प्रतिस्पर्धा नै हो । सभाले सारा ईर्ष्या, प्रतिस्पर्धा, दानवीय प्रवृत्ति र अमङ्गललाई आआफ्नो घरभित्रको अँध्यारो कोठरीमा थुन्ने सर्वसम्मत निर्णय गर्‍यो । बेलुका घर पुगेर सबैले आआफ्ना समस्त स्वार्थी प्रवृत्ति र अमङ्गलहरूलाई अँध्यारो कोठरीमा थुनिदिए ।

त्यो साँझ कुनै घरमा पनि कलह भएन । समग्र मानसिक कलुषता, द्वेष र क्लेशबाट मुक्त जनमानस अपूर्व आनन्दले सुत्यो । अर्को दिन बिहान सबेरै एक जना धर्मभिरू वृद्ध उठेर मन्दिरतिर लागे । बाटो पूरै खाली थियो । उनी  त्रिदेवीको मन्दिरमा पुगे  । आश्चर्य ! मन्दिरको मूलद्वार नै बन्द थियो । त्यहाँ महालक्ष्मीको कीर्तन गर्ने कोही थिएन । महाकालीलाई बलि दिएर तात्तातो रगत चढाउने कोही थिएन । त्यहाँ महासरस्वतीको अर्चना गर्दै ‘या कुन्देन्दु तुसारहार धवला या शुभ्रवस्त्रावृता’ गान गर्ने कोही थिएन । लाग्दथ्यो, कि त बस्तीका सारा मानिसको सामूहिक मृत्यु भयो, या सबैका समस्त कामना पूरा भएको हुँदा देवीको आराधनाको प्रयोजन नै सकियो ।

वृद्ध बस्तीतिर फर्के । त्यहाँ कुनै गतिविधि थिएन । चौतर्फ सन्नाटा नै सन्नाटा । कतै पनि शंख घण्ट बजेको सुनिंदैन । जनावरहरू भोक र तिर्खाले ‘बाँ बाँ’  कराइरहेका छन् । कुखुराहरू खोरभित्र छटपटाइरहेका छन् । मानिसहरू बिहान निद्राबाट नबिउँझेका होइनन्, जागा नभएका होइनन् । अब उनीहरू सामु सबेरै उठ्नुको प्रयोजन थिएन । तातो ओछ्यान छाडेर जाडोमा सिउसिउ गर्दै बाहिर दगुर्ने कुनै हतारो थिएन ।

जीवनमा आकांक्षा थियो र न बिहान उठ्नुको मतलब हुन्थ्यो । प्रतिस्पर्धा थियो र न जाँगर थियो । ईर्ष्या थियो र न अरूभन्दा उम्दा बनेर देखाउने उत्कण्ठा थियो । सबैका सामु म पनि केही हुँ भनेर देखाउनु थियो र न उत्कृष्ट बन्ने उत्कट अभिलाषा थियो । पल्लो घरको छिमेकीका छोराछोरीभन्दा आफ्ना छोराछोरीलाई प्रतिभावान् र चेतनशील बनाउने सपना थियो र न बिहानै उठाएर पढाउनुको प्रयोजन थियो । केही माग्नु थियो र न मन्दिरका द्वार खोलेर देवीको दर्शन र उपासना गर्नु जरुरी पर्थ्यो । सारा आकांक्षालाई गण्डकीमा सेलाएर सुतेपछि बातै खत्तम । साराका सारा प्रतिस्पर्धालाई तिलाञ्जली दिएपछि केका लागि रडाको गर्नु । समस्त अमङ्गलहरूलाई अँध्यारो कोठरीमा थुनेपछि कुन मङ्गलका लागि देवीको स्तुति र आराधना गर्नु । आप्त कामले कुन कामना पूर्ण गर्न त्रिदेवीको अर्चना गर्नु ?

यो त भयो एका देशको घटना ।  वास्तविक जीवन त्यस्तो हुँदैन । सबैजना बुद्ध बने भने  बुद्धलाई कसले खान दिने ? सबै मानिसहरू आधा रातमा घरबार परित्याग गरेर वनको बाटो लागे भने ? सृष्टि नै अवरुद्ध हुनेछ । तथापि मूल प्रश्न के हो भने  किन प्राप्ति सधैँ अपर्याप्त हुन्छ ? किनकि जीवन पूर्ण बन्न चाहन्छ । मान्छे अर्को मान्छेको तुलनामा ज्यादा विद्या, बुद्धि,चातुर्य र धनको स्वामी बन्न चाहन्छ । सारा अपूर्णताको समाप्ति चाहन्छ मान्छे  ।  अविरल यात्रा हो जीवन, जो आज जहाँ छ, भोलि पनि त्यहीँ अडिन सक्दैन । आज तपाईं जहाँ हुनुहुन्छ त्यहीँ सन्तुष्ट हुनुभयो भने के हुन्छ ? कुन कर्म गर्न बाँकी रहन्छ ? पूर्ण सन्तुष्टि भनेको इच्छाको समाप्ति हो । इच्छाको समाप्ति भनेको शक्तिको समाप्ति हो ।

एउटा डबलीमा दुई जना जँड्याहा कलह गरिरहेका थिए । बाबुआमाको नाममा गालीको वर्षा भइरहेको थियो । दुबैका हातमा धारिला चक्कु थिए । दुईबिचको दूरी एक गज मात्र थियो । कमिजको बाहुला कुहिनामाथि, आँखा राता राता र नाकबाट सिँगान बहिरहेको । ‘तेरो भेजा निकाल्छु । तेरो मुटु यसरी फोर्छु, जसरी भीमले दुःशासनको फोरेका थिए ।’ त्यो विकराल झगडा हेर्न असङ्ख्य मानिस जम्मा भए । अब हान्छ तब हान्छको स्थिति थियो । एउटाले धकेल्यो,  अर्कोले झनै ठुलो धक्का दियो ।  एउटा जोडले भूमिमा पछारियो । ऊ धूलो झार्दै  जुरुक्क उठ्यो र कालभैरव झैँ हुङ्कार गर्दै दौडेर आयो । अब हान्छ, एक सेकेन्ड मात्र….। तर  आश्चर्य ! उसले हानेन । चिच्याएर  बोल्यो, ‘तैँले के ठानेको हँ आफूलाई  ?’

मानिसहरू कम्पित स्वरमा भन्दै थिए, ‘अब जे पनि हुन सक्छ ।’

अलि पर चौतारीमा एक जना सन्त जस्तो देखिने मान्छेले समाजमा शान्ति, सद्भाव,  करुणा र  सत्यको आवश्यकताबारे प्रवचन दिंदै थियो । ‘संसारमा दु:ख छ, किनकि यहाँ ईर्ष्या र द्वेष छ । सारा कलहको कारण नै आसक्ति, अभिमान र लोलुपता हो ।’  सन्त अविरल बोलिरहेको थियो, तर त्यसमा कुनै रस थिएन । रस त उता झगडातिर थियो । आकर्षण सम्भावित हिंसातिर थियो । अपशब्द, निन्दा र प्रहारमा मजा थियो ।  श्रोताहरू एक एक गरेर उतै गए । अन्तमा सन्तको निकटमा दुई जना कानले नसुन्ने वृद्धहरू मात्र बाँकी रहे ।

निकै बेरसम्म बीभत्स अभिनय गरेपछि दुवै जना लडाकु शान्त भए । उनीहरू प्रवचन दिइरहेको मान्छेको अगाडि आएर बसे । कत्रो आशाले दुई जना पहलमानहरूको मल्लयुद्ध हेर्ने मौका मिलेको थियो I न त कसैको हातखुट्टा भाँचियो, न आँखा नै फुट्यो I जनसमूह अत्यन्त निराश भयो । प्रवचन दिने सन्त जस्तो देखिने मान्छेले भन्यो, ‘यो त हामीले एउटा प्रयोग गरेको मात्र हो । मनुष्यको मूल प्रवृत्तिको व्यावहारिक परीक्षण ।’

‘योग वाशिष्ठ ?’ भन्दछ, ‘भोगरूपी चोरले अज्ञानरूपी रातमा आत्मारूपी धनको चोरी गर्दछ । लक्ष्मीको अभावमा मन व्याकुल हुन्छ । धन आर्जन गर्ने तीव्र अभिलाषा मनुष्यको सामान्य प्रवृत्ति हो । धनको प्राप्तिले अहङ्कारको प्रस्फुरण हुन्छ । कदाचित अर्जित धनको नाश हुन गयो भने चित्तमा तृष्णारूपी अन्धकार छाउँछ । यसरी लक्ष्मीरूपी वायुले ज्ञानरूपी बादललाई उडाएर लैजान्छ । तथापि प्राय: प्रत्येक मान्छेमा लक्ष्मीप्रति मोह नै हुन्छ ।’

एक दिन देवघाटमा काली र त्रिशूलीको सङ्गम नजिकै बसिरहेको थिएँ । अलि परतिर दुई जना विद्यार्थी किशोरहरू आपसमा झगडा गर्दै थिए । अपशब्द र गालीगलौजको सीमा थिएन । सायद संस्कृत पाठशालाका छात्र थिए उनीहरू । लामो लामो टुप्पी हल्लाउँदै हानाहान नै गर्न थालेपछि केही पर उभिएका तीन जना प्रहरीहरू युद्धस्थलमा आइपुगे । दुई जना  सिपाहीले एक एक केटाको कठालो समाते ।

हवलदारले सोध्यो, ‘केको झगडा हो यो ? किन तमासा गरेको ?’

एउटा ठिटोले भन्यो , ‘मैले गण्डकीको च्याप्टो ढुङ्गामा गम्छा धोइरहेको थिएँ । यसले ‘हट् ! त्यो त मेरो ढुङ्गो हो’ भन्यो । मैले भनें, ‘नदीको ढुङ्गो पनि कसैको निजी हुन्छ ?’ यसले फेरि भन्यो, ‘हुन्छ नि मैले सधैँ लुगा धुने गरेको ढुङ्गो हो ।  तैँले  अर्को कुनै ढुङ्गो पाइनस् र मेरै ढुङ्गोमा आँखा गाडिस् ?”

हवल्दार अचम्ममा   पर्‍यो । गण्डकीको ढुङ्गोमाथि स्वामित्वको कलह ? नदीमा पनि सुकुम्वासीको कब्जा ?

हबलदार चिच्यायो, ‘होइट्ट केटाहरू ! तिमी कस्तो पण्डित हुने हौ हँ भविष्यका ?’

सिपाहीले सोध्यो,   ‘यसलाई के गर्ने साब ?’

हबलदारले भन्यो, ‘यो ठिटो हाम्रो भविष्यको धरोहर हो । भविष्यको नासोलाई कारबाही गर्ने कानुन छैन । यसलाई छाडिदे ।’

कहिलेकाहीँ मनभन्दा पनि भित्र गहिराइमा कतै उत्ताल तरङ्ग उठ्दछन् । ती उतार–चढावको अवलोकन गर्दछु बुद्धिको माध्यमले । हमेसा मनमा ‘मान्छे’को बिम्ब खेलिरहन्छ I बिम्बमय मनभित्र कहिले आफै नाचेको देख्छु र कहिले अरू नरनारी नाचेको । बाह्य चेतनाले भन्दछ, ‘सत्य, करुणा र विवेक बिनाको जिन्दगी के जिन्दगी ।’ परन्तु मेरो अन्तश्चेतनाले म आफै को हुँ भन्ने कुरा खुब राम्रोसँग जानेको छ । ‘आफैले चिनेको आफू’लाई सबैका सामु चिनाउन कठिन हुँदो रहेछ । ढोङ, आडम्बर र पाखण्ड नगरीकन यस दुनियाँमा जिउन पनि त कठिन छ ।

भोक, तिर्खा र थकानले ग्रस्त मनुष्यलाई ज्ञानका कुरा सुनाउने वक्ताप्रति व्यङ्ग्य गर्दै एक जना महोदय भन्दै थिए, ‘सज्जन छोरालाई बाबुले उपहास  गर्ने समय हो यो ।’ सायद सज्जन भनेको कमाइको चिन्ता नगर्ने मानिसलाई होला । सम्पदा, सत्ता र शक्तिको प्राप्ति भई हाले  पनि अभिमान नगर्ने मान्छेलाई होला । सादगी र सत्कर्मको मार्ग अपनाउँदै परिश्रम गर्ने व्यक्तिलाई होला I परन्तु त्यस्तो सज्जन मान्छेलाई ठगेर दौलत जम्मा गर्ने दुर्जन मान्छेले उल्टै खिसी गर्दछ । महोदयले अर्को घतलाग्दो कुरा पनि भने, ‘जीवनको नश्वरता बुझ्ने, परिश्रम गर्ने, कम सामा,  कम खाना र कम नानामा चित्त बुझाउने गैर कम्युनिस्टलाई छट्टु कम्युनिस्टले गिज्याउने समाज हो यो ।’

आफूभन्दा अगाडीको लाइन लामो देखेर हतोत्साहित हुन्छ मान्छे । पशुपतिको दर्शन गर्ने गएको मान्छे पनि लाइन मिच्न प्रवृत्त  हुन्छ । ऊ पशुपतिमा अगाध आस्था राख्दै भन्छ, ‘महादेवको तेस्रो आँखाले हाम्रा सारा गतिविधिको निरीक्षण गरिरहेको हुन्छ ।’ परन्तु जब आफैले पालो मिच्ने मौका आउँछ, शिवजीको तेस्रो आँखा पनि बिर्सिदिन्छ मान्छे । मान्छेको आवश्यकता सानो छ, तर आकांक्षा ठुलो । जति धेरै माल र मित्र, त्यति नै धेरै झमेला । तर मान्छेले बुझ्दैन, बुझ्ने चेष्टा नै गर्दैन । कति वर्ष पुग्नुभो तपाईं ? तिस, चालिस, साठी या असी ?  कसरी बिते दिन ? चरो उडेझैँ उडेर गयो हैन त जोबन ? अब जे बाँकी छ,  त्यो पनि भुरुरु उडेर जानेछ । मान्छेको जीवनको एउटा अविरल प्रवाह, जुन प्रवाहको कुनै भौतिक बनोट छैन ।