आचार्य प्रभा

जोडिएको सम्बन्ध कुनै दिन टुट्न सक्छ हजुर
कोमल मुटु अशक्त पीडाले फुट्न सक्छ हजुर ।

यो बनावटी कागजी दुनियाँ हो बुझ्नु होस् साथी
जसरी उडेको चङ्गा धागोबाट छुट्न सक्छ हजुर ।

मिल्दासम्म मन गल्ती पनि स्वीकार हुँदो रहेछ
त्यही स्वार्थले ओठको हाँसो लुट्न सक्छ हजुर ।

पुर्याइन्न होस् नपरुञ्जेल धोकाको खाडलमा कोही
जब पर्छ पीडा आँसुको थोपाले कुट्न सक्छ हजुर ।

नफस्नु जानाजानी आँधी हुरीमा भुलेर कोही पनि
बेगमा बर्षेको पानीले निर्घात चुट्न सक्छ हजुर ।

रचना-आषाढ २९/ २०७९

आचार्य प्रभा दमक (झापा)