राजेश स्पन्दन

अब त बिस्तारै-बिस्तारै यी यौवन मन्द हुनेछ
घमण्ड किन आखिरीमा यो सास बन्द हुनेछ ।

कति दबाउनु यो मनभित्र ती तानाशाही पना
अति नै अत्याचार हुँदा आवाज बुलन्द हुनेछ ।

के रोपी कटनी गरौ महासय बडो द्विविधा भो
सायद जान्न पाएको दिन मनमा आनन्द हुनेछ ।

लौन प्रभु सकिँन मैले यी शब्दका छाल रोक्न
कम्तिमा एकदिन मेरो गजलमा नि छन्द हुनेछ ।

दु:खले समेटेको जीवनमा खुसी त पराई नै भो
होला कुनै दिन दुखलाई यो जीवन पसन्द हुनेछ ।

भक्तपुर(२०७९/०३/१२)