“उमल्लेक चिर्ण्को पणिजाउ खानलाई पानी नाई !

हाँसु भण्या मन मैलोई छ रुउ भण्या बानी नाई !!”

कुनै दिन आफ्नै पुर्खाले पैदल नापेको बाटोमा आज मोटर चढेर जान पाउँदाको रोमाञ्चकता बेग्लै थियो । प्रदेश गौरवको सडक डडेलधुरा बेतकोट सडकको यात्रामा थियौं हामी । साथमा थिए अमरगढीका मेयर र अन्य जनप्रतिनिधि तथा सञ्चारकर्मीहरू ।

उपर्युक्त  डोटेली भाषाका गीतका हरफहरूले नुन गुडका लागि तराईको जिल्ला कञ्चनपुर हुँदै भारतीय सीमा बजार टनकपुरमा नुन र आङ ढाक्ने एकसरो लुगाका लागि पुग्ने बटुवाले पैदल बाटोमा पर्ने उमल्लेकको काकाकुल उकालोलाई सरापेर पाहाडको पीडा ओकल्छन् ।

नुन गुड किन्नलाई पनि सात दिनको कठिन पैदल यात्रा कसै कसैका लागि त महिनौं दिन पनि । न आङमा गतिलो लुगा जाडो भगाउने, मात्र साथी छ तमाखु र सुल्पा अनि आश्रयका लागि यिनै धर्मशाला । हाम्रा पुर्खाले कैयौं रात काटे यिनै धर्मशालामा तर हाम्रा दुःखका साक्षी यी धर्मशाला आफै दुःखमा छन् अहिले  । कुनै दिन बटुवाले खचाखच भरिने यी धर्मशाला (पाटी) अहिले गाडीले उडाउने धुलोले धुल्याम्म छानो लिएर मानिसको भौतिक प्रगति देखेर मख्ख त होलान् तर इतिहासका जिउँदा साक्षी यी धरोहर तर्फ ध्यान नदिएकोमा खिन्न पनि ।

पाहाडका लागि विकासले  उमल्लेकको काकाकुल उकालोमा पानी त पुर्‍यायो । रंगुन तर्नुको कहर त हरायो । अलिकति पनि अँध्यारो हुँदा बिज्ज्वा भूतको भयबाट त बाहिर निस्क्यो । तर सयौं वर्षको जीवित इतिहास जसले संघर्षको गाथा गाउँछन्, अनि हाम्रा सबैका पुर्खाका सम्झनाका पोका खोल्छन्, त्यसका लागि पनि माल पाहाड जोड्ने पैदल बाटोका यी धर्मशाला संरक्षण गरिनु पर्छ ? पहाडको दुःखको इतिहास जीवन्त बनाई त्यसैमा पर्यटकीय सम्भावनाको खोजी गरिनु पर्छ ? आय र रोजगारीको माध्यम पनि बनाउने हो कि ?

बाटोमा हिंड्दै देखिएका पुराना धर्मशाला र रामशिलाको धारोले सानो छँदा बुवाले बाटोको कहर सुनाएको सम्झना ताजा मात्र भएन । बरु यिनै धर्मशाला संरक्षण गरी यसैमा पर्यटकीय सम्भावना खोज्ने सोच पनि पलायो । बाटो मज्जाको बन्दै रहेछ ।

अडिने मनै लागेन महाभारतको डाँडोबाट फर्किने सल्लाहलाई नकार्दै उमल्लेक सम्मको यात्रा गर्ने मनसा व्यक्त गरेँ । एक दुई जना बाहेकले स्वीकृतिमा टाउको हल्लाए ।

आफूलाई आमाले सुनाएको माथि उल्लेखित गीतले उमल्लेक सम्म पुग्न मद्दत पुर्‍याएको थियो ।

डडेलधुरा सदरमुकामबाट घटालडोटीको सुन्दर फाँट हुँदै लरडा कोटेउडा चिरिकिट्टे हुँदै महाभारत सम्मको यात्रा कम्ती मनमोहक छैन । घना जङ्गलभित्रको छिटफुट पात्लो बस्ती अनि महाभारतकालीन पाण्डवहरूका पदचिह्न भएको महाभारत लेगमा भागेश्वर बाबाको पवित्र धामले धार्मिक तथा ऐतिहासिक पर्यटनको अपार सम्भावना देखाए पनि स्थानीय सरकार अझै जागरूक भएका छैनन् ।

काम  नगरी समृद्धिको गफ गर्ने हामी उद्यमशीलता बिना समृद्धि आउँदैन भन्ने कुरा कहिले बुझ्ने हो ? सम्झँदा सम्झँदै दिक्क लागेर आयो ।

यस्तैमा हामी महाभारतको टाउको टेकिसकेका थियौं । तल तिर देखिएका लुलानका बस्तीहरू अझै मलिन देखिन्थे । महाभारतको टुप्पोमा केही चौडा गरा अनि त्यसैमा बनेका धर्मशालाहरू जसले हजारौं बटुवालाई कुनै दिन आश्रय दिएका थिए । ती सब देखेर मनमा हर्ष र बिस्मातको स्थिति देखियो ।

बाटो नाप्दै जाँदा थोरै पर रामशिलाको धारा  देखियो । जुन धाराको चिसो पानी पिएर हजारौं बटुवाले आफ्नो तिर्खाएको ज्यानलाई त्राण दिएका होलान् कुनै दिन ।

अहिले त धारो सुकिसकेको रहेछ । पानीको मूल भने रहेछ । त्यही मूल नजिक बनाएको खाल्टोको पानी मिनरल वाटरको बोतल भरेर पिउँदै आफ्ना पुर्खाको यादलाई जीवन्त पार्यौं ।

रामशिलाबाट निलामाटी अनि त्यसभन्दा अगाडी निङलाण् जहाँ बिज्ज्वा भूतका अनेक कथाहरू मैले बचपनमा सुनेको थिएँ । कतै बिज्ज्वासँग साक्षात्कार गर्न पाइन्छ कि मैले रमाइलोका लागि बिज्ज्वा भूतको प्रसङ्ग कोट्ट्याएँ । गाडीमा भएका सबै गलल हाँसे ।

म भने बाल्यकालको स्मृतिमा पुगिसकेको थिएँ । बिज्ज्वा भूतले बटुवालाई बिँडी दिएको देखि छोराको बिहेका लागि कन्या जुराउन ज्योतिषको घरसम्म आएका कथाहरू मेरा मानसपटलमा ताजा भएर आए ।

पाहाडमा हावाहुरी सहितको ठूलो पानी आउँदा बिज्ज्वाको छोराको बिहे भएकाले यस्तो भएको हुनुपर्छ भनेर अटकल काटिन्थ्यो । तर अहिले ती बिज्ज्वा र तिनका सन्तान कता गए होलान् कतै मुक्ति पो पाइहाले कि ! एक जना सहयात्रीले सुनाए । अरू सबै पुनः हाँसे ।

यस्तैमा हामी पुग्यौं गोगनको सुन्दर बस्तीमा । कम्ती रमाइलो थिएन अग्लो पाहाडसम्म परेको गाउँ । बाटोमा एक दुई वटा चियापसल । एक छिन गाडीबाट ओर्लियौं । त्यस बाटोको सुगन्धमा पुर्खाहरूका पसिनाको गन्ध मिसिएको थियो ।

दिउँसोको दुई बजिसकेको थियो तल कलेना, सलुन, आम्पानी र जोगबुढाका फाँट देखिए । आफू भने उमल्लेकको धर्तीमा पाइला टेक्न लालायित थिएँ । आम्पानीबाट ठाडो उकालो काटेर पुगिने उमल्लेकमा पानीको सारै दुःख, एक जना पसले पानी बेच्थे रे !

पैसा अत्यन्त दुर्लभ हुने त्यो युगमा किनेर पानी खानु पर्ने  । पैसा नतिरे ज्यान नबच्ने । भारी बोकेर उकालो चढेर तिर्खाएको आँत बिझाउन पनि पानी किन्नु नै पर्ने । कतै दुःख थियो है हाम्रा पुर्खालाई नुन कै लागि यत्तिको सास्ती सम्झँदा आङ सिरिङ्ग भयो ।

यस्तैमा पुगियो उमल्लेक !  तराईबाट पाहाड उक्लिंदा सलुनको फाँट छिचोल्दै  टोपी खस्ने उकालोको टुप्पोमा रहेको सानो बस्ती । अचेल त पानी पुगिसकेको रहेछ ।

ऊ “पानी बेच्ने घर त्यही हो” स्थानीय एक महिलाले औलाले इसारा गरिन् । मैले भने टाढैबाट नमस्कार गरेँ उमल्लेकको त्यो चौपाखे घरलाई ।

अनि मनमनै धन्यवाद पनि दिएँ आफ्ना पुर्खालाई पैसा लिएरै भएपनि पानी खुवाएकोमा ।