हरियो डाँडा, डाँडामाथि खुला चौर, त्यहाँ बहने सिरसिरे चिसो बतासले शरीर सुमसुम्याउँदाको आनन्द ।

हो हरियाली बिछ्यौना ओढेकी प्रकृतिको सुन्दरतालाई पृष्ठभूमि बनाएर स्रष्टा पदयात्री फोटो खिच्न मन पराउँछन् ।

हाम्रो देशलाई प्राकृतिक सुन्दरताले भरिदिएको छ । ती विशेषता चिनेर त्यहीअनुसार काम गर्दै जाने हो भने हाम्रा सबै युवा देशमै रमाउन सक्छन् । हरियालीको बीचमा रहेको कागेश्वरी हिन्दू र बौद्ध धर्मावलीहरूको आस्थाको केन्द्रको रूपमा चिनिन्छ । हामी २०७५ सालको मंसिर ७ गते स्रष्टा पदयात्राको पच्चिसौँ यात्रामा पुगेका थियौँ कागेश्वरी । हाम्रो पदयात्राको गन्तव्य थियो— कागेश्वरी मनहरा नगरपालीकाको सहिदपार्क, कागेश्वरी र सुन्दरीजल पुग्ने । हाम्रो लक्ष्य थियो गागलफेँदीबाट उकालो उक्लिएर गाउँघर हेर्दै डाँडामा रहेको सहिदपार्क, गाउँबस्ती ओरालो ओर्लिएर कागेश्वरी अनि तीरपाइलो बाटो मजाले यात्रा गर्दै सुन्दरीजल पुग्ने । कागेश्वरी मनहरा नगरपालिकाको सबभन्दा अग्लो डाँडोलाई रमणीय सहिदपार्कको रूपमा सजाइएको छ ।

निर्माणकार्य सम्पन्न भइनसकेको यो पार्कबाट मौसम खुलेको बेला काठमाडौं उपत्यका र हिमालको लस्कर देखिन्छ भने सर्पाकृत रूपमा बगेकी मनहरा र सोको फाँटमा हरियो खेत देख्दा मन आनन्दित हुन्छ । ढुङ्गे सिँढी उक्लेर डाँडाको थुम्कामा पुग्नुपर्ने सो पार्कमा घुमन्तेको भीड लाग्ने गरेको त्यहाँ छरिएका पानीका रित्ता बोतल र फास्डफुटका खोलले बताउँदै थियो । पारिवारिक घुमफिरको लागि पनि एकदम आनन्दको शान्त वातावरण भएको ठाउँ छ यो ।

गागलफेँदीको डाँडामा बनेको सहिद पार्क राम्रो पर्यटकीय गन्तव्यको रूपमा विकास हुन सक्ने सम्भावना छ । हो हामीले १२ बजेको करिबमा सोही पार्कमा बसेर भोजन गरेका थियौँ ।

यस पार्कको काखमा कागेश्वरी मनहराका गाउँबस्ती र हरिया थुम्का देखिन्छन् भने उत्तरमा हराभरा शीवपुरी जङ्गल । यस पार्कको चौरमा बसेर नाचगान गर्न खाना खान सकिन्छ । पार्कबाट अति मनोरम, पुराणकथासँग सम्बन्ध मणिचूड दह जान सकिन्छ । यस पार्कदेखि उत्तर–पूर्व डाँडापारी पर्छ मणिचूड दह । पश्चिमतर्फबाट कलकल बग्दै गरेको निर्मल स्वच्छ पानी दहमा पर्नासाथ कालो देखिन्छ । पौराणिक कालमा दानी राजा मणीचूडले हवन गरेको कुण्ड नै अहिलेको दह भएको भन्ने किंवदन्ती छ ।

किंवदन्तीअनुसार उहिल्यै मणिचूड राजाले आफ्नो देशका प्रजाको कल्याण होस् भनेर यज्ञ गरेका रहेछन् । दानी राजाले प्रजाको कल्याणका लागि गरेको यज्ञमा प्रजाले हृदय खोलेर साथ दिएछन् । राजा र प्रजाले गरेको यज्ञ वृहद् थियो र सम्पन्न भयो । निकै वर्षसम्म हवन गरिएको कुण्ड कालान्तरमा दहको रूप लिन पुग्यो । हवन गर्दा डढेको चरूको कारण दहको पानी कालो देखिएको भनाइ रहेको पाइन्छ । पदयात्रा गर्दा के के देखिन्छ, जङ्गलको बीचमा रहेको मणिचूड दह देख्न पाउनु कम महत्त्वको कुरा होइन ।

यसपटक यात्रामा हामी मणिचूड दह गएनौँ, त्यहाँको यात्रा २०७४ असोज ६ गते गरिसकेका थियौँ । सहिदपार्कमा खानपिन गरेर केहीबेर सुस्ताएपछि कागेश्वरी जान ओरालो ओर्लिन थाल्यौँ । गागल नामक डाँडामा रहेको गाउँ पुग्यौँ । गोरेटोबाटै बाटो सफलतापूर्वक हिँड्न थाल्यौँ । काठमाडौं जिल्लामा पनि कर्णाली रहेछ, गाउँ घरमा पुगेपछि प्रत्यक्ष देख्न पायौँ । शहरका भान्सामा चालीस पचास रुपैँया किलो पाक्ने स्कूस त्यहाँ बाटैभरि छरिएका थिए । राजनीति तात्कालिक सम्भावनाको खेल हो र पदयात्रा स्वच्छ मन भएका, प्रकृतिको काखमा रमाउनेको अभियान हो । पदयात्रा सिद्धान्त होइन, प्रत्यक्ष जानकारी लिने, यथार्थ थाहा पाउने सफल अभियान हो ।

पदयात्राको विरोध कसैले गर्दैन । हो दर्शनमा डुबेकाहरू पदयात्रामा रमाउँदैनन् । पदयात्रामा दर्शनवीद् रमाउँदैनन्, प्रवृत्तिमा र निवृत्ति चाहन्छ । आन्तरिक पर्यटकलाई यस क्षेत्रमा निम्त्याउन सकेमा गाउँलेको आयस्रोत बढ्छ । त्यसै गरी यहाँको हरियाली डाँडामा पदयात्राको रुट बनाउन सकिन्छ । यसका लागि गाउँलेहरूले सरोकारवालासँग समन्वय गरेर काम गर्नु पर्छ । सहिदपार्कबाट माथिल्लो बाटो हिँडेर सुन्दरीजल पुगिन्छ । हामी ओरालो ओर्लंदै गोरेटो बाटो भएर रोमाञ्चक यात्रा गरी कागेश्वरी पुगेका थियौँ । माथिल्लो बाटो सुन्दरीजल जाने अलिक लामो छ, रमणीय छ । गागल गाउँ पाखामा तामाङ जातिको बसोवास छ, जहाँ मोटरबाटो छ त्यहाँ खाजा खाने पसल छन् ।

कागेश्वरीको फाँट खुला ठाउँ रहेकोले वातावरण सफा छ । गागलफेँदी बजारमा नपुगेसम्म बस पाइँदैन । हिन्दू र बौद्ध दुबै धर्मावलम्वीको आस्थाको केन्द्र कागेश्वरीमा वैशाख पूर्णिमामा भव्य मेला लाग्दो रहेछ । मणीचूड दहबाट बगेर आएको पानीले यहाँ स–सानो झरनाको रूप धारण गरेको छ । शान्त वातावरणमा सुसेल्दै झरेको झरनाले कागेश्वरीको शौन्दर्य बढाएको छ । किंवदन्ती, यहाँको महादेव कागले पत्ता लगाएर आफ्नो चुच्चोबाट जल चढाएर दर्शन गरेको भन्ने रहेको छ । यसैकारण यहाँ धातुको विशाल काग बनाएर राखिएको छ । यात्रा गरेको ठाउँको बारेमा सम्झँदै लेख्नबस्दा केही शब्द तलमाथि पर्न जान्छ, यस्तो भएको छैन भनेर म दावा गर्दिनँ । कतिपय शब्द लेख्न छुट्छन्, त्यसका ठाउँमा नलेख्दा पनि हुने शब्द थपिन्छ ।

हामी प्रत्येक महिना पदयात्रा गरिरहन्छौँ । डाँडामा पुग्छौँ । ओरालो ओर्लन्छौँ । केही समय कागेश्वरीमा रमाएर हामी गोरेटोबाटो पश्चिमतर्फ उक्लियौँ । उकालो सकिएपछि तेरपाइलो बाटो हिँड्न थाल्यौँ र स–सानो चउरजस्तो स्थानमा बसेर कविगोष्ठी गरेका थियौँ । अनि हामी सुन्दरीजल पुग्नको लागि जङ्गलमा रहेको चाक्लो बाटोमा पुगेर पश्चिमतर्फ एकाेहोरो हिँड्न थाल्यौँ । हिँड्दै जाँदा अन्ततः हामी मेलम्ची खानेपानीको काम हुँदै गरेको स्थल सुन्दरीजल पुगेका थियौँ । निर्माणस्थलमा धमाधम द्रुत गतिमा काम हुँदै गरेको हेर्न थालेका थियौँ ।

मेलम्ची खानेपानीको निर्माण कार्य हुँदैथ्यो । ‘पानी रिजर्व गर्ने पोखरी बनाउँदै थिए’ आयात र निर्यातको व्यवस्था मिलाउँदै थिए । यो कार्य सम्पन्न नभएसम्म उपत्यकाबासीले मेलम्चीको पानी देख्न, छुन पाउने हैन— सुन्नसम्म त हो । स्वच्छ वातावरण भएको सुन्दरीजलको बाटोघाटो राम्रो छ, पहिल्यैदेखि नै राम्रो प्रचार प्रसार भएकोले प्रख्यात छ । हामी २०७३ पौष १ गते सुन्दरीजल मन फुकाएर घुमेका थियौँ । पदयात्राको उपलब्धि र प्रसन्नता नै उत्साहको साथ हामीसँग छ, अन्यथा को सहभागी हुन्थ्यो र । पदयात्रीको सत्य व्यावहारिक मात्र होइन इमानदारीमा अडेको छ । यो आदर्श सत्य जस्तै हो । यसो त हेर्दा देख्नेलाई लाग्नसक्छ ‘यिनीहरू लखर लखर के खोज्नलाई हिँडेका हुन्’ । ‘कुण्डे कुण्डे पानी मुण्डे मुण्डे बुद्धि’ त्यही भएर त स्रष्टा पदयात्री पृथक् पहिचान सहित यात्रामा रमाइरहेका छन् । अरूलाई पनि प्रकृतिले सिंगारेको ठाउँमा पुग्न प्रोत्साहित गर्छ । खुसी आफूसँग सीमित राख्न हुँदैन, बाँड्न तैयार हुनु पर्छ । पदयात्रा गर्नेको जीवन सक्रिय हुन्छ ।

सुन्दरीजल वसपार्कबाट रत्नपार्कसम्म बस चल्छ । बस पार्कबाट करिब १ घण्टा उत्तरतर्फ उकालोबाटो हिँडेपछि पर्यटकलाई मुस्कुराउँदै स्वागत गर्दै गरेको सुन्दर जलको झरना पुगिन्छ । त्यसको मुन्तिर निकै गहिरो खोचमा दह छ । ठुल ठुला चिप्ला ढुङ्गा भएको खोचमा खोच छ— भन्छन् पुतली बत्तीको आकर्षणमा मोहित भएर ज्यान फालेझैँ, सुन्दरीजलको आकर्षणमा लोभिएर आएका कतिपय नजिकबाट यसको साैन्दर्य नियालेर हेर्ने लोभले ढुङ्गामा चिप्लेर खोचमा खसेर ज्यान गुमाउने गरेका छन्, नचाहँदा नचाहँदै पनि कहिलेकाहीँ नमिठो समाचार सुन्न पर्दा मनमस्तिष्क रन्थनिन्छ । दहमा जानेबाटो तलतिर कतैबाट होला नगइएको हुँदा भन्न सकिँदैन । यहाँ मन्दिर बनाइएको छ । यो बाटो एकदम चल्तीको हो र यात्रामा एक्लै कहिल्यै परिन्न । हामी यो बाटो भएर शीवपुरी जङ्गलै जङ्गल बुढानीलकण्ठ गएका छौँ, सिन्धुपाल्चोक–नुवाकोटको पानी ढलो रमणीय स्थल चीसापानी पुगेका छौँ, मणीचुड दह अवलोकन गरेर फर्कदा हिँडेका छौँ । कसैले कहीको पनि पदयात्रा गर्नुभन्दा पहिले पदयात्रा गर्ने ठाउँको जानकारी लिएको राम्रो ।

वागमतीमा फलामे पुल तरेर सुन्दरीजलको यो चल्ती बाटोमा पुग्दा सडक किनारमा रेस्टोरेन्ट, होटेलै होटेल थिए । वैशाख १२ को भुइँचालोले यस क्षेत्रलाई खासै क्षति पुर्याएको रहेनछ । सुन्दरीजल आफैँमा रमणीय भएको हुँदा त्यहाँबाट अन्यत्र हेर्नुपर्ने आवश्यकता नै छैन । हामी त्यहाँबाट बसपार्कमा आउन ओरालो ओर्लंदै थियौँ । शान्त वातावरणमा सडकछेउका होटेल रेस्टोरेन्टमा बसेर खानपानमा रमाइरहेका पर्यटकहरू पनि प्रशस्त थिए । हाम्रो पूर्व निर्धारित योजनाअनुसार वसपार्कमा पुगेर बस चढेर फर्किन हाम्रा पाइला चल्दै थिए ।

काठमाडौंवासीलाई पानी आपूर्ति गर्दै आएको मोटामोटा पाइपभित्रका पानी पनि हाम्रै तालमा दौडँदै थिए । पहाडी सुन्दरता बाटैभरी छरिएर बसेको थियो जता आँखा डुलायो त्यतै । साँझ पर्नुअघिको पारिलो घाममा हरियाली र सुन्दर दृष्यले दिनभरीको थकाइ बिर्साइदियो । हामी बाटैबाटो ओरालो ओर्लंदै थियौँ । मोटर चढेर हामीलाई कंक्रीटको जङ्गलमा जानु थियो, महिनामा एक दिन त हो नि केही समय अघिदेखि प्रकृतिको काखमा रमाउन थालेको । हाम्रो देब्रेतर्फ गहिरोमा पानी जति काठमाडौंबासीलाई पिउनको लागि लुटाएर निरीह दीनहीन बनेकी बागमती मुख देखाउन लजाए पनि हामीसँगै बात मार्दै हिँड्दै थिइन् ।

शारीरिक र मानसिक स्फूर्तिको लागि पदयात्रा गर्ने गर्छौं । यस यात्रामा डिल्लीराज अर्याल, शीतल गिरी, नारायण भण्डारी ‘जनकपुरी’, लीलाराज दाहाल, डा.धनप्रसाद सुवेदी, वसन्त रिजाल, शान्ति सापकोटा, डा.ध्रुवकुमार घिमिरे, मन्दिरा मधुश्री र सुभारम्भ पाण्डे सहभागी थियौँ । हामी त सहिदपार्क, कागेश्वरी र सुन्दरीजल पुग्यौँ पदयात्रामा । हामी महिनामा एक पटक पदयात्रा गरेर देश बुझ्ने प्रयत्न गर्ने गरेका छौँ ।

आन्तरिक पर्यटन विकास गराउन आफूले यात्रा गरेको बारेमा लेख्ने गरेका छौँ । हाम्रो घुम्ने बानीले हाम्रो शरीर मात्र होइन मन पनि स्वस्थ हुन्छ । यसकारण प्रत्येक महिनाको पहिलो शनिबार हामी स्रष्टा पदयात्रामा निस्कने गरेका छौँ । यसपटक हामीले यात्रा गरेको स्थानमा जान चाहनुहुन्छ भने काठमाडौंको पुरानो बसपार्कबाट गागलफेँदी जाने बस पाइन्छ । त्यहाँबाट उकालो उक्लँदै तामाङ्ग बस्ती अवलोकन गर्दै डाँडामा रहेको सहिदपार्क, तल खोचमा भएको कागेश्वरी हुँदै सुन्दरीजलसम्म पदयात्रा । कागेश्वरीबाट सुन्दरीजलसम्मको पदयात्रा सहज छ र रमणीय पनि । पहाड, जङ्गल, बस्तीको बाटो, गोरेटोमा दिनभरिको हिँडाइ यही त हो पदयात्रा ।