स्रष्टाहरूसँग सामेल भएर पदयात्रा गर्नुको अनेकौं फाइदा छन् । शारीरिक–मानसिक स्वास्थ्य सबल बनाउने यसको सबल पक्ष त छँदैछ; सिर्जना गर्न रुचाउने प्रकृतिप्रेमी, ज्ञान पिपासु वरिष्ठदेखि कनिष्ठसम्मका सर्जकहरूसँग प्राकृतिक छटामा सँगसँगै हिँड्दै रमाउँदै गर्दा मनमा बेग्लै किसिमको आनन्ददायक अनुभूति पनि प्राप्त हुने गर्छ । समसामयिक सन्दर्भमा एक अर्कामा भएका विविध ज्ञान र अनुभवहरू साटासाट गर्दै हिँड्न पाइने हुनाले यसबाट मस्तिष्कले विशेष किसिमको बौद्धिक लाभ पनि प्राप्त गर्छ । वन जङ्गल, डाँडा–पाखा, खोलानालाका मनोरम दृश्यहरूमा रमाउँदै; भलाकुसारी गर्दै विचरण गर्दा समय कटेको पत्तै हुँदैन । स्थानीय परिवेशका सामाजिक, सांस्कृतिक, आर्थिक जनजीवनका समसामयिक विविध पक्षहरूलाई नजिकबाट नियाल्दै यायावरीय आनन्द लिंदै हिँड्न पाउनुको मज्जा र आनन्ददायक अनुभूति जति सुनेर, लेखेर अनि अभिव्यक्त गरेर हुन्छ त्यो भन्दा बढी अनुभव यात्रामा आफैँ सामेल भएर गर्न सकिन्छ ।
स्रष्टा पदयात्रा टोलीको पछिल्लो यात्रा २०८० वैशाख २ गते भक्तपुरको चुनदेवी हुँदै लाँकुरी भञ्ज्याङ्सम्मको लागि तय भएको थियो । विगत एक महिनादेखि मौसमी भाइरलले आक्रान्त पारेर बारम्बार रुघा, खोकी, ज्वरो अनि घाँटी दुख्ने समस्याले सताउँदै; कहिले ठीक हुँदै अनि फेरि बल्झने क्रम दोहोरिंदै थियो । यसबाट शरीर कमजोर भएको थियो ।
त्यसो त पदयात्रा गर्न रुचाउनेमै पर्दछु म । तर यसपालि भने लामै समय बिरामी परेर शरीर थलिएको थियो । ठीक भएपनि पूर्ण रूपमा तङ्ग्रिई नसकेको जीउ लिएर यसपालिको यात्रामा जान सकिंदैन होला कि भन्ने लागिरहेको थियो । यसैबीच २०८० चैत २८ गते आफूले पढाउने कलेजका केही सरहरूले जामाचाे यात्रामा जाने योजना बनाउनुभयो । यसअघि म जामाचो गएको थिइनँ । त्यहाँ पुग्न लगभग पाँच किलोमिटरको ठाडो उकालो चढ्नुपर्ने रहेछ । मौका मिल्नासाथ उकाली ओराली गर्न हौसिहाल्ने आफ्नो बानी भएकोले शरीर राम्रोसँग सञ्चो नभैसकेको भएपनि ‘कस्ता कस्ता उकाला त चढिए; त्यति उकालो चढ्न त जीउले साथ दिइहाल्ला नि !’ भन्ने ठानेर सरहरूको टोलीमा म पनि सामेल भएको थिएँ ।
त्यो दिन फूलबारी गेटबाट बिस्तारै बिस्तारै उकालो चढेर माथि जामाचोको टुप्पोसम्म पुगेर हामी फर्केका थियौं । हिँड्न सक्छु भनेर फुर्ती गर्ने मलाई पाँच किलोमिटर दूरीको त्यति उकालो चढ्न पनि निकै हम्मेहम्मे परेको थियो । त्यहाँबाट फर्कंदा अझ गाडी गुड्ने घुमाउरो बाटोबाटै तल झरेका थियौं हामी । पाँच किलोमिटर ठाडो उकालो दूरी भएको जामाचोबाट गाडी हिँड्ने बाटो हुँदै तल फूलबारी गेटसम्म झर्दा धेरै हिँड्नुपरे ५ किलोमिटर जति बढी त हिँड्नुपर्ला नि ! भन्ने अनुमान थियो हाम्रो । त्यसैले हामीले अलिकति लामो परेपनि गाडीकै बाटोबाट झर्ने निर्णय गरेका थियौं । तर त्यो बाटो त हाम्रो अनुमान विपरीत १७ किलोमिटर जतिको पो रहेछ ! यसरी कमजोर स्वास्थ्यस्थिति बीच थाक्दै र गल्दै भएपनि मैले त्यो दिन लगभग २२ किलोमिटरको दूरी तय गर्न सकेको थिएँ । घर फर्कंदा निकै थकाइ लाग्यो । रातभरि कम्मर र खुट्टाका पिँडुला दुखिरहे । बिहान उठ्दा भने खासै त्यस्तो समस्या केही भएन; जीउ चङ्गा भैसकेको थियो ।
वास्तवमा जामाचोको त्यो उकालो मैले पाँच दिनपछि हुन लागेको स्रष्टा पदयात्राको हाम्रो नियमित कार्यक्रममा सामेल हुन सक्छु कि सक्दिन होला; मेरो स्वास्थ्य स्थितिले यस यात्रामा मलाई साथ देला कि नदेला भन्ने यकिन गर्न पनि चढ्ने सोच बनाएको थिएँ । जामाचोबाट फर्किएपछि पनि शरीरमा त्यस्तो खासै समस्या नपरेको अनुभव भएपछि मात्र मैले लाँकुरी भञ्ज्याङकाे यात्रामा जाने निर्णय गरेको थिएँ । हुन त यसअघि पनि एकपटक म लाँकुरी भञ्ज्याङ् एकजना भाइसँग गोदावरीको बाटो हुँदै पुगिसकेको थिएँ । यस पटकको त्यहाँको यात्रा चाहिँ चूनदेवी देखि सुवर्णेश्वर महादेव, गुण्डुको बाटो हुँदै स्रष्टाहरूसँग सामेल हुँदै यसअघि आफू नहिंडेको नयाँ बाटोबाट हुन लागेकोले अनुभव नौलो नै हुनेवाला थियो ।
हाम्रो यो पदयात्रा चुनदेवीदेखि लाँकुरी भञ्ज्याङ्सम्मको निम्ति तय भएको थियो । यो यात्रा पदयात्राको ६९ औँ श्रृङ्खला अन्तर्गतको थियो । यस अघिका केही पदयात्रामा पनि म यो समूहमा सहभागी भइसकेको थिएँ । हाम्रा टोली नेता शीतल गिरी दाइले कसकसले के के खानेकुरा ल्याउने भनेर पहिल्यै जिम्मेवारी तोकिदिनुभएको थियो । मेरो भागमा फलफूल ल्याउने जिम्मेवारी परेको थियो ।
स्रष्टा पदयात्रा प्रत्येक महिनाको पहिलो शनिबार हुने गर्दछ । यसै अनुरूप हाम्रो यो पदयात्रा २०८० सालको नयाँ वर्षको वैशाख २ गते शनिबार हुँदै थियो । यस अघि एक गते हामी नयाँ वर्ष मनाउन भनेर सपरिवार नाला पुगेका थियौं । घर फर्कने क्रममा रात प¥यो । चाबहिल आइपुग्दा अप्सराको फोन आयो । उनले भनिन्; “तिमी भोलि जान्छौ कि जाँदैनौ ?” मैले आफ्नो कमजोर स्वास्थ्यस्थितिका बाबजुद पनि जामाचो भ्रमण सम्पन्न गर्न सफल भएको अनुभवको संक्षिप्त विस्तार लगाउँदै भनें; ‘जान सक्छु; जान्छु !’ उनको भागमा रोटी पकाउने जिम्मा परेको रहेछ ।
“म पनि हिजो भरखर मात्र हेटौंडाबाट फर्केकी । मलाई पनि त्यति सञ्चो छैन । आज पनि दिनभर नयाँ वर्षको चटारोमा व्यस्त रहनुपर्दा शरीर फतक्क गलिरहेकै छ । तर पनि घुम्ने कुरामा भने जे पर्ला पर्ला भनेर हिँड्न रहर लागिहाल्छ ! त्यसैले म पनि जान खोजेकी छु, जान्छु । रोटी पकाउन भने त्यति जाँगर चलेको छैन; तर पनि दुई जनालाई पुग्ने चाहिँ बनाएर ल्याउँछु । बाँकी अन्य सहभागीहरूले केही न केही बोकिहाल्छन् । सबैले ल्याएको भाग आपसमा बाँडेर खाइने हुनाले सबैलाई पुगिहाल्छ नि !” अप्सराले भनिन् ।
“तरकारी के बनाउँछ्यौ त ?”
“मलाई त रोटीको मात्र आदेश छ; जीउ गलिरहेकै हुनाले म त रोटी बाहेक केही पनि ल्याउन सक्दिन !”
“लौ ! अनि के सँग खाने त रोटी ?”
“ल्याइहाल्लान् नि अरू कसैले केही न केही तरकारी !”
“कस कसको जिम्मामा छ तरकारी ?”
“थाहा छैन !”
हाम्रो फोनको संक्षिप्त संवाद यस्तो थियो । अप्सरा र मैले एसएलसी पछिको उच्च शिक्षा अध्ययन सँगै पूरा गरेका हौं । त्यति बेलादेखि नै हामी मिल्ने साथी हौं । त्यसैले हामी बीच कुराकानीका क्रममा ‘तिमी’ कै सम्बोधन चल्ने गर्छ ।
बिहान सात बजे भक्तपुर, चुनदेवी बस स्टपमा समूह जम्मा भएर त्यहाँबाट पदयात्रा सुरु गर्ने हाम्रो निर्णय भएको थियो । मेरो प्रायः बिहान चारै बजे जसो निद्रा खुल्ने गर्छ । आफ्नो नित्यकर्म सकेर चावहिल पुगेर बस चढ्नका लागि भनेर बिहान ५ बजेतिर घरबाट निस्किएँ म । चाबहिलमा फलफूल पसलेहरू बिहानैदेखि फुटपाथमा हुन्थे । तर त्यो दिन अलिक सबेरै भएर होला फुटपाथ पसलेहरू आइसकेका थिएनन् । सटरका पसलहरू त झन् यति चाँडो खुल्ने कुरै भएन । अब चुनदेवी बस स्टपमै गएर केही फलफूल किन्नु पर्ला भन्ने सोच्दै हिँड्दै थिएँ ।
केही पर एउटा तरकारी पसल खुलेको देखें । त्यहाँ फलफूल पनि बेच्न राखिएको रहेछ । सबेरै त्यसमा पनि एउटा मात्र पसल खुलेको भएर होला पसलेले भाउ अलिक महँगो भन्यो । यस्तो अवस्थामा व्यापारीले मौकामा चौका दाउ हान्नु स्वाभाविकै थियो । एक मनले त यहाँ यति महँगोमा किन्नुको सट्टा बरु चूनदेवी बस स्टपमै ओर्लिएर फलफूलहरू किन्नुपर्ला भन्ने लाग्यो । फेरि अर्को मनले चाबहिलको यस्तो व्यस्त बजारमा त पसलहरू खुलेका छैनन् भने चुनदेवीको त्यति सानो स्टपमा यति सबेरै के खुलेका होलान् र पसलहरू ? भन्ने ठानेर केही महँगो परेपनि परोस्; चाबहिलमै फलफूल किन्छु भन्ने निर्णयमा पुगें ।
पदयात्रीको सङ्ख्या कति पुग्ने हो त्यो निर्क्यौल हुन नसक्दा फलफूल कति लैजाने भन्ने मैले अड्कल गर्न सकिनँ । तैपनि कमसेकम १०–१२ जना त अवश्य पुग्लान् भन्ने अनुमान गर्दै त्यसै अनुपातमा सुन्तला, स्याउ, केराहरू किनें ।
फलफूलले ब्याग भरियो । बोक्नै हम्मे हम्मे पर्यो । त्यसमाथि पानी र केही सुख्खा रोटी अनि काँक्रा र मूला घरबाट पहिल्यै बोकेर हिँडेको थिएँ । एक लिटर दही पनि किनेर थप्दा झोला टनाटन नै भयो । घरमा बेलुका हामी सधैँ रोटी नै खाने हुनाले बिहानको नास्ताका लागि भनेर पनि केही रोटी बढी पाक्ने गर्छ । यात्रा हो; के पर्छ पर्छ । यात्रामा निस्कँदा अलिकति सामल बढी बोक्दा के नै फरक पर्ला र ? भन्ने ठानेर आफ्ना लागि रोटी ल्याउनै पर्ने उर्दी नरहे पनि रोटी पनि बोकेको थिएँ मैले । यद्यपि रोटी अप्सराले नै ल्याउनेवाला थिइन् । यात्रामा पानी पनि प्रशस्त खपत हुने हुनाले दुई बोतल घरमै उमालेको पानी पनि बोकें । बाँकी पानी आवश्यक परे बाटोमा लिने निर्णय गरें । यसअघिका यात्रामा मूला, काँक्रा पनि कसै कसैले ल्याएको देखेर मैले त्यो पनि लैजाने निर्णय गरेको थिएँ; यद्यपि मैले ‘फलफूल’मात्र ल्याउनुपर्ने भन्ने हाम्रा टोली नेता ‘शीतल जर्साब’को उर्दी थियो ।
फलफूल, पानी र खाद्यान्नहरू ‘ढाडे ब्याग’ पूरै भरिएको थियो । घर बाहिर निस्कँदा झोलामा केही न केही खानेकुरा, पानी, किताबहरू प्रायः साथै रहन्छन् मेरा । झोलामा सधैँ गह्रुङ्गो भारी देखेर ‘गधालाई भारीको कमी हुनुहुन्न; बोक्नुपर्छ, बोकौं बोकौं !’ भनेर बेला बेला घरमा घोचपेच पनि चल्ने गर्छ ।
आजको यात्राका लागि पनि ‘गधा’लाई टन्नै भारी पुगेको थियो । बाटोमा समूहमा हिँड्दा सबैले आफ्ना खानेकुराहरू आपसमा बाँड्दै खाँदै हिंड्दै गर्दा झोलाको भारी पनि बिस्तारै घट्ने गर्छ । तर आज यति धेरै भारी थियो कि कसरी त्यत्रो उकालो चढ्ने होला भनेर मन अत्तालियो । यात्रा शुरू हुनासाथ भारी एकै पटक घट्ने त होइन ! हिँड्दै जाँदा सहयात्रीहरूले आआफ्ना झोलामा भएका खानेकुराहरू झिक्दै बाँड्दै खाँदै; केही सुस्ताउँदै हिँड्दै गर्न थालेपछि मात्र बिस्तारै खानेकुराको भारी घट्दै जान थाल्छ । अनि मात्र झोला हलुका भएर हिँड्न सहज हुन्छ ।
चाबहिलबाट चूनदेवी झर्दा सवा छ बजेको थियो । यसअघि बस कोटेश्वर आइपुग्दा आफू कोटेश्वर आइपुगेको जानकारी अप्सरालाई मोबाइलबाट दिएँ । उनको घर कोटेश्वरमै छ । उनले ‘तिमी चूनदेवी ओर्लिएर कुर्दै गर; म पनि अब घरबाट हिँड्नै लागें’ भनिन् ।
बिहानको समय त्यसमाथि शनिबार भएर होला सडक पनि खुल्ला नै थियो । त्यसैले बसले छिट्टै नै चूनदेवी पुर्यायो । सबैभन्दा पहिले चुनदेवी पुग्ने म नै भएछु । सातबजे भेला हुने भन्ने निर्णय भएकोले पदयात्रीहरू आइपुग्न पैंतालीस मिनट अझै बाँकी थियो । साथीहरूलाई कुर्नुपर्ने समयलाई चिया पिउँदै सदुपयोग गर्ने निर्णय गर्दै चिया पसल खोज्न थालें । बसस्टपबाट अलिक पर उत्तर पूर्वपट्टि एउटा चिया पसल खुलेको देखें र त्यहाँ पुगेर चिया मगाएर खान थालें । शीतल दाइलाई आफू आइसकेको जानकारी मोबाइलबाट दिएँ । उहाँहरू पनि आउँदै गरेको जानकारी पाएँ ।
चियाको सुर्को तान्दै बस स्टपमा पनि नजर लगाउँदै थिएँ म । त्यत्तिकैमा अप्सराको फोन आयो । उनी पनि भरखर बसबाट ओर्लिएर त्यहाँ कसैलाई नदेखेर मलाई फोन गरेकी रहिछन् । आफ्नो चिया नसकिइसकेकोले उनीलाई पनि चिया पसलमै बोलाएँ । अप्सराले चिया खान मन गरिनन् । बरु ‘लघु विश्राम’ गर्ने अवस्था आएको भनेर शौचालय कता छ भनेर साहुनीलाई सोधिन् । साहुनीले होटल पछाडिको बाटो देखाइदिइन् । काठमाडौंका शहर बजारमा हिँड्दा सुलभ शौचालयको अभावमा पैदल यात्रुहरूलाई ठूलो सकस पर्ने गर्दछ ।
पहिले पहिले त काठमाडौं उपत्यकामा वस्ती विस्तार त्यति धेरै नभएकाले शौच गर्न शौचालयको अभाव भएपनि त्यसको पूर्ति झाडी र खाली जग्गाहरूले गर्दथे । तर बढ्दो शहरीकरणले गर्दा अब खाली जग्गाहरू बाँकी छैनन् । भएका केही जग्गा पनि या त पर्खाल लगाएर कम्पाउण्ड घेरिएका अथवा बचेका त्यस्ता केही खाली जग्गाहरूकै साँधमा पनि बडेमानका घरहरू प्रशस्त बनेका हुँदा खुला शौच गर्नैपर्ने अवस्था आइहाल्यो भने निकै समस्या पर्ने गर्छ । पुरुषहरूले त यस्तो अवस्थामा लाजै पचाएर जेनतेन आफ्नो समस्या टार्लान् । तर महिलाहरूलाई यस्तो स्थिति आइपर्यो भने के गर्ने ? उनीहरूलाई यस्तो अप्ठ्यारो अवस्थामा झनै सकस पर्ने गर्दछ । कुनै सार्वजनिक स्थलमा सुटिङ गर्ने क्रममा आफूले यस्तै अवस्था भोग्नुपरेको अवस्थाको मार्मिक व्यथावर्णन एक चर्चित नायिकाले कुनै पत्रिकामा गरेको कुरा मैले पढेको थिएँ । यस्तै समस्यालाई बुझेर होला काठमाडौंका मेयर बालेन साहले काठमाडौंका रेस्टुरेन्टहरूले बटुवाहरूलाई आफ्नो रेस्टुरेन्टमा भएको शौचालय सार्वजनिक रूपमा सबैलाई अनिवार्य निःशुल्क रूपमा प्रयोग गर्न दिनुपर्ने भन्ने निर्णय गरेका थिए । यो निर्णयले निकै चर्चा र समर्थन पनि पायो । केही रेस्टुरेन्टहरूले त्यो निर्णय कार्यान्वयन गर्न पनि थालिसकेका थिए । तर पछि त्यसले निरन्तरता भने पाउन सकेन ।
अन्य साथीहरू कोही पनि आई नसकेका र मेरो चिया गिलास पनि रित्तिई नसकेकोले अप्सरा र म चिया पसलमै कुरा गरेर समय कटाउँदै थियौं । यत्तिकैमा शीतल दाइको फोन आयो । उहाँहरू भरखरै चूनदेवी बसस्टपमा झरेर त्यहाँ भएको आकाशे पुल तरेर पारी दक्षिण पट्टि पुगेर हामीलाई नै कुरिरहनुभएको रहेछ । हामी पनि पुल कटेर पारी पट्टि पुग्यौं । त्यहाँ एउटा पसल नजिकै साथीहरू जम्मा हुने क्रम शुरू भैसकेको रहेछ ।
स्रष्टा पदयात्रीहरूको एउटा मेसेन्जर समूह बनाइएको छ । उक्त समूहमा पदयात्रासँग सम्बन्धित सूचनाहरू, यात्राका क्रममा खिचिएका फोटो, भिडियोहरू, पदयात्रामा वाचन गरिएका सिर्जनाहरू जसले खिचेको भएपनि त्यहाँ अपलोड गर्ने गरिन्छ । स्रष्टाहरूले आफूलाई आवश्यक पर्ने त्यस्ता सामग्रीहरू त्यहीँबाट झिकेर आवश्यकता अनुसार आफ्ना लेख–रचनाका लागि अथवा सामाजिक सञ्जालहरूमा पोस्ट गर्नका लागि उपयोग गर्ने गर्दछन् । यात्रा क्रममा कसले के के खाजा ल्याउने भन्ने कुराको अग्रिम छलफल पनि त्यहाँ हुन्छ । आफूलाई चित्त नबुझेका कुराहरू, उचित सरसल्लाहहरू, पदयात्रा गरिने नयाँ नयाँ स्थानहरूका बारेमा पनि यस समूहमा छलफल हुने गर्दछ । आगामी पदयात्रामा संलग्न हुनेहरूको अग्रिम नामको सूची पनि यहाँ दिने गरिन्छ । पदयात्रामा सामेल हुन सहभागीहरूले एक महिनाभित्र आफ्नो नाम समावेश गरिसक्नुपर्छ । यात्रा गर्ने सदस्यको यकिन पहिल्यै भएमा खानपानको व्यवस्थापन गर्न सहज हुने हुनाले सहभागी हुन चाहनेले आफ्नो अग्रिम नाम त्यहाँ दिनु उचित पनि हो । पहिलो पटक सहभागिता जनाउन लागेका नयाँ साथीहरूको नाम भने यसअघि पदयात्रामा गैसकेका साथीहरूमार्फत् आउने गर्दछन् ।
यसपटकको पदयात्रामा सहभागी हुन पनि धेरैले आफ्नो नाम लेखाइसकेका थिए । पछि अनेक बहाना देखाउँदै केही सदस्यहरूले जान असमर्थता पनि व्यक्त गरे । यो क्रम प्रत्येक जसो पदयात्रामा दोहोरिरहन्छ । नाम लेखाउनेहरू सबैले अन्तिम समयमा सहभागिता जनाउँदैनन् । विशेष गरेर लामा बिदाहरू परेको दिनसँग पदयात्रा गर्ने दिन जुध्यो भने त्यस्तो बेला संख्या घट्ने गर्दछ । कहिलेकाहीं राजधानी नजिकैका स्थानतिर यात्रा कार्यक्रम तय भएको बेलामा भने संख्या निकै बढ्ने पनि गरेको छ । यसअघिको सूर्य विनायक देखि बिरुवासम्मको एउटा यात्रामा संख्या अत्यधिक हुँदा निकै रमाइलो भएको थियो ।
यसपालिको पदयात्राको समय पनि नयाँ वर्षको पहिलो दिन पछिको भोलिपल्टै वैशाख २ गते शनिबारको दिन परेको थियो । त्यसैले यो यात्रामा हाम्रा पदयात्री साथीहरूको सङ्ख्या त्यति ठूलो नहुने भन्ने अनुमान मैले पहिल्यै गरिसकेको थिएँ । किनभने एक त नयाँ वर्षको सुरुवात अनि त्यसैको सेरोफेरोमा लगातार दुई दिन सार्वजनिक छुट्टी परेकाले धेरैले यसपालिको त्यो छुट्टीको उपयोग समूहमा सामेल भएर गर्नुको साटो लामो दूरीको आफ्नो पारिवारिक भ्रमणबाटै गर्ने निश्चित थियो ।
आखिर जे सोचेको थियो त्यही भयो । चूनदेवी बसस्टपमा केही समयको कुराइपछि हाम्रो यसपालिको टोली त्यति ठूलो नहुने पक्कापक्की भयो । अन्तिममा यो यात्रामा सामेल हुन जम्मा दशजना सहभागीहरूको मात्र त्यहाँ उपस्थिति देखियोे । वहाँहरू हुनहुन्थ्यो; शीतल गिरी, गंगाप्रसाद भेटवाल, घनश्याम प्रसाईं, विमल अर्याल, मन्दिरा मधुश्री, परिच्क्षेद सेन, अप्सरा ढकाल, सुमन पुडासैनी, दीपक भेटवाल र म प्रतीक घिमिरे । सहभागीहरूमध्ये परिच्छेद सेनसँग मेरो पूर्व परिचय थिएन । सुमन पुडासैनीसँग भने यसअघि प्रत्यक्ष भेट नभएपनि उहाँले बेलाबेलामा ‘रचना’का लागि आफ्ना रचनाहरू पठाइरहने गर्नुभएबाट उहाँको सिर्जना र नामसँग भने म पहिल्यैदेखि परिचित थिएँ ।
चूनदेवीको त्यो बस स्टप चहलपहल त्यति धेरै नभएको सानो स्टप रहेछ । त्यहाँ फलफूल पसल त के एउटा किराना पसल बाहेक अन्य कुनै पनि पसलहरू देखिएनन् । मलाई आफूले चाबहिलमा पहिल्यै फलफूल किनेर राम्रै गरेछु भन्ने लाग्यो । पदयात्रा गर्दा आफ्नो भागमा परेका खाजा घरबाट ल्याउन छुटाउनुभएका केही सहभागीहरूले त्यहींको पसलमा दालमोठ, च्यूरा, पानी, चकलेट, तितौरा आदि किन्न थाल्नुभयो । केही समयको कुराइपछि हाम्रो संख्या अब यो भन्दा नबढ्ने निश्चित भएपछि त्यहाँ धेरै समय कुरिरहनुको कुनै अर्थ थिएन । घडीले आठ बजाएपछि हामीले चूनदेवी बसस्टपबाट आफ्नो यात्रा शुरु गर्ने निर्णय गर्यौं र चूनदेवी दक्षिणको बाटोतिर अघि बढ्न थाल्यौं ।
केही समयको हिँडाइपछि हामी एउटा मन्दिर भएको स्थानमा पुग्यौं । वास्तवमा त्यो मन्दिर भएको क्षेत्र पो असली ‘चूनदेवी’ क्षेत्र रहेछ ! काठमाडौंमै जन्मे हुर्केपनि म यसअघि त्यो मन्दिरमा पुगेको थिइनँ । ६ लेनको कोटेश्वर–भक्तपुर सडकबाट भक्तपुर ससुराली जाने आउने क्रममा सल्लाघारी र सूर्यविनायकको बीचमा चूनदेवी बस स्टप रहेको कुरा त मलाई थाहा थियो । तर म त्यो स्टपमा यसअघि कहिल्यै उत्रिएको थिइनँ । मलाई त्यही बसस्टप नजिक नै कतै चूनदेवीको मन्दिर होला र त्यही मन्दिरको नामबाट यो बसस्टपको नामकरण ‘चूनदेवी’ भएको होला भन्ने लागेको थियो । तर होइन रहेछ ।
असली चूनदेवी मन्दिर त अहिले चूनदेवी भन्ने गरिएको बस स्टपबाट लगभग २ किलोमिटर जति दक्षिणतिरको हामी अहिले पुगेको यो मन्दिर पो रहेछ ! त्यस क्षेत्र आसपासमा यही चूनदेवी मन्दिर चर्चित रहेको र यसैको नामबाट पो त्यो बस स्टपको नाम पनि ‘चूनदेवी बस स्टप’ राखिएको रहेछ । काठमाडौंका खाली ठाउँहरूमा नयाँ नयाँ बस्तीहरू बढेसँगै बाटाघाटाहरू पनि विस्तार हुन थालेपछि कतिपय स्थानहरू अहिले नयाँ नयाँ नामले चिनिन थालेका छन् । यस्तो स्थितिले कतिपय अवस्थामा नयाँ नामका कारण त्यो कुन स्थान हो भनेर यहाँका पुराना बासिन्दाहरू नै पनि झुक्किने गर्दछन् ।
पहिले चक्रपथको निर्माण हुनु अघि यहाँका पुराना वासिन्दाले अहिलेको नारायण गोपाल चोक भएको स्थानलाई ‘महाराजगञ्ज चोक’ भनेर चिन्थे । तर काठमाडौं र ललितपुरका केही स्थान हुँदै चक्कर लगाउने २७ किलोमिटर दूरीको चक्रपथ निर्माण भएपछि महाराजगञ्जबाट बुढानीलकण्ठ जाने बाटो जोडिने चोकलाई चक्रपथ रुटमा चल्ने लोकल गाडीहरूले यात्रुहरू चढाउने र झार्ने क्रममा उनीहरूको सहजताका लागि त्यो चोकलाई ‘चक्रपथ’ भन्न थाले । त्यसैले चक्रपथ भन्नाले अहिले त्यही नारायण गोपाल चोकलाई नै सम्झनेहरू पनि प्रशस्त छन् । चक्रपथ भनेर त सिङ्गो रिङरोडलाई नै भनिनुपर्ने हो नि ! हामी स्कूल पढ्दासम्म पनि अहिलेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (बोलीचालीमा तालिम केन्द्र) देखि उत्तर शिक्षण अस्पताल, अमेरिकी राजदूतावास, नारायणगोपाल चोक रहेको क्षेत्रसम्मलाई नै ‘महाराजगञ्ज’ भनेर चिनिन्थ्यो । पछि प्रसिद्ध गायक नारायण गोपालको सालिक स्थापना भएपछि भने त्यो स्थानलाई अहिले ‘नारायणगोपाल चोक’ पनि भन्न थालिएको छ ।
चक्रपथमै रहेको सडकमा ‘धुम्बाराही’ नामले परिचित अर्को एक स्थानमा पनि लोकल बसले मान्छे चढाउने–झार्ने गर्दछ । तर असली धुम्बाराही भन्ने स्थान चक्रपथको बस रोक्ने अहिलेको त्यो स्थान होइन । ‘धुम्रबाराही’को मन्दिर भएको स्थान अहिलेको रिङरोड भन्दा लगभग डेढ किलोमिटर दक्षिणतिर पर्छ । सार्वजनिक बसहरूले आफ्नो सहजताका लागि चक्रपथमा पर्ने त्यो स्थानलाई पनि ‘धुम्बाराही’ नामकरण गरिदिएपछि त्यस स्थानको नाम पनि अहिले धुम्बाराही हुन पुगेको छ । अर्थात् पहिले धुम्रवाराही मन्दिर आसपाससम्म मात्र खुम्चिएको ‘धुम्बाराही क्षेत्र’ले अहिले आफ्नो आयतनलाई फैलाउँदै उत्तरतर्फको चक्रपथ सडकसम्मै पुर्याइसकेको छ । अहिलेको ‘नयाँ बानेश्वर’ र ‘पुरानो बानेश्वर’को कथा पनि त्यस्तै हो । अहिलेको नयाँ बानेश्वरदेखि पुरानो वानेश्वरसम्मको सबै क्षेत्रलाई पहिले ‘बानेश्वर’ नै भनेर चिनिन्थ्यो । अहिलेको नयाँ बानेश्वर क्षेत्रमा पहिले बस्तीहरू त्यति धेरै थिएनन् जति अहिलेको पुरानो बानेश्वरमा थियो । तर पछि त्यस क्षेत्रमा बस्तीहरू बढ्दै जान थालेपछि एउटै बानेश्वर क्षेत्र छुट्टिई अहिले रत्नराज्यलक्ष्मी स्कूलभित्र पर्ने बानेश्वर मन्दिरदेखि उत्तरतिर पर्ने क्षेत्र ‘पुरानो बानेश्वर’ र त्यसदेखि दक्षिणतिरको क्षेत्र ‘नयाँ बानेश्वर’ भनेर दुईवटा नामले चिनिन थाले ।
चूनदेवीको मन्दिर पुगेपछि मैले चक्रपथ अथवा धुम्बाराहीकै शैलीमा त्यो बस स्टपको नामकरण पनि ‘चूनदेवी’ भएको रहेछ भन्ने निर्क्याैल गरें । त्यसो त ‘सूर्यविनायक चोक’ भनेर चिनिने अहिलेको बस स्टप पनि वास्तविक प्राचीन सूर्यविनायक मन्दिर परिसर भन्दा लगभग डेढ किलोमिटर उत्तरतिर पर्छ । बढ्दो शहरीकरणले गर्दा नयाँ नयाँ स्थानमा वस्तीविस्तार भएसँगै स्थानीय रूपमा सडकका नयाँ नयाँ सञ्जालहरू जोडिन थालेपछि नयाँ नयाँ नामकरण भएका यस्ता अन्य थुप्रै नयाँ नयाँ स्थानहरू कति होलान् ? त्यो अनुसन्धानकै विषय हुन सक्छ । चक्रपथमै पर्ने अहिले भन्ने गरिएको कलङ्की चोक र वास्तविक कलङ्कीमाईको मन्दिरको दूरी पनि नजिकै छैनन्; लगभग एक किलोमिटर वरपर पर्छन् ।
हामीले चूनदेवीको मन्दिरको दर्शन गर्यौं । यो मन्दिरको ऐतिहासिकताको सन्दर्भमा खासै त्यस्तो केही महत्त्वपूर्ण जानकारी प्राप्त भएन । त्यसो त उपत्यकाका विभिन्न स्थानमा ‘चूनदेवी’ नाम गरेका अन्य केही देवीथानहरू रहेका मलाई थाहा छ । एउटा ‘चूनदेवी मन्दिर’ महाराजगञ्ज नजिकै पनि छ भने अर्को एउटा चूनदेवी मन्दिर बाँसबारी नजिक पनि छ ।
त्यस्तै धापासी, कीर्तिपुर, थानकोट, चुनिखेल क्षेत्रमा पनि चूनदेवी नामका मन्दिरहरू रहेका छन् । यस्ता चूनदेवीहरूलाई स्थानीय कृषकहरूले आफ्नो इष्टदेवीका रूपमा पुज्ने गरेको भन्ने कुरा हामीले थाहा पायौं । आफूले उत्पादन गरेको कृषि अनाजको पहिलो खेप, गाई भैंसीहरू ब्याए पछिको दूध–दहीको पहिलो खेप यिनै देवीथानमा ल्याएर कृषकहरूले चढाउने र आफ्नो बाली, पशु चौपायाहरूको संरक्षिकाका रूपमा तिनलाई पुज्ने गरेको भन्ने थाहा पायौं । तर बस्ती विस्तारको क्रममा अहिले उपत्यकामा त्यस्ता खोतीयोग्य जमिनहरू घट्दै जान थालेका छन् । कृषि पेशा नै लगभग विस्थापित भैसकेको अवस्थामा चूनदेवीलाई खुशी पार्न अथवा आफ्नो संस्कृति बचाउन स्थानीयहरूले पनि अचेल अन्न र गोरसको जोहो पसलबाटै किनेर गर्नुपर्ने बाध्यता छ । शीतल दाइका अनुसार चूनदेवी नेवार समुदाय अन्तर्गतका किसान समुदायहरूद्वारा स्थापना गरिएकी देवी हुन् । जहाँ जहाँ खेती किसानी गर्ने समूहहरू रहेका हुन्छन् त्यहाँ त्यहाँ यस्ता चुनदेवीहरू स्थापना गरिएका हुने रहेछन् ।
चूनदेवी मन्दिरसँगै एउटा पाटी पनि रहेछ । यो चूनदेवी मन्दिर र पाटी दुवै भूकम्पपछि जीर्णोद्धार गरिएका जस्ता देखिन्थे । पाटीमा उभिएर हामी सहभागी पदयात्रीहरूले सामूहिक तस्बिर पनि खिच्यौं । यसैक्रममा मन्दिरमा एकजना अपरिचित अनुहारले आएर हामीलाई स्वागत गर्यो । परिचयको क्रममा थाहा पायौं उहाँको नाम डा. कुलराज निरौला रहेछ । जन्मस्थान ताप्लेजुङ भएका उहाँ हाल चूनदेवी क्षेत्रकै बासिन्दा बन्नुभएको रहेछ ।
शीतल दाइका पूर्व परिचित उहाँलाई शीतल दाइले यसपालिको पदयात्रा उहाँकै निवास क्षेत्रतिरबाट हुन लागेकोले उहाँलाई पनि पदयात्रामा सँगै लैजाने चाहनाले बोलाउनुभएको रहेछ । तर आफ्नो व्यस्तताका कारण उहाँले हामीसँग जान असमर्थता जनाउनुभयो । बरु आफ्नो घर नजिकै नै रहेकोले घरमा गएर पदयात्रीहरूलाई चिया–खाजाले स्वागत गर्दै बिदाइ गर्न चाहेको कुरा गर्नुभयो । हामीले आफूहरू पदयात्रामा निस्केका कारण उहाँको प्रस्तावलाई सधन्यवाद इन्कार गर्न खोज्यौं । तर उहाँको विनम्रताको अगाडि हाम्रो केही चलेन । हाम्रो टोली उहाँको पछिपछि लाग्दै उहाँको घर पुग्यो ।
घर पुगेर उहाँको परिवारका सदस्यहरूसँग चिनापर्ची भयो । उहाँकी श्रीमतीले मीठो चिया बनाएर ल्याउनुभयो । त्यहाँ हामीले केहीक्षण भलाकुसारी गर्दै चिया–बिस्कुट खायौं । उहाँ लेखक पनि हुनुभएकोले आफ्ना प्रकाशित पुस्तकका केही प्रति पदयात्रीहरूलाई पनि उपलब्ध गराउनुभयो । चिया आतिथ्यप्रति वहाँलाई हार्दिक आभार व्यक्त गर्दै हामी त्यहाँबाट बिदाबारी हुँदै उहाँको घरबाट निस्कियौं । उहाँ पनि हामीलाई बिदा गर्न भनेर पुनः चूनदेवी मन्दिरसम्मै आउनुभयो । हामी उहाँबाट बिदा हुँदै त्यहाँबाट अघि बढ्न थाल्यौं ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।