दुई दिनको होटल अलि सानो बस्ती भएको ठाउँमा थियो अब बस्ने दुई दिन चैँ मुख्य शहरमै छ । जाने ठाउँको ठेगाना देखाउँदै बस स्ट्याण्डमा भएकी सहयोगीसँग जानकारी लिएर बस चढेँ। त्यो बस स्टेसनबाट अब जाने “मासपालोमास” शहर पुग्न बसमा करिब ४५ मिनेट लाग्थ्यो । तर ओर्लने ठाउँमा रोक्ने सङ्केत दिन भेउ नपाएर धेरै टाढा पुगिएछ। युरोपतिर बसका हरेक सिट नजिक रोक्ने सङ्केत दिनको लागि स्विच राखिदिएको हुन्छ, रोकिनु पर्ने स्टेसन अघावै त्यो थिच्न बिर्सियो र प्रतीक्षालयमा चढ्ने यात्रु छैनन् भने बस आफ्नो रफ्तारमा अर्को स्टपसम्म जान्छ।

हुन त त्यो शहर, क्यानारी टापुको पर्यटकीय शहर भनेर चिनिन्थ्यो तर बसमा अङ्ग्रेजीमा बोल्ने खासै भेटिएन। मध्य दिउँसो थियो त्यसैले मलाई जता छलिए पनि खासै बित्दो केही थिएन, पर्यटकलाई जे देखे नि नौलो नै लाग्ने । अर्को बस चढेर पुन: फर्किएँ । रमाइलो कुरा फेरि पनि त्यही भयो । झर्ने स्टप ठम्याउन सकिनँ। बस फेर्दा फेर्दा कठिन जस्तो लाग्न थाल्यो अन्तमा चालकले ट्याक्सीमा जा भन्ने सल्लाह दियो। धेरै जस्तो ठाउँमा गुगल म्यापले राम्रोसँग बाटो नदेखाउँदो रहेछ त्यहाँ। डराईडराई ट्याक्सी चढेर गएको, झर्दा जम्मा ४ युरो १० सेन्ट मात्रै लाग्यो, फिटिक्कै अङ्ग्रेजी नबोले पनि चालकले होटलको ढोकामै उतारिदिइन्। दुई दिन बसेको ठाउँ भन्दा आजको ठाउँको रौनक नै छुट्टै थियो। शहरीया चहलपहल, होटल रेस्टुरन्टले भरिभराउ।

कोठामा गएर झोला बिसाए पछि पहिला खाना खाने निर्णय लिए। होटलकै छेउमा चाइनिज रेस्टुरन्ट रहेछ त्यहीँ छिरेँ, मेनु खासै बुझिन स्पेनिसमा थियो, पोलो भनेको कुखुरा भन्ने थाहा थियो । चिसो बियर र त्यही पोलो अर्डर गरेँ। त्यो कुखुरा सँगै हाम्रो पुलाउ जस्तो परिकार नि आँउदो रहेछ, त्यहाँ पनि ठुलै पोर्सन थियो बुत्याउनै गाह्रो। नौलो ठाँउमा मानिसहरुको बोलिचाली, रहनसहन देख्दा रमाइलो लागिरहेको थियो।

त्यो रेस्टुरन्टको टेबलमा पनि म एक्लो थिएँ वरिपरिकाले यसो हेर्थे। त्यत्तिकैमा मेरो अगाडिको टेबलमा ३ जना केटाकेटी, एकजना हजुरआमा उमेरकी र दुईजना जोडी आएर बसे। तीमध्ये महिलाले केटाकेटीहरूसँग स्पानिशमा अनि हजुरआमासँग फिनिश भाषामा बोल्न थालिन्। भित्तापट्टिको टेबलमा भारतीय मूलका ग्राहकहरू आएर “ह्याप्पी बर्थ डे बब्लु” लेखेको तुल टाँस्न थाले। ती मध्यकी एक जनाले फोनमा हिन्दी भाषामा कुरा गर्दै अरू निम्तालुलाई त्यहाँको ठेगाना बताउँदै थिइन्।

एक्कासि मलाई आफ्नै संसार पुगेजस्तो भो, अगाडि १६ बर्षे कर्मथलोका मानिस अनि भाषा र भित्तापट्टी आफ्नै चेलीबेटी जस्तो लाग्ने भारतीयहरू । धनगढीमा माध्यामिक तहको अध्ययन गर्दा हाम्रो पसल नै गौरिफँटा बोर्डर हुने गर्थ्यो अनि फिन्ल्याण्डमा १० बर्ष सम्म इन्डियन मार्केट नामको पसल सञ्चालन गरेकोले भारतीयहरूप्रति निकै निकटता महसुस हुन्छ त्यहाँमाथि त्यो अनकुन्टार टापुमा जुराएको संजोग।

आफ्नो बिल तिरेर उठेँ, यो अवसर नि गुमाउन हुँदैन भनेर अकमकाउँदै फिनिश बसेको टेबलमा गएर फिनिश भाषामा बोल्न सुरु गरेँ। त्यस्तो पारिवारिक रमझममा मैले बात मार्नु राम्रो त हैन । तैपनि कस्तो प्रतिक्रिया आउँछ भनेर सुरु गरेँ। ती महिलाले राम्रै रेस्पोन्स गरिन् । अप्ठ्यारो मानिनन् । आफूहरू लामो समयदेखि त्यतै बसोबास गरेको, सँगै बसेको श्रीमान् स्पानिश नागरिक भएको र आमा फिन्ल्याण्डबाट भेट्न आउनु भएको रहेछ।

छोटो कुराकानी पछि म भित्ताको टेबलपट्टि लागेँ। हिन्दीमा कुरा गर्न सुरु गरेँ, अलि मन नपराए जस्तो गरिन् । मैले बब्लु कति बर्षको हुन्, कति जना निम्तालु छन् भनी जिज्ञासा राखेको थिएँ, ती मुख्य महिला खासै बोल्न खोजिनन् । सँगैको साथीले पाँचौँ जन्मदिन मनाउन लाग्या, २० जना जति जम्मा हुन्छौँ भनिन् । मेरो हरकत हामीहरूलाई अलि नसुहाउने जस्तो पनि थियो ।

भर्खर एक्लो टेबलमा बियर पिउँदै गरेको, सँगैको टेबलका पाहुनासँग अकस्मात् बोल्न थालेको, पछि उनीहरूकोमा सरेको। स्वभावैले म केही माग्न खोजेजस्तो वा नशामा सुर नभाको जस्तो लाग्यो होला र उनी बोल्न नचाहेको ।

“बब्लुको नेपालसे आया हुवा एक अजनबी कि तरफ से भि जनमदिन मुबारक बोल्दिजेगा” भनेर आफ्नो बाटो लागेँ। जहाँ पनि निजा जस्तै बोलाकी कहाँ भेटिन्छ र ? अनि यो शहर हो शहर, भिडभाडमा भौँतारिने पनि धेरै हुन्छन्, यहाँ यस्तो सामान्य हो। गल्ती मेरै थियो- कुनै गुनासो गर्ने कुरै भएन । उनी मसँग अलि खुलेकी हुन्थिन् भने, एउटा सम्झन लायकको उपहार दिन्थेँ होला, बब्लुको जीवनभर याद आउनेगरी । खान त टन्न अगाइसकेको थिएँ सानो टुक्रो केकसम्म चाख्थिएँ होला। खएर ! मेरो गन्तव्य अर्कै थियो, त्यहाँबाट निस्केर फेरि धरै कुराहरू हेर्नु थियो जान्नु थियो।

आफ्नो कुनै निश्चित गन्तव्य नभएकोले हातमा पानीको बोतल हल्लाउँदै, धेरै मान्छेहरु हिँडेको पट्टि हिँड्न थालेँ। झण्डै १ किलोमिटर जति हिँडेपछि “युम्बो सेन्टर” नामको एउटा ठूलो व्यापारिक केन्द्रमा पुगेँ। यो रातभरी खुला रहने अति नै जीवन्त केन्द्र रहेछ। सडकको माथिबाट हेर्दा २-३ तला तलैसम्म हार मिलाएर सिङ्गारिएका रेस्टुरन्टहरू, खचाखच भरिएका ग्राहक, लोभलाग्दो देखिन्थ्यो। संसारको सबै देशमा पाइने परिकारहरु खान पाइने, ब्रान्डेड सामानका दोकानहरू रातभरी खुला रहने, केटाकेटीहरूलाई खेल्ने छुट्टै ठाँउहरू, झरनाका फोहोरा फुटेझैँ लाग्ने पानीका सजाइएका छिटाहरु, मिनी गल्फदेखि हरेक कुरा पाइने त्यो व्यापारिक केन्द्रमा धेरैजसोले त रातै कटाउँदा रहेछन्।

त्यो ठाउँमा केही पर रहेको त्यो टापुकै सबैभन्दा ठुलो मरुभुमी “मासपालोमास डुन्स” र ईंग्लिश बिचले चिनिने “प्ल्यया डेल इङेल्स” नामक पर्यटकीय गन्तव्य पर्ने रहेछन् र दिन-भरी त्यताको मरुभुमी जस्तो बालुवा, समुद्रको आनन्द लिएर रात्री कालीन समय बिताउन पर्यटकहरू त्यहाँ आउने गर्दा रहेछन् । हिजो अस्तिको मेरो टापुको शान्तपूर्ण अनुभव भन्दा आज निकै नै छुट्टै थियो।

अलि पर कुनामा हाम्रो लक्ष्मीपुजाको दिनको जस्तो सजिसजाउ बत्तीमा “सेक्स सप” लेखिएको देखेँ। मलाई जे कुराको नि कौतूहलता हुन्छ त्यसैले त्यहाँ गएर वरिपरि नियालेँ। मान्छेहरू आउने जाने गरेको देखेँ झन् कौतूहलता जाग्यो, ढोकामा १८ वर्ष माथिको लाई मात्रै प्रवेश लेखेको थियो। के नै त होला भनेर छिरेँ, भित्र छिर्दा झन् अचम्मित भएँ। वास्तवमा त्यहाँ यौन उत्तेजनाको सामानहरू, त्यस्तै कामुक बनाउने थरिथरिका पहिरनहरू, कृतिम खाले पुरुषका यौन अङ्ग, महिलाका यौन अङ्गहरू लगायत यौन खेलौना मज्जाले बेच्ने रहेछन्। एकलास ठाँउमा भएता पनि भित्र त कति भिड हो, छिर्नासाथ एक जनालाई एक जनाले सोधखोज गर्ने रहेछन्। मलाई पनि एकजनाले सोध्न थाल्यो, कस्तो खाले खोजेको ! त्यहाँ चैं स्पष्ट अङ्ग्रेजी बोल्ने रहेछन् ।

म जिज्ञासुको रूपमा छिरेको थिएँ । सबै वास्तविकता भनिदिएँ । तैपनि समय दिएर मलाई कसरी विभिन्न स्वभावका मानिसहरूका लागि त्यहाँ बिक्रीमा राखिएका साधनहरूले सन्तुष्टी दिन्छन् बताउन थाले। अरू ग्राहक धमाधम सामानहरु किनेर जान्थे । समलिङ्गी जोडीहरू नि धेरै छिरेका थिए । कतिपय कपडा, सामान त्यहीँ टेस्ट गर्न मिल्ने रहेछ। कसैलाई कुनै लाज, धक छैन । आफ्नो आवश्यकताअनुसार सामान किन्थे जान्थे ।

मलाई भने यौन मामिलामा सङ्कुचित समाजमा हुर्केकोले होला अलि अप्ठ्यारो लागिरहेको थियो। केही किन्नु थिएन निस्किएँ – मनमनै सोचेँ, संसार कति खुल्ला छ जसले जे मा रमाउन सक्छ त्यही व्यवस्था गरिएको छ। म बस्ने देश फिन्ल्याण्ड त अझै उदार समाज हो जहाँ समलिङ्गी विवाहित जोडीका लागि समेत सुत्केरी बिदा दिने व्यवस्था छ। अझ भन्नुपर्दा यो भन्दा अगाडिको राष्ट्रपती चुनावमा प्रमुख प्रतिद्वन्दी हुनुभएका अनि हालका पररास्ट्रमन्त्री पेक्का हाभिस्तो समलिङ्गी हुन्, जो सन १९९७ देखि इक्वएडरका पुरुष आन्तोनियो फ्लोरेससँग जोडीका रूपमा बस्दै आएका छन।

म त्यो पसलबाट बाहिर निस्केँ र त्यसको वरिपरि टन्नै मसाज सेन्टर देखेँ, राती भैसकेको थियो, तैपनि मान्छेहरू भित्र छिर्ने निस्कनेको कमी थिएन। छुट्टी मनाउन आउने ठाउँ दिनभरी बालुवामा रमाउने, बेलुका यस्तै रङ्गीन संसारमा बिताउने, आनन्द लिने गर्दा रहेछन्। जिज्ञासु म, त्यहाँ पनि चियाउन पुगेँ । ती मसाज केन्द्रहरुमा पुरुषलाई पुरुषले र महिलालाई महिलाले नै सेवा दिँदा रहेछन् । हाम्रो ठमेललगायत अन्य धेरै ठाँउहरु जस्तो मसाजको नाममा अन्य गतिविधि हुने भनेर अपजस आउने खाले हैन रहेछ। सबै कुराको प्रत्यक्ष अनुभव गरेपछि म होटलतिर फर्किएँ।

होटलमा पुगेर त्यो ठाँउको विशेषताबारे एकछिन इन्टरनेटमा खोज्न थालेँ। पर्यटकहरू व्यापक आउने भएता पनि स्पेन अनि त्यो टापुमा देहव्यापारका लागि कानुन त खुल्ला रहेनछ। नेदरल्यान्डलाई यूरोपको थाइल्यान्ड भनिन्छ भने अन्य मुलुकमा पनि देहव्यापारलाई कानुनी मान्यता दिइएको पाइन्छ। केही बर्ष अघि हाम्रो जोडी इटालीको रोममा जाँदा बेलुका घुम्न निस्केका थियौँ। हाम्रो तिर शिवरात्रीमा ध्वनि जगाएको जस्तो लाग्ने गरी ठाउँठाउँमा आगो बालेको देख्यौँ । के रहेछ भनेर नजिकै गएको त अर्धनग्न शरीरमा देह बेच्नेहरु बसेका हुँदा रहेछन्, ग्राहक आउँथे कुरा मिलाउँथे, कसैले गाडीमा त कसैले हिँडाएरै लिएर जान्थे। सबै खाले कर्मलाई कानुनी दायरामा ल्याएको रहेछ।

म आज बसेको ’मासपालोमास’ शहर “समलिङ्गी र एलजीबीटी” हरूका लागि युरोपकै प्रख्यात शहर रहेछ, यहाँ समलिङ्गी पार्क पनि छ- टापुकै पर्यटकको केन्द्र बनाइएको रहेछ, त्यसैले यो ठाउँलाई प्रकृतिप्रेमी र फरक लैङ्गिक स्वभावका मानिसको लागि स्वर्ग नै भनिँदो रहेछ।

सन् १७५५ को भूकम्पपश्चात बनेको ५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो सुनौलो रङको बालुवाले भरिएको क्षेत्र पर्यटकका लागि प्रख्यात शहर हो । मसिनो धुलो जस्तो बालुवा भएको “बीच” पनि यो ठाँउको आकर्षण थियो जसको छेउमै ३३ वटा चिप्लेटीसहित टापुकै सबैभन्दा ठूलो वाटर पार्क रहेछ। मरुभूमिको अनुभव मैले दुबईमा मज्जाले लिइसकेको छु त्यसैले भोलिको लागि टापुको अर्को कुनातिर डल्फिन र सार्कहरू हेर्न जाने सोचाइ बनाएर सुतेँ ।