मेरो ग्रामीण चिसापानी र यो चिसापानी तुलना गर्छु । चिसोपन उही हो । हुस्सु लागिरहने पनि उस्तै प्रकृति । अनि यो चिसापानी राजधानी नजिक । मेरो चिसापानी तराई नजिक ।
सुन्दरीजलको ठाडो उकालोभरि कुनै पैदलयात्रीको पाइला हिँडेको छैन । बाटो हेर्दा निकै दिनदेखि मानिसको कुनै डोब नपरेको स्पष्ट हुन्छ । वन्यजन्तुको चहलपहल, हिँड्डुलको पदचाप पनि कतै देखिँदैन । टाढा कतै भक्कानो फुटाएर कुर्लिरहेको चराका विरह भाका कानमा गुञ्जिन्छ । सायद यो शून्यपनले विचरा चरा पनि एक्लै विरले विरक्तिएको होला ।
कति ठाउँमा त झोरझाडीले पैदलयात्री नै अल्मलिन्छन् । घाँसदाउरा जाने बाटो हो कि गन्तव्य पुग्ने बाटो हो, केही थाहै नहुने । हलक्क हुर्किएका उन्युँका घारी आँखाले भ्याइन्जेल । कति ठाउँमा त बाटैसम्म ढाकेर फैलिएका । कहीँ भिरका भित्ताबाट सुलुत्त झरेर दृश्यमय आकृतिमा आवाद भइरहेका । कहीँ उन्युँकै साम्राज्यमा अरू बनस्पति हराइरहेका । उन्नत उन्युँका यी उन्युँघारीमा उन्युँको सुन्दरता पनि कम थिएन ।
यस्तो यौटा बाटो जहाँ लतालहरा, पातपतिङ्गरको परिवेश । जीर्ण वृद्ध रूखहरू पनि पदयात्रीको स्वागतमा झुकेर हार्दिकता दर्शाइरहेका भेटिन्थे । तिनको स्वागतलाई स्वीकार्नुसँगै पुनः अर्को अनौठो बनस्पतिको नम्र नमस्कारले आँखा र मनलाई आनन्द प्रदान गर्थ्याे । सुनाखरीका बोट फुलेको याममा भए ओहो ! कति राम्रो सौन्दर्य खुल्ने थियो होला ।
प्रकृति मानव जीवनका लागि वरदान हो । प्रकृतिमै हामी जन्मिन्छौँ । प्रकृतिमै खेल्छौँ, हुर्किन्छौँ । प्रकृतिमै सिक्छौँ, बुझ्छौँ । वास्तवमा जन्मिनु, बाँच्नु र रमाउनुको अर्थ नै हुँदैन थियो । मानिसलाई जिउन सिकाउने प्रथम गुरु नै आमा र प्रकृति हुन् । त्यसैले प्रकृतिमा हामी रमाउन पाउनु हाम्रो अहोभाग्य पनि हो ।
उकालो चढेर थकिन ज्यान अनि पसिनाले निथ्रुक्क भएको शरीर । तथापि प्राकृतिक शीतलताको स्वागतले ऊर्जामय उमङ्गमा उफ्रिन पुग्थ्यो । कति हिँडियो र कति उचाइ चढियो को हिसाब थिएन । भरदिनको पदयात्रा न थियो । दिनभरिको समय यात्रामै दिनु थियो ।
यहीँ रहेछ प्राकृतिक सुगन्ध र सौन्दर्यको सङ्गम । असली पदयात्राको मिठो अनुभूति गर्न पाइने सुनसान एकान्त स्थल । अनि यात्रीहरूलाई पनि थकाइ बिर्साइरहने यिनै दृश्यहरूमा भुल्याइरहने । प्रकृति पनि जीवनको सौन्दर्यबोधमा हलक्क हुर्किएका ।
सुन्दरीजलबाट नुवाकोटको चिसापानी पुग्नुको हतारो । अर्कोतिर गलेर लखतरान, पसिना-पसिना ! उकालो कठिनको, पाइला चाल्न सास्तीको । तथापि जङ्गलको शान्त सुन्दर, सुमधुर, सुरम्य वातावरण रमाइलो ।
पदयात्रामा प्राकृतिक सौन्दर्यको रसास्वाद अनौठो । आफैँमा नितान्त एक्लो । पदयात्राको आनन्द भन्नु पैदलै हो ।
निर्धक्क, निस्फिक्री नित्य हिँड्नु र फेरि हिँडिरहनु । आँखामा सौन्दर्यको भोक बोकेर हिँड्दै । पानीको काकाकुल हैन, हुँदैन सुन्दरीजलमा । बरू सुमधुर दृश्यहरूमा रमाउँदै, हराउँदै, मस्तले प्रकृतिमै विलीन हुँदै, हुँदै क्रमशः । त्यो पनि प्रत्येक पाइला-पाइलामा प्रकृतिको दृश्यपान गर्दै ।
शहरभन्दा टाढा एकान्त, एकलास अनि निर्मल प्रकृतिको सुन्दर संसार । यसमै यसरी नै विचरण गर्न पाउनुको बेग्लै स्वाद र बेग्लै सन्तुष्टि ।
साँच्चै आहा ! प्रकृतिसँग मन-मुटु साट्न पाउनुको प्राप्ति कति-कति ! प्रकृतिमा लुटुपुटु गर्दै रमाउन पाउनुका आल्हादित पलहरू पनि कति-कति । खुशीले गदगद हुन पुग्नुका वर्तमान क्षणहरू झन् कति-कति !
हिँड्नु, थाक्नु, बस्नु बिसाउनुका क्रमागत सिलसिलाहरू । तर सुदूर गाउँतिरका जस्तो थकाइपछि बस्नलाई शीतल चौतारी यहाँ उपलब्ध छैन । वरपिपलको बोट रोपिएको पनि छैन । बरू आफैँ बनेका बिसौनीहरू छन् । तिनैमा एकछिन सुस्ताउन सकिन्छ ।
यसरी नै सुन्दरीजलको उकालो काट्नुको रमाइलो एकातिर । यसैगरी माथि चिसापानी थाप्लोमा पुग्नुको हतारो अर्कोतिर ।
हिँड्नुको फाइदा त छँदै छ । यात्रा गर्नुको रमाइलो आफ्नो ठाउँमा हुन्छ । त्यससँगै प्रकृतिसँग सन्निकट-साक्षात्कार अर्को नौलो अनुभूतिको अभिलेख हो । त्यही नौलो अनुभूतिकै लागि प्रकृति नजिक हुन चाहने मानिसको स्वभाव हो ।
निकै माथिको उचाइमा पुगेपछि देखिँदोरहेछ होचिएका पहाड, बस्ती र वनजङ्गल । तीभन्दा धेरै माथि पाइला टेकेर वरिपरि नियाल्नु । तलसम्मका फाँटहरू हेर्नु । र, हेरिरहनुका कति मनमोहक दृश्यहरू । एकप्रकारले कल्पनातीत परिवेश ।
लेखनलाई कति धेरै विषय र विम्बहरू । अनुभूति गर्नलाई कतिथरि दृश्य र डाँडाहरूका ताँती । क्षितिजसम्म बगिरहेका नदी । पहाड फैलिएर आकाशमै विलीन भइदिए जस्तै । शहर तुँवालोमै तड्पिएर तैरिरहेको जस्तो लाग्ने ।
उकालो माथिबाट तल हेर्नुको खास उपलब्धि भन्नु आफूलाई अग्लो ठान्नु पनि हुँदो रहेछ । अरू सबैलाई साना र होचा ठान्ने आम धारणा विद्यमान छँदै छ । परन्तु त्यो ठूलो ठाउँमा पुगेर मैले ‘ठालु मानसिकता’ होइन ‘आत्मीयता’ को महसुस गरेँ ।
स-साना पहाडले घेरिएको काठमाडौँ उपत्यका कतै धुलोमैलोमै विलाए जस्तै देखिने रहेछ । अग्ला भवन देखिँदैनन् । मठमन्दिर, मूर्ति र मान्छे हुँदैनन् । अग्लो न्यातपोल, तलेजु, स्वयम्भू, धरहरा केही देखिँदैन । तुँवालोमा कतै हराइरहेको राजधानी । सायद ती सबै यो उचाइभन्दा तल छन् धेरै तल ।
नुवाकोट जिल्लाको चिसापानी । काठमाडौँबाट छोटो पदयात्राको रमणीय गन्तव्य । नामानुसार साँच्चै साह्रै चिसो रहेछ ठाउँ । जाडोले मुटु कमाउने रहेछ । सुन्दरीजलबाट ठाडो उकालो र केही तेर्सो घना जङ्गलको बाटो फेरि उकालोपछिको थाप्लामा चिसापानी । केही होटल, गाउँघर र वरपरका पहाडी श्रृङ्खलाहरू देख्न पाइने स्थान ।
बदमास बादलको घुम्टोले हिमाली छटालाई लुकाउँदा दर्शन गर्नबाट वञ्चित भइयो । लाग्छ, यही बादल हो कहिले अनेक रङमा देखापर्छ । कहिले अनेक रूपमा रूपान्तरित हुँदै मान्छेका मन लोभ्याइरहन्छ । बादलका हजारौँ रङ र रूप देखेर म आफैँ बादलसँग आकर्षित छु । तर कहिलेकाहीँ यति प्रिय यही बादल स्वतः बदमास बनिदिन्छ । प्रकृतिका सारा सौन्दर्यहरूलाई बादलु घुक्टोले ढाकेर दृश्य-शून्य पारिदिँदा यात्रा बेचैन हुन्छ । मन दिक्क हुँदै बादलप्रति गुनासो गुञ्जिन थाल्छ ।
मेरो जन्मथलो पनि चिसापानी । जन्मेको चिसापानी र घुम्न आएको ठाउँ पनि चिसापानी ! आफ्नो गाउँठाउँको नाम सम्झेर केही रमाइलो पनि लाग्छ । अनि केही भावुक पनि भइरहेछु म । पाइलैपिच्छे विगत सम्झेर झस्किन्छु । मेरो ग्रामीण चिसापानी र यो चिसापानी तुलना गर्छु । चिसोपन उही हो । हुस्सु लागिरहने पनि उस्तै प्रकृति । अनि यो चिसापानी राजधानी नजिक । मेरो चिसापानी तराई नजिक ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।