
मैले फ्रान्सको सामोनी सहरका किस्साहरू धेरै सुनेको थिएँ। सामोनीमा हिउँ खेलेर आएको सहकर्मी कार्लोसले पर्वतारोहीहरूको लागि सामोनी युरोपको मक्का भनेर खूब फुइँ लगायो। बिदामा घुमेका कुरा, नयाँ अनुभूतिहरूलाई मच्ची मच्ची सुनाउन पाउँदा आफूलाई निकै ठुलो अनुभूत गर्छन् यी युरोपेलीहरू।
स्विट्जरल्याण्डको जेनेभा बस्न थालेको यत्तिका वर्ष बिते पनि म ८१ किलोमिटर टाढाको फ्रेन्च आल्प्स शृङ्खलाको आधार शिविर सामोनी पुगेको थिइन। जहान लामो छुट्टीमा नेपाल बसेर फर्केको मौका छोपेर सामोनी जाने निधो गरेँ।
नक्सा हेर्नु भो भने फ्रान्सको बिचमा घुसेको छ हात्तीको सुँड झैँ यो जेनेभा सहर। भाषा फ्रेन्च, दिनमा ४० हजारको सङ्ख्यामा कमिला झैँ काम गर्न आउने फ्रेन्च। गरिखानेलाई आम्दानी भने फ्रान्स भन्दा तेब्बर। बाटोघाटा र सरसफाइबाटै छुट्टिने फ्रान्स र स्विसको साँध किल्ला। तर सामोनी जाँदा म स्विसमै छु कि फ्रान्स आइपुगेँ थाहै नहुने। सिमाना पनि खुल्लै। न जाँच, न पुलिसको खबरदारी। बाटो चौडा, गाउँ व्यवस्थित, सरसफाइ पनि उत्तिकै।
फ्रान्सको दक्षिण पूर्वी पर्यटकीय क्षेत्र सामोनी आफूले चलाइरहेको गाडी लिएर नजाने निधो गरेँ। गाडी लिएर जाँदा आफ्नो हिसाबले जान त पाइन्छ तर चलाउने काममा ध्यान केन्द्रित गर्नु पर्दा चलाउने गुरुजीले यात्राको मजा लिन पाउँदैन। राजमार्गको बाटो यात्रा त सुरक्षित गर्नु नै छ, मैले बसमा जाने निधो गरेँ। डेढ घण्टाको बाटो त हो। वास्तवमा मलाई बाटोका दृश्यले साह्रै आनन्द दिन्छन्। टुङ्गोमा पुगेर रमाउँला भनेर म कुर्दिन। यात्रामा भेटिएका ससाना कुरामा खुसी हुन्छु म।
सामोनी जाने बस थोरै छन्। साढे सात बजेको बसमा जान बस अड्डा पुग्दा ४ मिनेट बाँकी थियो। टिकट काउन्टरकी गोरी थसुल्लीले टिकट दिन्न भनी । अर्को बस १० बजे मात्रै थियो। बसका गुरुजीले हामीलाई तिरे हुन्छ भने। बस छुट्न ५ मिनेट अगाडि टिकेट बन्द गरेर बस्दा रहेछन् काउन्टरवालाहरू। इटालीका रहेछन् फेलिक्स बसका गुरुजी। ४० युरो बुझे दुई जनाको एकतर्फी।
१ घण्टा २५ मिनेट बाटो कसरी बित्यो थाहै भएन। पखेरामा ठुला ठुला चरन। चिसो बिहानमा हिमालको काखैमा घाम पर्खिरहेका भेडाका बथान। आल्प्स पहाडको बिहानीपखको लोभलाग्दो दृश्य। रातभरको तुसारो बिहानको झुल्के घामले बाफ बनेर उडाइरहेको दृश्य।
मनमनै लाग्यो, तातो जोडेको बसको आरामदायी सिटमा बसेर पहाडका मानिसको जीवन देख्नु, प्रकृति देखेर रमाउनु र त्यही पहाडमा जन्मी हुर्की प्रकृतिसँग पौंठेजोरी खेल्नु अलग कुरा हुन्। नाङ्गा आँखाले आँखै अगाडिको त देखिन्छ तर पत्र पत्र गाँसिएका जीवनका अनगिन्ती दृश्यहरू कहाँ देखिनु ? तथापि, पहाडमै जन्मे हुर्केको हुनाले फ्रेन्च आल्पसको जीवन र मेरो जीवनमा धेरै समानता देख्छु भने सोच्ने शैलीमा पनि। बर्सेनि नेपालको हिमाली भेगको यात्रा गर्न जाने सबैभन्दा ठुलो पर्यटकीय सङ्ख्यामा पर्छन् फ्रेन्चहरू।
हिमालको फेदीमा अक्करे भीर, ससाना चिसा तलाउहरू, बडेमानका चट्टानहरू र उग्राइरहेका गाईहरूको गजब दृश्य हेर्दा हेर्दै रेनुले भनिन्, आम्मै हेर्नोस् त कैलाश पर्वत जस्तै हिमाल। दङ्गै परियो। काटीकुटी कैलाश पर्वत। बाटामा ठुला पहाडहरू छिचोलेर सुरुङ बनाएका। त्यही सुरुङ मुनिबाट यात्रा गरियो। सुरुङ नहुँदो हो त तेब्बर लाग्दो हो समय। हो, बाटो नै विकासको पहिलो पाइलो हो।
बाटोमा विचित्र देखियो। सहरमाथि पुल, पुलमाथि राजमार्ग जोड्ने निकै अग्लो र घुमाउरो पुल। सधैँभरि चिस्यान हुने खोँच र गल्ली, पत्थरको डाँडो चिरेर बनाइएको घुम्तीवाला बाटो हुँदै सामोनी पुग्दा ९ बज्ने नै थियो। रातको ह्यंगओवरमै थियो सामोनी। अग्ला हिमालको गल्छी र खोँच हुँदै आइपुग्दा पनि मान्छेहरू जाग्दै थिए। कोही पाउरोटी लिएर फर्कँदै थिए। कोही हाइ काढ्दै कफी सप खोज्दै थिए।
युरोपको छानोको रूपमा चर्चित मो ब्लों अर्थात् श्वेत हिमालको हिम शृङ्खलाको फेदीमा छौँ हामी। कफी पिउन खोज्दा केटीले भर्खर पानी हालेको छ एक छिन पख्नुस् भनी। अर्कोपट्टि नाकमा बुलाकी लगाएकी पट्ठी मुस्तंडे केटोसँग जिस्किँदै थिई । दुवै गोरा। राति अबेरसम्म कतै बारमा बिताए जस्ता। शरीरभरि ट्याटु खोपेका दुवैले। केटो जिब्रो नै टोक्ला झैँ गरी केटीलाई म्वाइँ खाएर हिँड्यो। केटीले बडो प्रेमपूर्वक कफी ख्वाई। एक पटक नेपाल जाने जीवनको धोको सुनाई । केटीकी आमा तीन वर्ष अगाडी काठमाडौँ र पोखरा घुमेर आएकी रहिछ। नेपाल भनेपछि बडो माया गरे। त्यसै दिन हिउँ पहिरोमा परेर घाइते भएर सगरमाथाको क्याम्पबाट काठमाडौँ ल्याइएका फ्रेन्च पर्वतारोहीको बारेमा समाचार छापिएको रहेछ।
केटीले सुनाई, नेपालको बारेमा केही न केही समाचार हामीले पढिरहेका हुन्छौँ।
कफी पिएर ३ हजार ८ सय ४२ मिटरको अग्लो हिमालको टाकुरामा पुग्नु थियो। त्यो स्वेत हिम शृङ्खलाको एगुई द मिदी टाकुरा थियो। त्यहाँ पुग्ने रोपवेको बन्दोबस्त थियो। २ हजार ३ सय सत्र मिटर सम्म एक खेप, त्यहाँ ओर्लेर नाक ठोक्किने उकालोमा बाँकी रोपवे चल्थ्यो।
फेदीमा मान्छेको भीड बढिसकेको थियो। धेरैजसो पर्वतारोहणको पहिरनमा चिप्लेटी खेल्ने, हिउँमा हिँड्ने भाटा बोकेर हिँडेका थिए। जुत्ता र कपडाहरू पनि त्यही अनुसारको थियो।
रोपवेमा गनेरै २९ जना हाल्यो। जमिन छोडेर जति माथि गयो उति कान टुन्न हुँदै गयो। बस्ती एत्रुका देखिन थाले। हिमालका अनगिन्ती चुचुराहरू रोपवेको डब्बाबाट देखिन थाल्यो। पहिलो डब्बाबाट ओर्लेर फेरि अर्कोमा चढेर हेर्दा चिप्लेर हड्डी करङ नभेटिएला जस्तो हिमालको पखेरामा चिप्लेटी खेलेका, लहरै हिँडेका मानिसहरू देखिए। अन्ततः ३८४२ मिटरको उचाइमा हामी पुग्यौँ।
उ त्यही हो स्विट्जरल्याण्ड, इटाली र फ्रान्सको हिमालहरूको सङ्गम स्थल, हंगेरीकि पर्वतारोही केटो साथी लिएर घुम्न आएकी रहेछ, उसैले सुनाई । माइनस १३ डिग्री भए पनि घाम चरक्क लागेकोले सबैतिर सफा देखिएको थियो।
सँगै गएकाहरूले नेपालको मान्छे भनेपछि सगरमाथा जम्मै जानेको होला झैँ व्यवहार गरे। माया गरे। तर पाल्पाको श्री नगर डाँडाबाट देखिने लहरै हिमाल र पोखरा जाँदा माछापुच्छ्रे देख्नु बाहेक अरू केही अत्तोपत्तो थिएन।
म त नाम्चे बजार पनि पुगेको छैन। सत्य भन्दिएँ।
मेरो कुरा सुनेर सबै गलल हाँसे।
उसो भए ‘मो ब्लो’को नाम्चेमा तपाईंलाई स्वागत। एउटी बज्यैले कामचलाउ अङ्ग्रेजीमा भनिन्। ७० पुगेकी हुँदी हुन्।
हूलमा सबैले ताली बजाए। रोपवे चढेको बेला आत्तिएकाहरूले रमाइलो गरे।
माइनस १३ डिग्री। घामको उज्यालो भए पनि घरी घरी चल्ने स्याँठले हिउँ ल्याएर ज्यानभरि पोतिदिन्थ्यो। तलबाट हिमालको चुचुरा हेरिरहेको मान्छे, अग्लो चुचुरोमा गएर तलका अरू होचा टाकुरा हेर्न बडो आनन्दको अनुभूति हुने रहेछ। सबैलाई अग्लिने चाहना, माथि पुग्ने चाहना। मान्छेको यो गुण नहुँदो हो त मानव सभ्यता यति विकसित हुने नै थिएन।
टाकुरामा ताइवानका भिक्षु भेटिए। उनले ओम मणि पद्मे हम जप्दै खादा बाँधे। बौद्ध मन्त्र लेखिएको खादा टाकुरामा फहरायो।
हिमतालहरू देखिए। सफा र स्निग्ध बादलहरू देखिए। डरलाग्दो पहरामा प्रविधिको अद्भुत प्रयोग गरी बनाइएको यो किल्लाबाट इटाली, स्विस र फ्रेन्चहरूको बडो रोमाञ्चक सङ्गम पुग्ने दोस्रो विश्व युद्धको समयको हिमाली क्षेत्र देखियो। भौगोलिक रूपमा यस्तो जोखिमपूर्ण क्षेत्रमा कहिले हिट्लर त कहिले मुसोलिनीका सेनासँग लडेर वीरता प्रदर्शन गरेका रहेछन् फ्रेन्च सैनिकहरूले। साभोय साम्राज्यको लामो कालखण्डपछि फ्रान्स अधीनस्थ यो भेगको हिमाली जनजीवनकै कारण आफ्नो भूगोल बचाउन सफल भएको रहेछ।
जन्मभूमिको प्रेम कसलाई हुन्न र ? आजको जस्तो प्रविधि नभए पनि हिम पहिरो गइरहने यी खोँचहरूमा आफ्नो देशको रक्षाको लागि प्राणको बाजी थाप्ने काम कम बहादुरीको कुरो होइन। यो टाकुरामा ६० प्रतिशत अक्सिजन उपलब्ध हुने रहेछ। जबकि सगरमाथामा ३० प्रतिशत।
टाकुराबाट फ्रेन्च आल्प्स शृङ्खलाको मनोरम दृश्य सकेर बिचको २३१७ मिटरको उचाइमा चिया नास्ता गर्यौं। कफी पाइयो तातो। टाकुरामा जस्तो हात झर्ला झैँ चिसो थिएन यहाँ। सेताम्मे हिउँ। घमाइलो दिन। त्यहाँ अरू कुनै चरा देखिएनन्। कौवा जस्ता पन्जा र ठोँड पहेँलो भएका काला चरा फाटफुट देखिए। चराविद् अनुज घिमिरेका अनुसार नेपालमा ५ हजार मिटर सम्म पाइने यी चराहरूको नेपाली नाउँ टेमू हो।
बेसीमा फर्कियौँ लगभग दुई घण्टा लेकमा घुमेर। फेरी गयौँ बिहान कफी पिएको नेपाल गएकी बज्यैको पसलमा। त्यहाँ कफी पिएर हामी लाग्यौँ बरफको सुरुङ हेर्न। निकै पुरानो मोडेलको मोनोरेलको पहाडी मनोरम यात्रापछि हामी हिमालको फेदीको बगरे खोलामा जाँदै थियौँ। ५ मिनेट जति रोपवेबाट खोलाको खोँचमा जान हिँडियो। ओरालो रोप्वेपछी डुङ्गामा खोपेर तयार गरिएको फलामे सिँढी आधा घण्टा ओर्लिएपछि पुगियो हिउँको गुफामा।
हिमालको फेदीमा जमेको हिमनदीलाई खोपेर गुफा बनाइएको रहेछ। गुफाभित्र हिउँका विभिन्न जनावरका आकृति, बस्ने कुर्चीहरू, बारका ठुला टेबुल जस्ता रमाइलो भवन भित्रको दृश्यको रूपमा हिउँका संरचना बनाइएको रहेछ। यस्तो अनकन्टार ठाउँलाई पर्यटकीय क्षेत्रको रूपमा विकसित गरिएको देखेर म छक्कै परेँ।
फ्रान्सको बोर्दो क्षेत्रबाट घुम्न आएका बूढाबूढीहरूका अनुसार उनीहरू सानै छँदा यो हिमनदीको थुप्रो बडेमानको थियो। घट्दै घट्दै अहिले सानो भएको छ।
खोँचमा झर्दा त सजिलै थियो तर उकालो उक्लन भने बडो सकस भयो। एउटी थाइल्यान्डकी मोटी केटी फ्रेन्च केटोसँग रातिपिरी हुँदै सकी नसकी उकालो चढेकी थिई। कोही ७० नाघेका पातला बूढी बज्यैहरू भने खुरुखुरु उकालो चढिरहेका थिए। जसो त्यसो उकालो चढियो।
छुकछुके रेलमा सामोनी बजार आइपुग्दा झमक झुमुक भयो। यहाँबाट जेनेभा जाने बस रेलहरू साढे ६ बजे पछि रहेनछन्। हामी यतै रात काट्ने निधो गर्यौं।
राति बाटोको छेउछाउ बियर पिएर रमाइलो गरेका पर्यटकहरू। बारहरूबाट आइरहेको सङ्गीतको लयमा राति अबेरसम्म गफ गर्दै सहर घुम्यौँ। स्थानीय बासिन्दाले खोलेको पुरानो रेस्टुराँमा फ्रेन्च स्वाद चाखियो।
बसेको होटेल काठै काठले बनेको छ। थाकेर हत्तु छौँ। स्विमिङ पुलमा गजब डुबुल्की मारेर साउनामा सेकिएर आएकोले होला ज्यान उडे जस्तो भइरहेको छ। हिमालको स्पर्शले मन पुलकित भएको छ। आफ्नै हिमाल स्पर्श गर्न पाउँदा झन् कस्तो होला यो मन ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

