रामेछाप जानलाई सुलीकोटबाट फर्कंदा हामी चौंरी देउराली नआउँदै वरैबाट दमरातिर लाग्यौं । बाटोबाटोमा सेताम्मे भई चिउरीका रूखहरू फुलेका देखिंन्थ्यो । चिउरी फुल्ने यही चैत्र र वैशाख महिना रहेछ । हामी २०७८ चैत्रको २९ गते भक्तपुरबाट हिंडेका थियौं ।

हामी दमरा हुँदै काफ्ले टोलतिर अघि बढ्यौं । तर हामीलाई काफ्ले टोलमा जानु थिएन । हामीलाई राजबास हुँदै चौंरी खोला पुग्नु थियो । त्यसैले हामी राजबास गाउँतिर बढ्यौं ।

धूलेबाटो, हिलेबाटो साथै ग्राभेल् बाटो बाइक दौडाएको थिएँ । तर पहाडतिरका ढुङ्गा चोइट्याएर छापेका खाबरदेबर बाटाहरूमा भने जीवनमा कहिल्यै बाइक दौडाएको थिइनँ ।

यो अनुभव जीवनमा पहिलो पटक थियो । त्यसमा पनि म र मेरो साथी निमा दुवै मोटैमोटा । घरी उकालो, घरी सिधै ओरालो । घरी उफार्ने, घरी ओरालोमा बाइक नै उधोमुन्टो होलाजस्तो । कति सास्ती भयो भन्ने कुराको कुनै हिसाबै नगरौं । बाइकको ह्यान्डल थाम्दाथाम्दा नाडी नै गलेर लाटो भएर आयो । कति ठाउँमा त मैले निमाजीलाई उतारेर आफैं मात्रै बाइक बिस्तारै चलाएँ ।

यात्रापछि राजबास गाउँ आउनु थियो, आएछ । निमाजीले राजबास गाउँ आएको संकेत गर्नुभयो । मैले बाइक रोकें र आफ्नो नजर ओछ्याएँ राजबास गाउँतिर । तर मलाई खासै केही लागेन । गाउँ पुग्न अझै एक किमी जस्तो बाँकी नै थियो । संयोगै भन्नुपर्छ मेरो नाम पनि राजबाबु, बास बस्ने ठाउँ पुग्नलाई यात्रा गर्दैगर्दा बीचमा राजबास् गाउँ नै पो भेटियो । मलाई मनमा यस्तो लाग्यो, मैले नै बास बसेर बसेको जस्तो, यस गाउँको नाउँ ‘राजबास’ ।

मलाई निमाजीले परैबाट देखाउनुभयो, “उ ! त्यो परको गाउँ हो राजबास गाउँ । त्यो राजबास गाउँको पनि एउटा पुरानो कथा छ । अहिले हामी जाँदैगर्दा बाटोमा चौंरी खोला पर्छ । त्यही चौंरी खोलामा गएर उत्तर-पश्चिमबाट खहरे खोला गएर जोडिएर सङ्गम ९दोभान० बनेको छ । बाँकी कथा उतै चौंरी खोलाको दोभानमा पुगेर गरौंला ।”

त्यसपछि हामी राजबास गाउँको छातीमा टेक्दै चौंरी खोलातिर बढ्यौं । केही समयपछि हामी चौंरी खोला वरै बग्ने खहरे किल्फु बगरे खोलामा पुग्यौं । खोलाको गहिरो भागबाट अलिअलि पानी कलकलाउँदै सर्पजस्तै बगिरहेको थियो । मैले बाइक त्यही गहिरो भागबाट ओरालेर पुनश्च: माथि उकालें र बाइक रोकेर पछाडि फर्की आँखा सर्लक्कै ओछ्याएँ ।

पूरै बगरैबगर थियो । त्यही बगर गएर चौंरी खोलामा गएर सङ्गम ९दोभान० बनेको रहेछ । बर्खामा आकाश धेरै रुँदा, यो खोलामा धमिलो पानीको बाढीभन्दा पनि पहिरोको अतिशय लादी बगेजस्तै लेदो बग्ने गर्दोरहेछ- मेरो साथी निमाजीको भनाइ अनुसार ।

निमाजीले भन्नुभयो, “जाम् बगर पारि ।”

मैले फेरि बाइक स्टार्ट गरें र हामीले किल्फु बगरपार गर्यौं । बगरपार गरेपछि एउटा ठूलो फुटबल ग्राउन्ड देखा पर्‍यो । हामी त्यही ग्राउन्डको पूर्व-उत्तर हुँदै उत्तरतिर लाग्यौं । ग्राउन्डमा केही मान्छेहरू यताउता हिंडिरहेका थिए ।  केही गाईवस्तुहरू पनि चरिरहेका थिए ।

ग्राउन्डको उत्तरतिर एउटा चौंरीखोला प्राथमिक स्कुल रहेछ । हामी ग्राउन्डको उत्तरपूर्व चौताराजस्तो एउटा ठूलो पीपलको रूखमा पुग्यौं । त्यही रूखनिर निमाजीले मलाई बाइक रोक्ने इशारा गर्नुभयो र हामी रोकियौं ।

त्यही रूखको पश्चिम छेउमै चियानास्ताको एउटा होटल रहेछ । पूर्वतिर फर्केको २’×२’ को एउटा बोर्डमा ‘मनिषा होटल’ लेखिएको थियो । र त्यही होटलमाथि उत्तरपट्टिको डाँडामा एउटा सुन्दर बस्ती उभिएको थियो । त्यो बस्ती किल्फु टोल रहेछ । जुन टोलमा विभिन्न थरका नेवारहरू बसोबास गर्दारहेछन् ।

हामी बाइकबाट झर्यौं र होटलतिर बढ्यौं । निमाजीले एउटा ५०० एमएलको चिसो मिरिन्डा मगाउनुभयो । होटल साहूनीले फ्रिजबाट एउटा मिरिण्डा र दुईवटा गिलास ल्याई हामी बसेका टेबुलमा राखिदिइन् । उनी नै रहिछन् होटल साहुनी मनिषा । निमाजीले मनिषा बैनी भनेर सम्बोधन गरेकाले मलाई बुझ्न कत्ति पनि गाह्रो भएन ।

यत्तिकैमा एकजना पुरुषले ‘लास्सो’ भन्दै निमाजीलाई नमस्ते ग‍रे । मनिषा बैनीसँग थप एउटा गिलास मगाएर तीन वटै गिलासमा निमाजीले मिरिण्डा शनैशनैः खन्याउनुभयो । मलाई गर्मीले गर्दा चटारो भयो चुस्की लगाउन र लगाइहालें पनि । निमाजी र उनका साथीले पनि चुस्की लगाए ।

“के हो राजबास गाउँको कथा, निमाजी रु” निमाजीलाई कथा सुनाउन आग्रह गरेँ ।

“एसियाकै दोश्रो स्थानमा आउने काभ्रे जिल्लाको किल्फू बगरे खोलामा दूधी पहिरो बग्दै आई चौरी खोला थुनेपछि याँ हाहाकार भो रे । मान्छेहरू खोला वारीका वारी पारिका पारि रमिता हेर्नेहरूका एउटा ठूलै मेलै लागेछ ।

यही खबर राजा महेन्द्रले था पा’र राजारानी नै आ’र त्यो गाउँमा बास बसेछन् । भोलि बिहानै आई थुनिएको चौंरी खोला हेर्ने विचार गरेका रहेछन् । राती कतिखेर दूधी पहिरो फुटेर खोला स्वाट्टै घटेको खबर सुनेपछि राजारानी उतैबाट काठमाडौं फर्केछन् । त्यै भ’र त्यो गाउँको नाम महेन्द्र राजाबास बसेकाले ‘राजबास’ नाम राखेछन् गाउँलेहरूले ।

उ… त्यो माथि डाँडामा ताछिएको देखिने, हो त्यै हो दूधी पहिरो गएको ठाउँ । अझै पनि प्रत्येक बर्खामा त्यहाँबाट पहिरो जाने गर्छन् । अलिमाथि खाँडा देवी मन्दिर छन् । दायाँ हातको चोर औंलाले पश्चिमउत्तर देखाउँदै निमाजीले मेरो खाली भएको गिलासमा थप मिरिण्डा थप्दै कथा टुङ्गाउनुभयो ।

त्यो चौंरी खोला सैलुङ् खोला, डाँसे खोला, निम्तेल खोला र बाफल खोला यी चार खोला मिली बनेका रहेछन् । होटलबाट थोरै पूर्वउत्तर तिर एउटा ४’×४’ को देखिने बोर्डमा चौंरी देउराली गाउँ पालिका लेखिएको थियो ।

मैले सोधें निमाजीलाई, “यहाँसम्म पनि पर्छन् चौंरी देउराली गाउँ पालिका रु”

“हजुर ! चौंरी खोला पारि रामेछाप जिल्ला पर्छ । उ… त्यो माथि डाँडामा देखिने ‘तामाङ दर्गा’ मेरो गाउँ हो । दायाँतिर माथि देखिने ‘मगर दर्गा’ गाउँ हो । ती दुवै तामाङ दर्गा र मगर दर्गा गाउँका बीचबाट सातधारा अविरल बगिरहन्छन् ।” निमाजीले दायाँ हात तन्काईतन्काई चोर औंलाले भ्याएसम्म देखाउँदै भन्नुभयो ।

“मगर दर्गा माथिको देखिने उ.. त्यो गाउँ भोर्ले गाउँ हो ।” निमाजीले अझै थप्नुभयो ।

हामी त्यसपछि त्यहाँबाट हिंड्यौं । चौंरी खोला तर्नुअघि नै बाटोको बायाँ छेउमा एउटा ठूलो पानी घट्ट चलिरहेको दृश्य मेरा एकजोर आँखामा एकाएक ठोकियो । पानीको घट्टको दायाँबायाँ र तलमाथि पनि नजर ओछ्याएँ । मलाई अतिशय रमाइलो लागेर आयो । माथि कहाँदेखिको हो, दश इन्चको कालो पाइप ल्याई घट्टको चर्खामा पानी छोडेको रहेछ र तलतिरबाट त्यही पानी बगेर बनेको एउटा ठूलो कुलो बगिरहेको थियो ।

मैले तराईमा यसरी पानी घट्ट कहिल्यै देखेको थिइनँ । तराईतिर त आधुनिक इन्जिनले चल्ने मिलहरू हुन्छन् । पहिलेपहिले मिल नहुने बेलामा प्रत्येकका घरमा जाँतो र ढिकी हुन्थ्यो । मेरै घरमा पनि ओसराको दक्षिण कुनामा जाँतो थियो र पालीघरमा ढिकी ।

हामी त्यही घट्टको पानी बग्ने कुलो तर्दै चौंरी खोलानिर पुग्यौं, जहाँबाट बसहरू हिंड्ने रहेछन् । अलि तल दक्षिणतिर मान्छे तर्न बनाएको एउटा काठको सानो साँघु थियो, त्यही साँघुबाट निमाजी पारि तर्नुभयो । म भने एक छिन जिल्ल परें र कसरी तर्ने होला भनी मनमनै एकछिन् उम्लिरहें ।

आँट गरें र बाइकलाई खोलामा हिंड भनें । खोलाको बीचमा पुगेपछि गधाले भार थाम्न नसकी भुइँमा थ्याच्चै बसेझैं बाइक पनि थ्याच्चे बस्यो । म आत्तिएँ । पुनश्च: बाइक स्टार्ट गरें र पारि तरें । अब हाम्रा खुट्टाहरूले पूर्ण रूपमा रामेछाप जिल्लामा टेकिसकेका थिए । बाइक बन्द हुँदा खुट्टा टेक्नु परेकोले घुँडादेखि मुनि पैन्ट र जुत्ता सबै भिजिसकेको थियो मेरो ।

फेरि हामी चौंरी खोलाको बगरैबगर हुँदै रामेछापको पहाड उक्लियौं । थोरै माथि उक्लिएपछि एउटा हतारोमा दौडिने धामन सर्पजस्तै ढुङ्गे कुलो देखें । त्यो कुलो देखेर मलाई अतिशय रमाइलो लाग्यो र एउटा भिडियो खिचें र काठमाडौंमा आएपछि मुहार पुस्तिकामा पोस्ट गर्छु भनेर मनमनै सोचें ।

फेरि हामी पहाडका नागबेली घुम्ती नै घुम्ती काटी माथि उक्लिरह्यौं । चौंरी देउराली वारिबाट त निमाजीले “उ… त्यही ‘तामाङ दर्गा’ मेरो गाउँ हो” भनेर देखाउँदा अतिशय नजिकै पो देखिएको थियो । तर घुम्ती काट्दै गर्दा मलाई आज पुग्न सकिन्न कि क्या हो भन्नेजस्तो भारी पीर भुलुकभुलुक उम्लिरह्यो मनमा ।

पहाडको बाटो, त्यसमा पनि ढुङ्गैढुङगाले छापेको । एक हप्ताअघि परेको पानीले माटोजति सबै बगाएर कङ्काल झैं ठूल्ठूला ग्राभेल मात्रै देखिन्थ्यो । त्यसमा पनि कहींकहीं उकालो बाइक चढ्नै नसकेर रिसाएर बन्द पनि हुन्थ्यो । निमाजीले बाइक ठाउँठाउँमा ठेल्नुपर्दाको पीडा निमाजीलाई नै थाहा होला । मैले सोधिनँ र उनले पनि भनेनन् मलाई ।

घरीघरी मलाई यस्तो लाग्थ्यो, “आ ! बेकार पो आएछु ।”

केहीबेरमा हामी एउटा थोरै सम्म परेको डाँडा उक्लियौं । निमाजीले बाइक रोक्ने इशारा गर्नुभयो र मैले बाइक रोकेर स्ट्यान्ड लगाएँ ।

“यसलाई माने डाँडा भन्छन् ।” निमाजीले हातले भ्याएसम्म परपरको डाँडालाई देखाउँदै भन्नुभयो । मैले पछाडि फर्की आँखा ओछ्याएँ । ढुङ्गा र सिमेन्टले बनेका बुद्धहरूका केही ससाना मूर्तिहरू देखिन्थ्यो ।

“बुद्धलाई याँ स्थापित गरेका हुनाले नै लामा भाषामा माने भनेका हुन् ।” मलाई निमाजीले प्रस्ट्याउँदै भन्नुभयो ।

सैलुङे खोलाबाट उ… त्यो पारि पाखामा देखिने गाउँ दोलखा जिल्ला हो । डाँसे खोलाबाट उ… त्यो पारि देखिने सिन्धुपाल्चोक जिल्ला हो । र डाँसे खोला पारिबाट बग्ने निम्तेल खोला हो । र निम्तेल खोलापारिबाट बग्ने बाफल खोला हो । यी चारै खोलाहरू गएर चौंरी खोलामा गएर मिसिन्छन् ।” निमाजीले खोलाहरूका सीमा र जिल्लाका सिमानाहरू चोर औंलाले देखाउँदै भन्नुभयो ।

त्यसपछि हामी त्यहाँबाट हिंड्यौं । करीब पौने एक घण्टामा कठिन बाटाहरू छिचोल्दै हामी तामाङ्दर्गा अर्थात् निमाजीको घर पुग्यौं ।

“यो मेरो जेठो दाइको घर हो । यो माइला र कान्छाका हुन् । मेरो माथि छ ।” भन्दै निमाजी अघि उक्लिनुभयो ।

म पनि उनकै पछिपछि लागें ।

एउटा चटक्क परेको घरमा गएर रोक्किनुभयो निमाजी । माथि नीलो रङका टिनले छाइएको थियो । निमाजीका सबै दाजुभाइका घरहरू प्रायः त्यस्तै खालका रहेछन् । घरका छाना भने सबै नीलै रङका टिनले छाइएका थिए ।

सिकुवामा एउटा काठको खाट थियो । हामी त्यही खाटलाई तराईमा चौकी भन्ने गर्थ्यौं । यहाँ के भन्छ कुन्नि रु मैले सोधिनँ पनि । त्यही खाटमा बसें र जुत्ता र मोजा खोलें र पानीले भिजेको हुनाले मोजा फिंजाएर राखें । निमाजी भने सिधै घरभित्र पस्नुभयो ।

यसो छानोमा हेरेको त निदालमा किल्ला ठोकिएको देखें । मैले त्यही किल्लामा आफ्नो हाफ विङ्स लट्काइदिएँ । ब्याग खोलें र हाफ्पैन्ट झिकेर लगाएँ । पोलिथिनले बेरिएको चप्पल पनि झिकेर लगाएँ । पैन्टबाट वालेट् झिकें र हाफपैन्टको पछिल्लो खल्तीमा राखें ।

एक छिनपछि निमाजी कपडा फेरेर बाहिर निस्किनुभयो ।

“जाम् उता ।” भन्दै निमाजी अघि लाग्नुभयो ।

म पनि उनको पछिपछि लागें ।

एक घर कटेर हामी थोरै माथि उक्लियौं । सम्म मैदानमा पुग्यौं । त्यही मैदानमा एउटा चियानास्ताको पसल रहेछ । निमाजी पसलभित्र पस्नुभयो । म भने, बाहिरका दृश्यहरूसँग एकछिन जिस्किन थालें र मोबाइलबाट केही फोटोहरू पनि खिचें ।

यत्तिकैमा निमाजीले बोलाउनुभयो, “राज सर् भित्र आउनुस् ।”

म भित्र पसें ।

भित्र पन्ध्र-बीस वटा चामलका बोराहरू खातमाथि खात पारी राखिएका थिए । पूर्व कुनामा ग्याँस चुल्हो राख्ने टेबुल र सामान राख्ने केही ससाना बेन्चहरू पनि थिए । पश्चिम ढोकै छेउमा राखिएको एउटा लामो काठको टेबुल र त्यही टेबुलको वारिपारि मान्छे बस्ने बेन्च राखिएका थिए । त्यही बेन्चमा निमाजी पश्चिम छेउबाट पूर्व फर्की बस्नुभयो । म भने पूर्व छेउको बेन्चमा बसें ।

म बस्ने बित्तिकै दुई वटा रियो जुस पसले भाइले ल्याएर दियो । निमाजीले अण्डा र चिउराका नास्ता बनाउन आदेश गर्नुभयो । र नास्ता खायौं ।

त्यसपछि हामी बाहिर निस्क्यौं । निमाजी उत्तर हुँदै पूर्वतिर लाग्नुभयो । म पनि उनकै पछिपछि लागें । अलिमाथि गएपछि हामी एउटा घरमा पुग्यौं । त्यो पनि त्यस्तै पाराले बनेको थियो । घरदेखि पूर्व एउटा सानो कुखुरा बास बस्ने चटक्क परेको कुखुराको खोर थियो । तर त्यहाँ कुखुरा भने एउटा पनि थिएनन् । शायद, चर्न गएका थिए होलान् ती कुखुराहरू ।

पूर्वतिर सबै गरैगरा परेका हरिया पाखाहरू देखिन्थे । कहीं सुन्तलाका झ्याम्म परेका रूखहरू देखिन्थे भने माथि अलि पर ज्यामिरका झ्याम्म परेका आठदशवटा रूखहरू देखिन्थ्यो ।

“यो मुरैका आलु हुन् सर । तपाईंले देख्नुभएका जति सबै हाम्रै हुन् ।” हामी उभिएका गरादेखि तल गरालाई चोर औंलाले देखाउँदै निमाजीले भन्नुभयो ।

निमाजीले त्यो घरकी एउटी बुढीसँग तामाङ भाषामा खै के भन्नुभयो कुन्नि मैले बुझिनँ ।

“जाम् सर् ।” भन्दै अघि लाग्नुभयो निमाजी ।

फर्कंदैगर्दा बाटोमा चरिरहेको भालेलाई देखेर “यै भाले पो हो कि” भन्दै गुनगुनाउनुभयो ।

लख काटिहालें र मनमनै रमाउँदै भनें, “आज केटा तैंले लोकल भाले खाने भइस्, लोकल भाले ।”

फर्केर हामी निमाजीकै घरसँग टाँसिएको घरमा आएर उभियौं । त्यो निमाजीको माहिला दाइको छोरोको घर रहेछ । अघि हामीले नास्ता खाएका पसल पनि उनै भतिजको रहेछ ।

हामी उभिएकै घरको प्राङ्गणमा एउटा सिङ्गै लिङ्गोको स्तम्भ गाडिएको थियो । त्यही लिङ्गोको स्तम्भमा बुद्धका झन्डाहरू झुन्ड्याइएका थिए । मलाई ती झन्डाहरूलाई के भन्दा रहेछन् भनेर जान्ने इच्छा भयो र सोधें निमाजीलाई ।

लिङ्गोको शिरदेखि तल झुन्ड्याइने ठूलो पाटाजस्तो झन्डालाई दर्ज्यु भन्दोरहेछ । टुप्पोबाट चारैतिर टाँगिने तोरणजस्ता झुन्ड्याइनेलाई लुङ्तर भन्दोरहेछ । र बाँसको सबैभन्दा माथि त्रिशूलझैं ख्वाप्प अड्याउनेलाई बुम्बा र बुम्बाको तल नीलो, पहेंलो, रातो, सेतो र कलेजी यी पाँच रङका कपडालाई जामा भन्दा रहेछन् ।

मैले तथागत गौतम बुद्धको जीवनीमा यी पाँच रङका बारेमा पढेको थिएँ । त्यसैले पाँच रङका बारेमा भने मैले सोधिनँ ।

१ नीलो रङ – बुद्धका केश र स्वच्छताको प्रतीक ।

२ पहेंलो रङ – बुद्धका चीवर तथा मैत्री र करुणाको प्रतीक ।

३ रातो रङ – बुद्धका रगत, दार्शनिक एवं वैचारिक शक्तिको प्रतीक ।

४ सेतो रङ – बुद्धका दाँत, पवित्रता एवं विश्वशान्तिको प्रतीक ।

५ कलेजी रङ – बुद्धका हृदय र मध्यमार्गको प्रतीक ।

त्यही आँगनमा आलुचाको हरियो सानो रूख मलाई जिस्क्याउँदै ठिङ्ग उभिइरहेको थियो । आँगनको ठीक थोरै पश्चिमतिर एउटा बूढो ठूलो सिउँडीको जस्तो देखिने दूधेलो (तामाङ भाषामा देजे भन्दा रहेछन्) को रूख थियो ।

घाम शनैः पश्चिमतिर कुखुराहरूसँगै बास बस्न थाल्दै थियो । “सर बस्दै गर्नुस् है ।” भन्दै निमाजी फेरि पूर्वतिर लाग्नुभयो ।

एकैछिनपछि निमाजीले कोखेलोमा एउटा रहरलाग्दो भाले चेपेर ल्याउनुभयो र भित्र पस्नुभयो । त्यसपछि दुईवटै हातमा स्टिलको गिलासमा चिया लिएर आउनुभयो । एउटा मलाई दिनुभयो र एउटा आफूले राख्नुभयो ।

मलाई अमलझैं तलतल लागिरहेको थियो । हतारमा स्टिलको गिलास ओंठमा टँसाई हालें । च्वाट्ट फलामले डामेझैं डाम्यो । म नराम्ररी झस्कें । म स्टिलको गिलासमा घरमा चिया कहिल्यै पिउँदिनँ यसरी नै डाम्छ भनेर । वरपर नजर फ्याँकें कोही देखिनँ । धन्न कसैले देखेनन् । निमाजी भने आफ्नै धुनमा थिए उनले देख्ने त कुरै भएन ।

चिया पिउँदै म बाहिर आँगनमा आएँ । आरनमा कोइलाले फलाम रातो पारेझैं पश्चिमतिर घाम रातो हुँदै दूधीपहिरो जाने पहाडतल लुक्दै गरेको देखियो ।

म उभिएको आँगनदेखि पश्चिम स्क्याभेटर लगाएर डाँडालाई सम्म पारेको मैदानमा दुई वटा बसहरू बास बसेका थिए । आज काठमाडौंबाट आएको बस भोलि डिटेन बस्ने रहेछ । हिजो आएको बस भने भोलि सकालै छ बजे हिंड्ने रहेछ । तर बर्खामा भने ती बसहरू बिरामी परेर आइसियुमा भर्ना भएझैं बिरामी हुँदारहेछन् ।

साँझ छिप्पिएर बूढो भयो । रातीको ठीक सात बजिसकेको थियो । म आएर सिकुवाकै बेन्चमा बसिरहेको थिएँ । त्यहीबेला निमाजीको कल आयो । साइप्रसबाट उनकै श्रीमतीले गरेकी रहेछिन् ।

“बुहारी बुहारी भन्नुभा होइन, ल यी हेर्नुस् सर बुहारी ।” भन्दै म्यासेन्जर लाइव भिडियो मतिर फर्काइदिनुभयो निजाजीले ।

उनले पनि नमस्ते गरिन् ।

मैले पनि यताबाट लास्सो, फ्याफुला भनें ।

तमाङहरूका यत्तिका दिनका सङ्गतपछि कमसेकम मैले लास्सोरफ्याफुला भन्न जानिसकेको थिएँ । कुरा हुँदैथियो मोबाइलको स्क्रिनमा नेटवर्क पूवर देखायो र निमिषमै डिस्कनेक्ट भयो ।

यत्तिकैमा भित्रबाट निमाजीको भतिजले खानाको लागि बोलाउनुभयो । हात धुईवरी दक्षिण ढोकाबाट भान्साघर भित्र पस्यौं ।

भान्साघर भित्र पसेपछि देखियो, पश्चिमछेउ किचेन रहेछ । पूर्वछेउ सामलतुमलका बोराहरू थिए । उत्तर र दक्षिण गरी खाना खान लामो पारि बुनिएको परालको सुकुल बिछ्याएको थियो ।

म र निमाजी उत्तरतिर बस्यौं र दक्षिण फर्क्यौं । बाँकी आउने परिवारहरू शनैः जहाँजहाँ खाली ठाउँहरू देखे उतैउतै बस्दै गए । बुहारीले सबैलाई थालमा भात पस्किंदै र बटुकामा भालेको मासु हाल्दै गइन् ।

“हाम्ले मासु ल्याका बेला सबैजना यसरी नै एउटै भान्सा गरी लहरै बसेर खाने गर्छौं सर । कैले जेठोले, कैले माइलोले त कैले साइँलोले, एवं रीतिले हामी पालैपालो गरी भान्साको चक्र पूरा गर्ने गर्छौं ।” डोरीको पोयो फुकाएझैं निमाजीले आफ्नो घरको मीठो पहेली खोल्नुभयो ।

म तीन छक परें । आफ्नो गाउँ सम्झें । आफ्नो घर सम्झें । आफ्ना पुराना परिवार सम्झें । आफ्ना दाजुभाइ सबैसबै सम्झें । त्यसै गरी सबैजना मिली खाएका तीतामीठा पल पनि सम्झें ।

त्यतिखेरै मेरो भागमा भातको थाल आइपुगेछ । तातो भातको बाफले म नराम्ररी झस्किएँ । छेउकै बाफिंदै गरेको बटुकोभरि भालेको मासुले मलाई लोभ्याउँदै थियो । निमाजीको भागमा पनि भाग पुगिसकेको रहेछ । यसरी नै एकेक गर्दै सबैलाई भाग शनैः सर्दै थियो ।

एक्कासि मेरो मनको उज्यालोको घाम झ्याप्पै निभ्यो । मनमनै आफैंले आफैंलाई सुनाएँ, “हाम्रा घर परिवारमा कहिल्यै यस्तो गरी प्रेम, माया र सद्भावका फूल फुलेनन् र आत्मीयताका हाँगा लागेनन् ।”

माहिली भाउजूले एउटा स्टिलको गिलासमा तीनपानी राखिदिनुभयो । म त्यति नपिउने मान्छे । तर दिनभरिको बाइकको उफ्राइले ज्यान गलेर ओइलिएको घिरौंला जस्तै म ओइलिएको थिएँ ।

त्यसैले मैले नाइँ भन्न सकिनँ । तीनपानी चिरिप्पै पारें । थालभरिको भात पनि चिरिप्पै पारें । बटुको भरिको भाले पनि चिरिप्पै पारें । अझै भालेको मासु खाउँलाजस्तो भएको थियो । काठमाडौंमा ब्वायलरको मासु खाँदाखाँदा वाक्क भएको बेला यसरी गाउँको लोकल भाले नै खान पाउँदा कहाँ यत्ति छिट्टै मन भर्थ्यो र रु भरे न भन्दैमा अझै खान्छु भन्ने कुरो पनि त थिएन ।

त्यसपछि मुखहात चुट्न जुठेल्नोमा निस्क्यौं ।

थाकेको ज्यान, त्यसमा पनि तीनपानीको असर । ज्यान झुम्म भएर आयो । हामी सुत्न भनेर निमाजीको नयाँ बनेको घरमा आयौं । मैले खाटमा राखेको ब्याग र निदालमा झुन्ड्याइएको पैन्ट र हाफ विङ्स किल्लाबाट झिकी भित्र पसें ।

भित्र पस्दा देखियो पूर्व र पश्चिम गरी ठूल्ठूला दुई कोठा र बीचमा बाथरुम रहेछ । उत्तर कोठामा भने बुद्धका फोटाहरू थिए । हामी पूजा कोठा भन्छौं । तर तिब्बती भाषामा भने छ्यौखाङ् भन्दोरहेछ र तामाङ भाषामा भने लखाङ् । छ्यौखाङ् कोठाबाटै माथि चोटामा जाने एउटा काठको भर्‍याङ पनि राखिएको थियो ।

निमाजीले बिछ्यौना मिलाइदिनुभयो । एउटा फाइबार सिरक सर्लक्क पारी बिछ्यौनामा राखिदिनुभयो ।

“सुत्नुस् है सर ।” भन्दै आफू भने छ्यौखाङ् कोठामा उक्लिनुभयो ।

उनी यसै पनि लामा विद्यामा माथि छन् । पूजापाठ गरिरहनुपर्छ उनलाई । उनको लागि त्यो पवित्र पूजा कोठा नै ठीक थियो । म तीनपानी पिउने मान्छे, म सुत्ने कोठामा कहाँबाट उनी निदाउन सक्थे र रु

“निमाजी बत्ती निभाइदिनुस् है ।” मैले नमाजीलाई भनें ।

निमाजीले बत्तीको स्विच प्याट्ट पारी बत्ती निभाइदिनुभयो ।

लस्त भएको ज्यान म भुसुक्कै निदाएछु ।

० ० ० ०

भोलि बिहान

फाइबार सिरक ओढेर महजस्तै मीठो निद्रामा सुतेको ज्यानलाई तामाङ दर्गा गाउँका तन्नेरी भालेहरूले मलाई उठाउन कम्ती कोशिश नगरेका भने होइनन् होला । अन्त्यमा ती भालेहरू सबै थाके होलान् । शायद, कुनै भालेले मलाई अचेतबाट चेतमा ल्याउन सफल भएनन् ।

तर छ बजे सकालै रामेछाप तामाङ दर्गा बस्तीबाट काठमाडौं हतारमा दौडिनु पर्ने बसले भने बाहुन बाजेले एकोहोरो शंख फुकेझैं फुक्ने हर्नले भने मलाई ब्युँझाई छाड्यो ।

म ब्युँझे पनि, तर बिछौनाबाट भने उठिहालिनँ । बिछ्यौनामै मुढा लडेंझैं निकैबेर लडिंरहें ।

मोबाइल हेरें, सात बजेछ । ब्यागबाट ब्रश र पेस्ट निकालें र जुठेल्नोको धारामा गएर ब्रश गरें । त्यसपछि नित्यकर्म सकें । ब्रश र पेस्ट ल्याई ब्यागमा राखें । भान्साघरको सिकुवामा राखिएको बेन्चमा बसें । निमाजी पनि फ्रेस भैसकेका रहेछन् । उनी पनि आएर म बसेकै बेन्चमा बसे ।

एकछिनपछि स्टिलको गिलासमा चिया आइपुग्यो । मैले हिजोकै ओंठ डामेको घटना सम्झिहालें । एक छिनसम्म सेलाउन दिएँ र अलि सेलाएपछि चिया पिउन थालें । चिया पिउँदापिउँदै फ्याट्ट सम्झें निमाजीले भन्नुभएका सातधारा र सातकन्या देवीको कथा ।

चिया पिइसकेपछि निमाजीलाई भनें, “निमाजी कता हो सातधारा र सातकन्या देवीको मन्दिर रु”

निमाजी बेन्चबाट उठेर ‘जाम्’ भन्दै घरदेखि पूर्व लाग्नुभयो । म पनि उनको पछिपछि लागें ।

बेलैमा सातधारा र सातकन्या हेर्न भ्याएँ भने मेरो जीवनको पहिलो यात्रा संस्मरण लेखनको एउटा महत्त्वपूर्ण कार्य सकिन्छ भन्ने मनमनै भन्ठानें । र बेलैमा मलाई काठमाडौं पनि फर्किनु थियो ।

अलिकति हिंडेपछि ओरालो ओरालो हुँदै अलि तल पुग्यौं । त्यहाँ हरियो हजार ली. को ट्याङ्कीमा पानी स्टोर गरिएको रहेछ । दुईतीन वटा पानी तान्ने एक इन्चको मोटर पनि ट्याङ्कीभित्र डुबाइएका थिए ।

तल सरकारी धारामा पानी आएन भने त्यहींबाट मोटर चलाई पानी तान्दा रहेछन् । त्यही ट्याङ्कीको करिब १५ मिटर दक्षिणतिर एउटा धारा अविरल बगिरहेको थियो, जसको मूल कहींकतै देखिंदैन थियो । त्यो धाराको मुहान भनेको पहरा रुँदै कुन हिउँदो कुन बर्खा अविरल आँसु बगाई बस्दोरहेछ ।

त्यसपछि हामी अझै दक्षिणतिर लाग्यौं । बाटामा ठाउँठाउँमा खेतका गरागरामा गहुँ पाकेका थिए । गहुँ पनि अचम्मका विनाझुसका गहुँ । मैले तराईमा विनाझुसका त्यस्ता गहुँ कहिल्यै देखेको थिइनँ । गहुँ पनि दुई किसमका हुँदारहेछन् । विनाझुसका र झुसवाला । मैले त्यहीं गएर थाहा पाएँ त्यो पनि ।

त्यसपछि हामी अझै तलतिर झर्यौं । निमाजीले परैबाट “उ… त्यही हो सातधारा जङ्गल भनी देखाउनुभयो । दक्षिणतिर सिधै ठिङ्ग उभिएको एउटा भीमकाय हरियै रूखैरूखले भरिएका अजिङ्गरझैं पहाड लमतन्न पूर्वदेखि अग्लिएर पश्चिम दिशातिर ओरालिंदै गएको थियो ।

फेरि थोरै दक्षिणतिर अलि तल झर्यौं । अलि तल झरेपछि पुनश्च: दुई धारा भेट्यौं । भित्तोको तलतलबाट पनि पानी रसाई बगिरहेको थियो तर त्यसलाई धारा नभन्दा रहेछन् ।

त्यस पछिको ओरालो झर्दैगर्दा पृथ्वी नै धासिए जस्तै एउटा ठूलो गहिरो खोल्सा देख्यौं । हामी त्यही खोल्सातिर झर्यौं र फेरि खोल्साबाट उकालो लाग्यौं । उकालो लाग्दैगर्दा बाटोको पहरातल ठाउँठाउँमा निगालोका अग्लाअग्ला हरिया झ्याङ्हरू देख्यौं ।

त्यसपछि हामी सातकन्या देवी थानतिर अघि बढ्यौं ।

उकालो भित्तो हुँदै हामी देवी थानतिर अघि बढ्यौं । जाँदैगर्दा एउटा गोरेटो बाटो पश्चिम दक्षिणतिर तेर्सिएको थियो । निमाजीको भनाइअनुसार त्यो बाटो घोर्ले गाउँतिर जानेरहेछ ।

पर सिधै दुईवटा भीर कालो वीरमसानझैं ठिङ्ग उभिएका खोल्सामा पुग्यौं । त्यो भीरमा पुगेपछि मलाई आदरणीय स्व. ताना शर्माद्वारा लिखित ‘घनघस्याको उकालो’ नियात्राको याद आयो ।

त्यो भीरबाट दुई वटा धारा बगिरहेका थिए । त्यसका पनि कहींकतै मुहान थिएनन् । थिए त त्यही भीर रसाएर धारा बगेको थियो । ती धाराहरूका सबैभन्दा अचम्म १ लाग्ने कुरा के थियो भने कुनै धाराका पनि बाहिरी मुहान थिएनन् ।

जहाँबाट धारा बग्यो, त्यहीं मुहान त्यस धाराको आविर्भाव थियो ।

यसरी निमाजीले सातधारा सबै देखाउँदै माथि सातकन्या देवीका थान छन् भनेर भन्नुभयो ।

तलतिर गएर मेरा एक जोर आँखा आधुनिक निर्माण भएका ट्याङ्कीमा गएर एकाएक ठोक्किए । त्यो ट्याङ्की करिब तीस हजार ली. पानी स्टोर गर्ने क्षमता बराबरको थियो । निकै सुन्दर र आकर्षक डिजाइन गरी बनाइएको थियो त्यो ट्याङ्की ।

हामीलाई सातकन्या देवी थानसम्म पुग्नुथियो । मैले थानसम्म पुग्ने बाटो सोधें निमाजीलाई । तर त्यो बाटो मेरो लागि निकै खतर्नाक लाग्यो ।

किनकिन म मेरुदण्डको डिस्क स्लिप भएर तीनतीन ठाउँमा नसा चेपिएको बिरामी मान्छे । मलाई त्यहींसम्म जान पनि अतिशय कष्ट उठाउनु परेको थियो ।

धरै कुरा पत्ता लगाउनु थियो । पत्ता लगाएँ पनि । धेरै कुराहरूको बारेमा जान्नु थियो । जानें पनि । तर त्यहीं पुगेर सातकन्या देवी थानसम्म पुग्ने मलाई आँटै आएन । अहँ ! आउँदै आएन ।

सातकन्या देवीको मन्दिर जाने बाटो अतिशय कठिन रहेछ । सिधै भीरको बाटो भएर माथि उक्लिनु पर्ने । हिमाल चढ्ने आरोहीहरूका लागि भने सहजै हुन्थे होलान् । तर म..! मेरो लागि त भने बिलकुलै असम्भव नै थियो ।

प्रश्नवाचक जस्तै चिह्न भएको सिधै ठाडै उकालिएको भीरको बाटो । हामी उभिएका ठाउँबाट करिब पचास मिटर माथि उक्लिएपछि सातकन्या देवीको थान आउने रहेछ ।

निमाजीको भनाइअनुसार थानभित्र करिब दुई सयदेखि तीन सयसम्म त्रिशूलहरू गाडिएका रहेछन् । थानभित्र बाह्रदेखि पन्ध्र जना सम्म अटाउने रहेछन् ।

मैले सोधें निमाजीलाई, “यस्तो कुना कन्दरामा कसरी सातकन्या देवीको थान पत्ता लाग्यो रु”

निमाजीले भन्नुभयो, “धेरै वर्ष पहिला एउटा सन्ते नाम गरेका तामाङको जीउमा सातकन्या देवी चढिछन् । कामी बस्ने रे । कामी बस्ने रे । एकदिन ती कामिरहेका सन्तेलाई सबै गाउँलेहरू मिली सोधेछन्, “देवी, देवता, भूतप्रेत तिमी को हौ रु जोरजे भए तापनि हाम्लाई बताऊ ।”

अनि, ती कामिरहेका सन्ते सिधै याँ आएर फलाकेछन्, “हामी सातकन्या दिदीबहिनी देवीहरू हौं । पूजापाठ गर्नू र थानभित्र राता धागाहरूका ध्वजा बाँधेर त्रिशूलहरू गाडिदिनू । औंसी र पूर्णीमामा पूजापाठ गर्नू तर रगत–भोग कहिल्यै नचढाउनू । हामी शाकाहारी देवीहरू हौं । सुनिलियस् सबै गाउँबासीहरू हो । यसै गरेस् । तिमीहरू सबैलाई यसैमा भलाइ छ । हँ हेर् ।”

त्यहाँबाट गाउँलेहरूले सातकन्या देवीहरूलाई पुज्न थालेका रहेछन् ।

त्यत्तिकैमा, निमाजीले मेरो नलीखुट्टोमा टाँसिएको एउटा खरी जुको थुतेर फुत्त फाल्नुभयो ।

रगत पिएर ढाडिएको रहेछ जुको । जुको निकालेर फाल्ने बित्तिकै जुकोले चुसेको ठाउँबाट रगत ह्वाल्ह्वाल्ती बग्न थाल्यो ।

म झन् आत्तिएँ । यसो ध्यानले दुइटै खुट्टा हेरेको त, ए आम्मा हौ ! तीनचारवटा खरी जुकाहरू टाँसिएर रगत चुसिरहेका थिए । मेरो सातोपुत्लो उड्यो । फटाफट दुई वटै हातले जुको थुत्दै फाल्दै गरें । जहाँजहाँबाट जुको थुतेर फालें त्यहींत्यहींबाट कुलो बनाउँदै रगत बग्न थाल्यो ।

ज्याद्रा पनि के बिन ज्याद्रा हुँदारहेछन् ती खरी जुकाहरू त रु टाँसिएपछि त उप्किनै गाह्रो, ए आम्मा हौ ! म थर्थर काँपें । अब भने मेरो चेतले काम गर्न छोड्यो । जुकाले टोकेका ठाउँहरूबाट रगत त बगरिरहेका थिए नै अब दुख्न पनि थाल्यो ।

मैले निमाजीलाई जाऔं यहाँबाट भनें । त्यसपछि सिधै घर फर्क्यौं । फर्किंदैगर्दा निमाजीले ओसिला जमीनहरूमा अलैंचीका झारहरू देखाउनुभयो । अलैंचीका जराबाट जमरा जस्तै अङ्कुरण भएका एउटा गाँठो कोट्याएर निकालेर देखाउनुभयो ।

म छक्क परें, ती अलैंचीका फल्ने तरिका देखेर । अलैंची जरामा फल्छ भन्ने सुनेको थिएँ तर मैले यसरी आफ्नै आँखाले अलैंची फलेका कहिल्यै देखेको थिइनँ । त्यो पनि देखियो । एक नयाँ अनुभूति लिनु थियो । त्यो पनि लिएँ ।

बाटोमा फर्कंदैगर्दा धारामा रगत बगिरहेको खुट्टा पखालें ।

घर पुगी निमाजीसँग बिदा लिएँ र काठमाडौंको लागि रामेछाप तामाङ दर्गा गाउँलाई पछिपछि छोड्दै ओरालो झरें ।

पुनश्च: निमाजीले अनुरोध गरेको सम्झें, “एक दिन अरू बस्नुस् सर ! सानो सैलुङ महादेव र ठूलो सैलुङ घुमेर जानुहोला ।”

मनमनै भनें, “कुनै समय फेरि आउनेछु अलि फुर्सद लिएर । र त्यो समयमा भने अवश्य सानो सैलुङ र ठूलो सैलुङ्कको यात्रा गर्नेछु र यात्रा संस्मरण तयार पार्नेछु ।”

यसै पनि सैलुङ भन्ने बित्तिकै आदरणीय चर्चित गायिका कुन्ती मुक्तान दिदीको, “माथिमाथि सैलुङेमा चौंरी डुलाउनेलाई” भन्ने गीतको सम्झना आइहाल्छ ।

पुनश्च: माहिला दाइको छोरीले भनेकी सम्झें, “दाइ, आइ त हाल्नुभो, अब मेरो वैशाख २ गतेको ब्या पनि खा’र जानुहोला ।”

यसरी तामाङ दर्गा गाउँ मेरो लागि कहिल्यै नबिर्सिने गरी अविस्मरणीय यात्रा बन्यो ।

चौंरी खोला कटेपछि चौंरी देउराली काभ्रेबाट एकपल्ट पूर्व फर्केर रामेछाप तामाङ बस्तीलाई नियालें र लामो सास फेरें र अविरल किल्फु बगर हुँदै काठमाडौंको बाटो पछ्याउँदै माथि उक्लिएँ ।

बाटोमा आउँदैगर्दा कुनै यस्ता पल थिएनन्, मेरा सम्झनाका पर्दामा तामाङ दर्गा गाउँ ननाचेको । मेरो मित्र निमाजीका घरपरिवारले गरेको अतिथि सम्मान र रामेछापको तामाङ दर्गा गाउँका दृश्यहरू झलझली चलचित्रका दृश्यहरूझैँ एकपछि अर्को गरी आइरहे मेरा एक जोर आँखाका पर्दाभित्र । अविरल आइरहे मेरा एक जोर आँखाका पर्दाभित्र ।