“ओहो, आज त साढे छ पो बजिसकेछ ।” घडी हेर्दै आश्चर्य प्रकट गरेँ मैले । ओर दुबईमा अवस्थित त्यो व्यवस्थित शयन कक्षमा तेस्रो रात बिताइसकेका थियौँ हामीले । २०७९ फागुन १३ गते एशियाकै एक प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको दुबई शहरमा ओर्लिएपछि आज चौथो दिनको बिहानीसँग साक्षात्कार गरिरहेको थिएँ म । दिनभर मात्र नभई रात्रीको बाह्रबजेसम्मको घुमाइका कारण शरीरले थकान महसुस गरिरहेको थियो । सहयात्री रश्मि पनि ब्युँझिएको देखेपछि दुवै जनाले एक एक कप कालो कफी पिएर शरीरमा ऊर्जाको सञ्चार गरायौँ । नित्यकर्म पश्चात् आजको रुटिनमा आँखा दौडाएँ मैले । आज दिउँसो बाह्र बजेदेखिको कार्यक्रम राखिएको रहेछ ।

आठ बजे तयार भएर म भ्रमण टोलीका अन्य सदस्यहरूलाई आजको कार्यक्रमबारे अवगत गराउन निस्किएँ । रुपेश–रेशा र उत्तम–रक्षा सँगको भलाकुसारी पछि म बुद्धदेव–कुसुम (ससुरा बुवा र आमा) बसेको कोठातर्फ छिरेँ । उहाँहरू अझै तयार हुनुभएको थिएन । थकानका रेखाहरू उहाँहरूको अनुहारमा प्रष्ट देखिन्थ्यो । “ओहो ज्वाइँसाब बस्नुस् न” मुस्कानसहित आमाले स्वागत गर्नुभयो । मैले आजको कार्यक्रमबारे जानकारी दिएँ । “रमाइलो ठाउँहरू रहेछ त आज” बुवा उत्साहित हुनुहुन्थ्यो । असी वर्षे त्यो शरीरमा देखिएको उत्साहले हामीलाई चुनौतिका साथै ऊर्जा थपिरह्यो भ्रमण अवधिभरी नै ।

आज अलि ढिलो गर्दै ब्रेकफास्टका निम्ति ओर्लंदा झण्डै नौ बजिसकेको थियो । केही मौसमी फलफूल, जुस, ब्रेड, अम्लेट, जाम, बटर लगायतका खाद्य पदार्थ सहित आज नयाँ परिकार पाव भाजी पनि इच्छाअनुसार ग्रहण गरियो । खासगरी मुम्बई शहरमा कपडा उद्योगमा काम गर्ने मजदुरहरूले छिटो तयार गर्न सकिने परिकारका रुपमा प्रचलित पाव भाजी आज विश्वभरी नै लोकप्रिय खाजाका रूपमा प्रयोग गरिने रहेछ । नरम पाव अर्थात विभिन्न आकारका बन पाउरोटीलाई मौसमी तरकारी र गेडागुडीहरू मिसाएर तयार पारिने मसलेदार भाजी अर्थात सब्जीसँग खाइने परिकार रहेछ पाव भाजी ।

बाह्र बज्न केही समय बाँकी नै रहेको हुँदा भ्रमण दलका महिला सदस्यहरुले नजिकका केही सपिङ मलहरूमा घुम्ने प्रस्ताव राखेपछि हामीले पनि उनीहरूकै पदचाप पछ्यायौं । झण्डै एक घण्टाको घुमाइपछि हामी होटलको प्रतिक्षा कक्षमा आजको गन्तव्यमा पुर्याउने गाडीको प्रतिक्षामा बस्यौँ । ठिक समयमा एउटा माइक्रोबस आएर होटलअगाडि रोकियो र औपचारिक पोशाकमा रहेको चालक गाडीबाट ओर्लिएर हाम्रो छेउमा उभियो । “प्रमोद कुमार भट्टाराई आप ही हैं ?” उसको प्रश्नमा स्वीकृति जनाउँदै हामी बसमा सवार भयौँ । भ्रमण व्यवस्थापकले हामी आठ जनाको टोलीलाई एउटा आरामदायी माइक्रोबसको व्यवस्था गरेको हुँदा भ्रमण अवधिभरी नै धेरै सहज अनुभव गरियो । फराकिला र हरियालीयुक्त सडकमा अठ्ठाइस किलोमिटर दौडिएपछि हामी गन्तव्यमा पँग्यौं । मेरो मोबाइलमा भ्रमण व्यवस्थापनबाट पठाइएको टिकट देखाएर हामी मिराकल गार्डेनमा प्रवेश गर्यौं ।

सन् २०१३को अन्तर्राष्ट्रिय प्रेम दिवस अर्थात फेब्रुवरी १४ तारिखका दिन उद्घाटन गरिएको मिराकल गार्डेनले पार्किङ क्षेत्रलगायत अन्य विभिन्न संरचना सहित ७२,००० वर्ग मिटरको क्षेत्रफल ओगटेको रहेछ । यो विश्वकै ठूलो प्राकृतिक फूलहरूको बगैँचाका रूपमा पनि चिनिएको रहेछ । यस बगैँचाले विश्वकै सबैभन्दा धेरै प्रजातिका फूलहरु रहेको प्राकृतिक बगैँचाका रूपमा गिनिज बुक्स अफ वल्र्ड रेकर्डस्मा समेत नाम लेखाएको रहेछ । तथ्याङ्कअनुसार पन्ध्र करोड फूलहरू रहेको यो बगैँचा प्रत्येक वर्षको नोभेम्बरदेखि मई महिनासम्म पर्यटकहरूका निम्ति खुला रहने जानकारी पाइयो । जुनदेखि अक्टोबर महिनासम्म गर्मीका कारण फूलहरुको मौसम नहुने र घुम्न सक्ने अवस्था पनि नरहने भएकोले बन्द गरिने रहेछ ।

चारैतिर फूलै फूल मात्र देखिने यस बगैँचालाई हेर्दा स्वर्ग भनेको यही हो कि भन्ने भान भइरहेको थियो । यी दृष्यहरू कुनै सिनेमामा देखिएका दृष्यभन्दा कम थिएनन् । साइकल आकारदेखि एयरबसको संरचनामा फुलेका फूलहरू देख्दा साँच्चै नै चमत्कार नै भए झैँ लाग्यो । यो मरुभूमिमा यस्तो प्राकृतिक संरचना देख्दा कृत्रिमतामा मात्र होइन प्राकृतिक सौन्दर्यलाई पनि यहाँ उत्तिकै महत्व दिइएको रहेछ जस्तो अनुभव भयो । हामी भ्रमण टोलीका आठै जना सदस्यरू यो दृष्यलाई अविष्मरणीय बनाउने प्रयास गर्दै थियौँ । जता हेर्यो त्यतै बसेर फोटो खिचिहालौँ जस्तो लाग्ने दृष्यहरूले हामीलाई सम्मोहित बनाइरहेको थियो ।

बगैँचाभित्र घुम्नका निम्ति बिजुली रिक्सा पनि पाइँदो रहेछ । हिँड्दा हिँड्दा थकाइ लागिसक्दा पनि आँखा भने यस्तो मनमोहक दृष्यबाट नअघाएपछि हामीले बिजुली रिक्सा पच्चीस दिराममा भाडामा लिई बाँकी दृष्यहरू हेर्न भ्यायौं । कतै घोडा, हात्ती, डोनाल्ड डक, अलादिन, पेंग्युइन त कतै मस्जिदकै आकार दिइएको फूलहरुको झाडीमा रङ्गीचङ्गी फूलहरु फुलेका देखिन्थे । यस्तो योजना, कलाकारिता एवं नवीन सोचसहितको प्रकृति र प्रविधिका संयोजन देख्दा दुबईले त्यसै यतिविध्न पर्यटकहरुलाई आकर्षित गरेको होइन झैं लाग्यो ।

तर आश्चर्य यति ठूलो प्राकृतिक बगैँचामा न भमराहरूको भुनभुन सुनियो, न भँगेराका चिरबिर सुनिए, न परेवा परेवीका प्रेमिल जोडीहरू भेटिए, न त ढुकुरको ढुकुरकुरको आवाज कानमा गुन्जियो । त्यहाँ फूलको रस चाख्दै उड्ने रङ्गीचङ्गी पुतलीहरू पनि विरलै भेटिन्थे । आखिर मरुभूमि नै त हो यो ठाउँ । “म्रियन्ते अस्मिन भूतानि” अर्थात् जुन भूमिमा प्राणीहरू जीवित रहन सक्तैनन् त्यस्तो भूमि नै त हो मरुभूमि । दुबईले संसारलाई नै आश्चर्यमा पार्नेगरी कृत्रिम बगैँचामा प्राकृतिक फूलहरू त फुलाउन सक्यो तर जीवन फुलाउन भने सकेको देखिएन । हाम्रो देशमा ठाउँ ठाउँमा रहेका साना साना झाडीहरूमा पनि झ्याउँकिरीको आवाज, चराहरूको चिरबिर, कोयलीका सुमधुर “को हो, को हो…” लगायतका प्राकृतिक क्रियाकलापहरूले मनलाई नै आल्हादित तुल्याउँछ । तर यहाँका रङ्गीचङ्गी फूलहरुको सुन्दरताले आँखाहरू त आनन्दित थिए तर मन भने …।

यहाँ घुम्दा घुम्दै चार घण्टा बितिसकेको पत्तै भएन । हामीले हाम्रो अर्को गन्तव्यमा जानका निम्ति गाडीलाई पाँच बजे आइपुग्न भनेका थियौं । समय भइसकेको हुँदा हामी पार्किङ क्षेत्रतिर लाग्यौँ । गाडी आइपुगेको थिएन । आज पहिलोपटक भ्रमण व्यवस्थापकले तय गरिएअनुसारको समयलाई उल्लङ्घन गरेका थिए । भोक र थकानले लखतरान हामीले केही प्याकेट नेपालबाटै लगेको चाउचाउ र पानी खाएर तत्कालको भोक मेटाउने प्रयत्न गर्यौं । एक घण्टाको पर्खाइपछि मात्र हामीलाई लिनका निम्ति गाडी आइपुग्यो र सवार भई अर्को गन्तव्यतर्फ हुँइकियौँ ।

ग्लोबल भिलेज हाम्रो अर्को गन्तव्य थियो आजको । ग्लोबल भिलेज पुग्दा झण्डै साढे छ बजेको थियो । सुर्यास्तको लालिमाले यहाँको प्रवेश स्थललाई अझ सुन्दर बनाइरहेको थियो । भोक लागेको हुनाले नजिकै रहेको एउटा सानो क्याफेमा केही समोसा, स्यान्डविच र चिया खाएर गुम्बज आकारमा बनेको प्रवेश स्थलको अघिल्तिर भ्रमण टोलीको सामूहिक तस्वीर खिचेपछि हामी मोबाइलमा प्राप्त इ टिकट देखाएर प्रवेश गर्यौं । विभिन्न देशहरूका संस्कृति र समाजको झल्को दिने संरचनाहरु निर्माण गरिएको र उक्त देशमा बनेका सामग्रीहरूको समेत बिक्री हुने पसलहरू रहेछन् यस ग्लोबल भिलेजमा । पर्यटकहरूको राम्रो भिडभाड देखियो ।

सन् १९९७ मा स्थापित यस ग्लोबल भिलेजमा पहिलो वर्ष अठार वटा देशहरूको प्रतिनिधित्व रहेको पाइयो । उक्त पहिलो वर्षमा पाँच लाख पर्यटकहरूले अवलोकन गरेको यस स्थानमा गत वर्ष मात्र सत्तरी लाख भन्दा बढी पर्यटकहरू आएको तथ्याङ्क रहेछ । हाल यस स्थानमा विश्वका नब्बेवटा देशहरूको सहभागिता रहेको थाहा भयो । प्रत्येक सिजनमा कन्सर्टहरूको आयोजना समेत भइरहने यस पर्यटकीय स्थलमा विश्वका विभिन्न ख्यातिप्राप्त कलाकारहरूले आफ्ना प्रस्तुतिहरूबाट मनोरञ्जन प्रदान गर्दा रहेछन् । हामीले भने यस्तो प्रस्तुतिहरूको आनन्द लिने मौका पाएनौं ।

यमन, टर्की, इराक, इजिप्ट, मोरक्को, कतार, लेबनान, भारत, पाकिस्तान, इरान लगायतका देशहरुको पेभिलियनमा घुम्दा घुम्दै हामीलाई थकाइ लागिसकेको थियो । मिराकल गार्डेनबाट फर्कंदा सवारी चालकले हामीलाई ग्लोबल भिलेजबारे दिएको जानकारी सम्झें “आप लोंगोको पुरा ग्लोबल भिलेज घुमनेके लिए एक हप्ता लग जाएगा ।” हामीले पत्याएका थिएनौँ । तर वास्तविकता रहेछ उसको भनाइमा । नब्बेवटा देशका पेभिलियनहरू मध्ये हामीले मुश्किलले बीसवटा पनि घुम्न सकेनौँ त्यहाँ बिताएका चार घण्टामा । घडीले बेलुकाको दश बजाइसकेको थियो । हाम्रो गाडी पनि पार्किङमा आइसकेको जानकारी प्राप्त भएपछि हामी त्यस दर्शनीय स्थलबाट बाहिर निस्कने तरखरमा लाग्यौँ ।

ग्लोबल भिलेजको पार्किङ स्थल दुबईकै ठूलो पार्किङ स्थलका रूपमा चिनिँदो रहेछ । एक पटकमा अठार हजार भन्दा बढी गाडीहरू पार्किङ गर्न सक्ने क्षमता रहेको यस स्थानमा पार्किङ क्षेत्रहरूलाई नम्बरहरूले छुट्याइएको रहेछ । एउटा नम्बरको पार्किङ क्षेत्रबाट अर्को नम्बरमा जानका निम्ति विद्युतीय रेलको निःशुल्क व्यवस्था गरिएको रहेछ । हामी पनि उक्त रेलको सहयोगबाट निर्धारित पार्किङ स्थलमा पुग्यौं र गाडीमा सवार भई ओर दुबईस्थित हामी बसेको होटलतर्फ लाग्यौँ । उज्याला बाटाहरू, अलि टाढा दुबई डाउन टाउनमा देखिने गगनचुम्बी भवनहरूको झिलिमिलि हेर्दै होटल आइपुग्दा बेलुका सवा दश बजिसकेको थियो । सबैजना भोकले व्यग्र भएका थियौँ । त्यसैले होटल छिर्नुअघि हामी नजिकैको रेस्टुरेण्टमा खाना खाने प्रबन्धमा लाग्यौँ । एघार बजे खाना खाइसकेर होटलको आफ्ना शयन कक्षमा प्रवेश गरी दिनभरिको अविष्मरणीय भ्रमणले थकित शरीरलाई विश्राम दिने तरखरमा लाग्यौँ ।