कार्यालयबाट प्राप्त हुने वार्षिक विदाको अवसर कसरी प्रयोग गर्ने भन्ने सोचाइ मनमा खेल्न थाल्यो । अचानक दुबई घुम्न जाने कि भन्ने सोच आएपछि पारिवारिक सल्लाह गरियो । परिवारकै सदस्यहरु म–रश्मी, उत्तम–रक्षा, रुपेश–रेशा तथा बुद्धदेव–कुसुम (ससुरा बुवा – आमा) गरी चार जोडी अर्थात् आठ जनाको डफ्फा दुबई भ्रमणको तयारीमा लाग्यो । प्रवेशाज्ञा, टिकट, बीमा लगायतका औपचारिकता पुरा गरी २०७९ फागुन १३ गते बिहान ८:२० को फ्लाई दुबईको जहाजबाट प्रस्थान गर्ने योजना तय भयो ।

दुबई सहर वैदेशिक रोजगारमा जाने नेपालीहरूको मुख्य गन्तव्य मानिन्छ । मध्यपूर्वी एशियाको प्रमुख व्यापारिक केन्द्रका रुपमा दुबई एक नवनिर्मित सहरका रुपमा परिचित छ । सन् २०२१ को जनगणनाअनुसार झण्डै पैतिस लाख जनसंख्या रहेको यस सहरमा वैदेशिक रोजगारमा जाने भारतीय, पाकिस्तानी, नेपाली र बंगलादेशी नागरिकहरुको बसोबास उल्लेख्य रहेको पाइन्छ । अधिकतम ४५ डिग्री सेल्सियससम्म तापक्रम रहने दुबईमा न्यूनतम तापक्रम भने १५ डिग्री सेल्सियससम्म हुने गरेको तथ्याङ्क रहेको छ ।

नेपालबाट हुने मानव ओसार प्रसारको प्रमुख गन्तव्य पनि दुबई नै रहेछ । यसैकारणले नै होला हामी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा पुग्दा केही अनौठा प्रश्नहरूको सामना गर्नुपर्यो । तर चाँडै नै हाम्रो भ्रमणको उद्देश्य र सो– सँग सम्बन्धित कागजातहरू प्रस्तुत गरी अध्यागमनका कर्मचारीहरुलाई सन्तुष्ट बनायौँ र विमानतर्फ लाग्यौँ । फ्लाई दुबइको बोइङमा प्रवेश गरेपछि आन्तरिक सजावट सामान्य नै देखियो । अन्तर्राष्ट्रिय विमानहरुमा सामान्यतया प्रत्येक सिट अगाडि विभिन्न जानकारी सहितको मोनिटर तथा त्यहाँ मनोरञ्जनका लागि विभिन्न भाषाका चलचित्रहरु समेत हेर्ने सुविधा हुने हुँदा समय व्यतित गर्न त्यति गाह्रो हुँदैन होला भन्ने सोचाइसहित विमानमा प्रवेश गरियो । तर यस विमानमा भने त्यो सुविधा देखिएन । अन्तर्राष्ट्रिय विमानहरुमा इन्टरनेट चलाउने सुविधा समेत रहेको समाचार सुनिएको थियो तर त्यस्तो सुविधा पनि यस विमानमा रहेनछ । नेपालमा आउने अन्तर्राष्ट्रिय विमानहरु पनि आधुनिक सुविधा नराखिएका हुँदा रहेछन्, जसले गर्दा आफू हेपिएको अनुभव भयो । यस विमानमा पनि वैदेशिक रोजगारका लागि जाने नेपाली श्रमिकहरुकै सङ्ख्या बढी थियो ।

झण्डै चार घण्टाको यो उडान पट्टारलाग्दो नै भयो । निद्रा पर्नेहरु घुरिरहेका देखिन्थे तर आफूलाई भने निद्राले समेत साथ दिएन । झण्डै डेढ घण्टा जति त झ्यालबाट बाहिर हेर्दा हिमाली मनोरम दृष्यहरु देखा परेका थिए, त्यसपश्चात् भने उराठलाग्दा पठार र रेगिस्तान मात्र देखिन थाले । यस्ता दृष्य देख्दा नेपालको आन्तरिक उडानहरुमा देखिने हरिया दृश्यहरु त धेरै नै मनमोहक रहने गरेको अनुभव भयो । भारत, पाकिस्तान, र इरानका केही भाग छिचोल्दै हाम्रो विमान हरियो रङमा देखिने अरब सागरमाथि उड्दा मन रोमान्चित भयो । अरब सागरको त्यो दृश्य हेर्दाहेर्दै हामी दुबई विमानस्थलमा अवतरण गर्नलागेको र त्यहाँको तापक्रम २८ डि.से. रहेको जानकारी प्राप्त भयो । हामीले दुबई अवतरण गर्दा झण्डै दिनको १ बजिसकेको थियो । चार घण्टाको उडानलाई झण्डै पाँच घण्टा नै लगायो विमानले ।

विमानस्थलको विशाल धावनमार्ग र सयौं विमानहरु पार्किङ गरिएको दृष्य विमानबाटै देखेपछि हाम्रो देशको विमानस्थल त फुच्चे जस्तो लाग्दो रहेछ । त्यहाँ प्रत्येक मिनेटमा एउटा विमान अवतरण र उडान हुने यो विमानस्थल विश्वकै व्यस्त विमानस्थलमध्ये एक रहेछ । विमानस्थलमा अध्यागमनको सामान्य औपचारिकता पुरा गरेपछि बाहिर निस्कँदा हाम्रा सामानहरु छुट्याएर राखिएको रहेछ । हामीले सबै सामानहरु समेटेर विमानस्थलबाट बाहिरियौं । पार्किङ क्षेत्रमा हाम्रो टुर व्यवस्थापकका तर्फबाट एक प्रतिनिधि मेरो नामको नेमप्लेट बोकेर बसेका रहेछन् । उनलाई आफ्नो परिचय दिएपछि गाडी चालकलाई हाम्रा सामानहरु गाडीमा राख्न लगाए । हामी पनि गाडीमा सवार भई निर्धारित होटलतर्फ लाग्यौँ ।

बर दुबई स्थित कोंकर्ड प्यालेस होटलमा आफ्ना झोला झ्याम्टा बिसाएर एकछिन आराम गरेपछि नजिकै रहेको बजार घुम्ने योजना बन्यो । हामी बसेको होटलबाट पैदल दूरीमा नै अवस्थित रहेको मिना बजारतर्फ लाग्यौं । सडक पेटीमा हिँड्ने बटुवाहरुबाट अधिकांश समय हिन्दी वा नेपाली भाषाबाट कुरा गरेको सुनिन्थ्यो । केहीसँग त हामीले पनि “ओहो नेपाली हुनुहुँदो रहेछ” भन्दै संवाद गर्न भ्यायौँ । बजार हेर्दा कुनै भारतीय सहरमा रहेको बजारझैँ लाग्थ्यो । केही त आफ्ना पसलमा बोलाउन सडक पेटीमा उभिएर कराउँदै गरेका पनि देखिन्थे ।

झण्डै चार बज्दा हामी होटल फर्किसकेका थियौँ । पाँच बजे हामीलाई क्रूज डिनरमा लाने कार्यक्रम थियो । सोहीअनुसार ठीक समयमा गाडी आइपुग्यो । हामी तयार नै थियौँ । गाडीले हामीलाई एउटा ठूलो ताल जस्तो देखिने किनार छेउमा छोड्यो । त्यो स्थानलाई मरिना भनिँदोरहेछ । धेरैवटा जहाजहरु देखिन्थे त्यहाँ । ती जहाजहरू वास्तवमा रेष्टुरेण्ट रहेछन् ।

समुद्रको पानीलाई सहरभित्र छिराएर रमणीय तालजस्तो बनाइएको रहेछ । ती देखिएका जहाजहरू मध्ये कुनै जहाजमा हाम्रो बुकिङ रहेको जानकारी सवारी चालकले दिएपछि हामी हाम्रो बुकिङ रहेको जहाज खोज्नेतर्फ लाग्यौँ । केही समयको मिहेनतपश्चात् हामी हाम्रो बुकिङ रहेको जहाज खोज्न सफल भयौँ । दुइवटा तला रहेको त्यो रेष्टुरेन्ट जहाजको माथिल्लो तला भने खुला थियो । हाम्रो टेबल तल्लो तलामा तय गरिएको रहेछ । साँझ परिसकेको थियो । वरिपरि गगनचुम्बी भवनहरु र बिचमा समुद्री भाग साँच्चै रमणीय देखिन्थ्यो । वरिपरिका धेरै जहाजहरु भरिभराउ थिए, अर्थात् पर्यटकहरुको उल्लेख्य उपस्थिति देखिन्थ्यो ।

अङ्ग्रेजी र हिन्दी गीतहरुको मधुरो आवाजसँगै हलुका पेय पदार्थ तथा सँगसँगै खानेकुरा (स्न्याक्स) ग्रहण गर्दै हामी वरिपरिका दृष्यहरु अवलोकन गरियो । फोटो तथा भिडियोहरु खिच्ने क्रमहरु पनि चल्यो । वरिपरिका पचासौं तले भवनहरुको झिलिमिली र ती भवनहरुको पानीमा देखिने प्रतिबिम्ब साँच्चै नै मनमोहक थियो । रात्रीकालीन खानाको सङ्केत आएपछि हामी पनि खाना खाने तरखरमा लाग्यौं । विभिन्न खाले परिकारहरु शाकाहारी, मांसाहारी आफ्नो स्वाद अनुसार लिन सकिने रहेछ । खाना सँगसँगै स्थानीय सांस्कृतिक नृत्यको पनि आनन्द लिइयो । उक्त जहाजले भ्रमण गराएर आफ्नो स्टेशनमा फर्किंदा रातको १० बजिसकेको थियो । हामी जहाजबाट निस्केर पार्किङ क्षेत्रमा पुग्दा हामीलाई लिन गाडी आइसकेको रहेछ । आनन्दको अनुभूति गर्दै होटल आइपुग्दा बेलुकीको ११ बजिसकेको थियो । सडक पेटीमा मानिसहरुको चहलपहल दिउँसोको भन्दा पनि बढी रहेको देखियो । सपिङ मलहरुमा अझै भिडभाड नै देखियो । हामी पनि के कम ? त्यही भिडमा केही बेर हरायौँ ।

होटलको त्यो ओछ्यानमा पल्टँदा रातको १ बजेको थियो । हाम्रो देशमा रहेका नारायणी, कोशी, कर्णाली जस्ता ठूला नदीहरुमा पनि यस्तै रेष्टुरेन्ट जहाजहरु सञ्चालन गर्ने हो भने खानाको स्वादसँगै यस्ता प्राकृतिक दृष्यहरुको स्वादका लागि समेत पर्यटकहरुको आगमन पक्कै पनि बढ्थ्यो होला । तीव्र इच्छाशक्ति हुने हो भने जस्तोसुकै दूरदृष्टि र नवीन सोचलाई परिणाममा बदल्न सकिन्छ भन्ने उदाहरणका रुपमा दुबई सहरलाई लिन सकिनेरहेछ । यस्तै सोचाइहरु मनमा खेल्दा खेल्दै निदाइएछ ।